ताजा अपडेट »

शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री

सोमबार, ०५ माघ २०७७, १७ : ११
26 Shares

स्याङजा । स्याङ्जामा आलुको बिउ भण्डारण गर्न शीत भण्डार निर्माण गरिएसँगै आलुखेती गर्ने कृषकको आकर्षण बढेको छ । यस वर्ष शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री गरिएको छ । यहाँबाट ३०० भन्दा बढी कृषकले २६७२ बोरा बिउ आलु बिक्री गर्न सफल भएका छन् ।

प्रति किलो ७ रुपैँयामा यस शीत भण्डारमा आलु राख्न सकिने व्यवस्था भएपछि छिमेकी जिल्ला पाल्पाका कृषकसमेत लाभान्वित भएका छन् । पछिल्लो समय यहाँबाट देशका बिभिन्न जिल्लामा आलुको बिउ निर्यात हुन थालेको छ । ३०० भन्दा बढी कृषकले करिब डेढ करोडको कारोवार गर्न सफल भएको शीत भण्डार संचालक समितिका अध्यक्ष रुमलाल कंडेलले जानकारी दिए ।

विश्व बिकाश बैंकको सहयोग, नेपाल सरकार सिंचाई तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र आँधीखोला बहुउदेश्यीय पानी उपभोक्ता संस्थाको सहभागितामा एक करोड सत्र लाखको लागतमा मझौला शीत भण्डारण गृहको निर्माण गरिएको हो । यो भण्डारगृहको क्षमता एक सय पचास मेट्रिक टन हो तर श्रमता भन्दा बढि कृषकको माग आउन थालेको छ । प्रति केजी ७ रुपैँयामा कृषकले बिउआलु भण्डारण गर्दै आएका छन् ।

बिउ आलु लक्षित गरेर या शीत भण्डारण संचालनमा ल्याएसँगै खुशी भएका कृषकहरु भारतबाट आयात हुने आलुमासमेत गिरावट आउने बताउँछन् । अब आफ्नै बारीमा उत्पादन भएको आलु लामो समयसम्म भण्डारण गर्न सकिने भएपछि देश बाहिर जाने ठुलो रकम स्वदेशमै रहने मात्र होइन आलु खेतीमा कृषकको आकर्षण समेत बढ्ने देखिएको छ ।- नेपाल टेलिभिजन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।