ताजा अपडेट »

युएईसंगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

आइतबार, ०६ माघ २०७५, १६ : ३८
28 Shares

माघ ६ ,

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालले आइतबार पारस खड्काको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपालले प्रारम्भिक चरणमा छनोट भएका २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको हो ।

युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् । अविनाश बोहरा, भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् ।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन् । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठिक हुन ३–४ हप्ता लाग्ने बताईएको छ । यस्तै नियमित सदस्य ललित भण्डारी, विक्रम सोब र सुशन भारी वैकल्पिकमा परेका छन् ।

नेपाली टोली मंगलबार युएईतर्फ प्रस्थान गर्नेछन् । नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।

नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, वसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा छन् । यस्तै वैकल्पिक खेलाडीमा सुशन भारी, ललित भण्डारी र विक्रम सोब रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।