ताजा अपडेट »

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

मंगलबार, ०४ फागुन २०७७, ११ : १५
4 Shares

काठमाडौँ। राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गर्नुभएको थियो । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गरेका थिए।

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको खेलको ६९ औँ मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरेका थिए । खेलको ७५ औँ मिनेटमा पुलिसका लागि जैशीले गोल गरे । यस्तै खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गरे । जितसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अङ्क जोडेको छ भने पुलिसले १० खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ ।

एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो । विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गरे । उनले खेलको ३५ औँ मिनेटमा फ्रिकिकमा गोल गरेका हुन् । मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङविरुद्धको खेलमा दबावमा खेलेको थियो । उसले गोल गर्न सकेन । जितपछि विराटनगर १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

रासस
लेखकको बारेमा
रासस