ताजा अपडेट »

कोभिड विरुद्धको खोप लगाउने व्यक्तिहरुको विवरण संकलन

शुक्रबार, ०९ माघ २०७७, २१ : ११
6 Shares

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए ।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन विहिबार निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य प्रशासक डा शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ ।

मन्त्रालयका उपसचिव मुक्ति खनाल अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको जानकारी दिए । भारत सरकारले कोभिड-१९ विरुद्धको खोप कोभिशिल्ड विहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो । अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । एक व्यक्तिलाई दुई मात्रा दिइने उक्त खोप पाँच लाख जनालाई दिइने सरकारको तयारी रहेको छ ।

रासस
लेखकको बारेमा
रासस