ताजा अपडेट »

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

बुधबार, २६ बैशाख २०८१, १४ : २०
242 Shares

बुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न जोड दिएका छन् । बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शैय्याको अस्पताल उद्घाटनको अवसरमा बोल्दै ओलीले विमानस्थलको प्रयोगलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए ।

पर्यटन विकासका लागि उक्त विमानस्थलको भूमिका महत्वपूण हुने चर्चा गर्दै ओलीले प्राथमिकतामा राख्न जोड दिएका हुन् । यसैगरी कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न  नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए । “०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिए । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ”, उनले भने ।  कपिलवस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास समेत अपरिहार्य रहेको बताए । सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोडदिनुपर्ने बताए ।  “आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ?”, ओलीले पश्न गर्दै भने,“सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।” तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताए  ।

देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको पनि अध्यक्ष ओलीको भनाई थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।