ताजा अपडेट »

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न

शनिबार, ३२ जेठ २०७६, १३ : १७
6 Shares

जेठ ३२, डडेलधुरा । अप्रेसन गरेर शिशु जन्माएकी सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव उत्पन्न भएको छ। जिल्लाको अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको सुत्केरी भएको १४ दिनपछि मृत्यु भएको हो । गीताको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै मृतकका आफन्त र स्थानीयले डडेलधुरा अस्पताल र जिल्ला प्रशासन कार्यालयमा शुक्रबार प्रदर्शन गरेका हुन्। आक्रोसित आफन्तले शनिबार बिहान जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन्।

उपचारका नाममा ज्यान लिन पाइदैन, हत्यारालाई कार्वाही गर लगायतका नारा लगाउँदै महिलाहरुले प्रशासन घेराउ गरेका छन्। त्यस्तै पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध गरेका छन्। बिहान १० बजे देखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन्।

‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन । अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ। अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ।

तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ। गीतालाई १२ पिन्ट पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ। मृतक गिताका श्रीमान स्वास्थ्यकर्मी हुन्। उनी नेपाल सरकारको अहेब पदमा अछाम जिल्लामा कार्यरत छन् । बिहीबार छोरा भएको १४ दिन पुगेपछि रगत बग्न थालेकाले उनी अस्पताल पुगेका थिए। अस्पतालका चिकित्सकले ४०–४६ दिन सम्म सामान्यतया रगत बग्ने भएकाले नआत्तिन सल्लाह दिएको उनका आफन्त बताउँछन्। शुक्रबार बढी नै रगत बगेपछि उनले श्रीमती गितालाई अस्पताल पु-याएका थिए। रगतको जोहो गरी शुक्रबार उनको उपचार गरिएको अस्पताल श्रोतको भनाई छ। उनको अवस्था नाजुक भएपछि अस्पतालका मेसुले हेलिकम्टरका लागी बारम्बर प्रयास गरेको उनी बताउँछन। तर हेलिकम्प्टर उपलब्ध हुन नसक्दा चाँडै रेफर गर्न नसकिएको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति भएको बताए। जिल्ला समन्वय समिती प्रमुख गणेशराज भट्टको गाउ वडा नं. ६ को घटना भएकाले उनीसहित अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा नेपाली कांग्रेसका नेतासहित मृतकका आफन्छसंग शुक्रबार रातभरीको छलफलपछि शनिबार बिहान तीन बुँदे सहमती भएको थियो। उनले भने, भटनाको छानबिन गर्न मन्त्रालय स्तरबाट समिति खटाउने, मृतकको पोष्टमार्टम पनि मन्त्रालय स्तर बाटनै फरक चिकित्सक बोलाई गर्ने र नाबालकको जीवन रक्षाका लागी उचित क्षतीपुर्ती दिने सहमती भएको थियो। तर बिहान १० बजे महिला र पुरुषको फरक फरक जुलुस सदरमुकाम पुग्यो। अगुवाहरुबीच एक खालको सहमती भएको थियो।तर सहमतिपछि पनि आन्दोलन जारी छ।

-पुस्कर भण्डारी / साभार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।