ताजा अपडेट »

नेताको हर्कत: समाजवादीका अध्यक्षले कुटे आफ्नै श्रीमती

शुक्रबार, ३१ जेठ २०७६, १९ : २६
6 Shares

जेठ ३१, राजविराज । समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् । विद्यालय पढाएर फर्किरहेकी श्रीमती विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । २७ वर्षीया विनिता द्वारका श्रीलाल सातनी यादव मावि बथनाहामा अध्यापनरत छिन् ।

सामाजिक छवि भएका ३५ वर्षीय नेता यादवले राजविराजस्थित घर फर्कँदै गरेकी श्रीमतीलाई मुक्का, खुट्टा र हेलमेटले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि विनिता बेहोस नै भएकी थिइन् । बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ । नेता यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलबाट पश्चिमतर्फ स्कुटर रोकेर अश्लिल गालीगलौज समेत गरेका थिए । पार्टीको कामले रम्पुरा मल्हनियाँबाट मोटरसाइकलमा फर्किरहेका अध्यक्ष यादवले श्रीमती चढेर आइरहेको स्कुटरको साँचो माग्दा नदिएपछि साँचो खोसेरै हेल्मेटले हिर्काएको विनिताले बताएकी छन् ।

घटनापछि बटुवाहरुले उनलाई बेहोसी अवस्थामा अस्पताल पुर्‍याएकाे विनिताका बुवा रामनारायण यादवले बताए । अध्यक्ष यादवले भने श्रीमतीसँग स्कुटर माग्दा नदिएपछि खोसाखोस भए पनि कुटपिट नगरेको जिकिर गरेका छन् । आफू चढेको मोटरसाइकल साथीलाई दिएर विनिता चढेको स्कुटर लिएर आफू आएको उनले स्वीकारे । नौ वर्षअघि विवाहित विनितालाई पटक–पटक कुटपिट, गालीगलौज गर्दैआएपछि आठ वर्षदेखि विनिता राजविराज–५ स्थित माइत बस्दैआएकी छन् ।

गत वर्ष स्थानीय तहको निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुँदा सँगै राखेका यादवले निर्वाचन सकिएलगत्तै झगडा गरेपछि विनिता पुनः माइत बसेकी छन् । उनको आठ वर्षीय एक छोरा छ । अविश्वासकै कारणले उनीहरुबीचको सम्बन्ध चिसिएको गाउँलेहरु बताउँछन् ।

विनिताले अध्यक्ष यादवलाई पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार नै उजुरी समेत दिएकी छन् । ‘सधैँ कति पिटाइ खाएर बाँच्नु भन्दै प्रहरी समक्ष उजुरी दिएको हुँ, श्रीमानले घरभित्र पिटेको कुरा त लुकाएकै थिएँ, तर बाटोघाटोमै पनि पिट्न थालेपछि घटना बाहिर ल्याउन बाध्य भए,’ पीडित विनिताले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।