ताजा अपडेट »

प्रधानमन्त्री ओलीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्ने

मंगलबार, २८ जेठ २०७६, १२ : ३७
9 Shares

जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने छन् ।

यसैबीच प्रधानमन्त्री ओली राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी भए। प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरे । सो अवसरमा उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको र अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको उल्लेख गर्दै विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।

लामो बलिदानपूर्ण सङ्घर्ष भएर जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेका छन् भन्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बए । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरे । गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए ।

-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।