ताजा अपडेट »

राखु भगवती कोत मन्दिर पुन : निर्माण शुरु

आइतबार, २२ चैत्र २०७७, १३ : ४८
4 Shares

म्याग्दी । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनः निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरको पुनः निर्माण शुरु गरेको हो । विभागसँग ठेक्का सम्झौता गरेको मिलीजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काउन शुरु गरेको छ ।

धार्मिक विधिअनुसार क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको हो । करसहित रु ६९ लाख ३० हजार ५६६ मा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा उल्लिखित २०७८ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरेको मिलीजुली–किवेष्ट जेभीका सम्पर्क व्यक्ति राजीव ढुङ्गेलले बताए।

“मन्दिरको पुरानै स्वरूपलाई जोगाउने र भूकम्पप्रतिरोधी बनाउने गरी पुनः निर्माण गर्न लागिएको हो”, उनले भने, “भूकम्पप्रतिरोधी प्रविधि अवलम्बन गरी ढुङ्गा र काठकै सामग्री प्रयोग गर्ने डिजाइन तयार भएको हो ।” पुरानै शैलीमा निर्माण हुने मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिने छैन । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइने मन्दिरको छाना ढुङ्गाको हुनेछ ।

बाइसे/चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुराना र ऐतिहासिक कोतको सूचीमा अगाडि छ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन छ ।

धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालीगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न जोड दिइएको वडाध्यक्ष रिम कटुवालले बताए ।

जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रामार्फत पनि पुग्न सकिन्छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४औँ देखि १७औँ शताब्दीका बाइसे/चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।

रासस
लेखकको बारेमा
रासस