ताजा अपडेट »

विद्यार्थीले घन्काएको बाजा तालमा तम्घास बजार नै नाच्यों

मंगलबार, २५ बैशाख २०८१, १२ : ११
0.91K Shares

गुल्मी । बैशाख २५ को एकाबिहानै सिमसिमे पानी परिरहेकोले  गुल्मी तम्घासमा चिसो बढेको थियो । तर भजन र बाजातालले बजार तताई रहेको थियो । कतै भजनमा त कतै बाजा तालमा नाँच्नेहरु पसिनासँग थिए ।

नेपाली कला संस्कृतिहरु मध्ये भजन र बाजा ताल प्रमुख आकर्षण त छदैछ रेसुंगा नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरिएको  प्रभातफेरी कार्यक्रमको प्रमुख आकर्षण पनि अर्खलेको भजन र रेसुंगा माविका विद्यार्थीहरुको नौमती बाजा बनेको थियो । नगरपालिकाको प्रशासकीय भवनबाट उदिढुंगासम्म र पुनः नगरपालिका आउने बेलासम्म नाचगान चलेको थियो । नगर प्रमुख खिलध्वज पन्थी समेत भजनमा रमाउँदै नाच प्रस्तुत गरेका थिए ।

सदियौंदेखि कहलिएका अर्खलेका भजन मण्डलीहरुमा पुरानै अनुहार देखिए पनि बाजा बजाउने रेसुंगा माविका विद्यार्थीहरुको अनुशार भने नयाँ भएका कारण तम्घासबासी प्रफुल्लित थिए । भर्खर १२ वर्ष उमेर पुगेका कक्षा ८ का सुदिप परियार पाका व्यक्तिकै जोसमा ट्याम्को घनकाई रहेका थिए । नगरपालिका परिसरमा पुग्दा उनले मेयर पन्थीलाई तानेरै नाँच्न लगाए ।

कक्षा सातका १४ वर्षीय अनिल बिक सिकारु भए पनि सहनाईको तालमा कमी देखिन्नथे । कक्षा ९ का १४ वर्षीय अमन महतारा टाउको कोखे पार्दै ढोलकी मकै भुट्दाको तालमा बजाउँदै थिए । कक्षा ८ का १४ वर्षीय अनिल पल्लीले नर्रसिङ्गा बजाउँदाको स्वासको गतिलाई कमी हुन दिएका थिएनन् । नरसिंगालाई जस्तै कर्नाललाई पनि सासको गति उति नै चाहिन्छ । कक्षा ९ का १५ वर्षीय रमित परियारले पनि कर्नाल फुकाईमा कमी  हुन दिएका थिएनन् ।

कक्षा ९ का १५ वर्षीय विक्रम जिसि झ्यालीमा, कक्षा ८ का १४ वर्षीय निश्चल बहराई, कक्षा नौंका १५ वर्षीय अबिनाश कुँवर दमाह बजाउँदै थिए । रेसुंगा माविका पूर्व प्रधानाध्यापक प्रेमनारायण भण्डारी छदाँ पढ्दै कमाउँदै कार्यक्रम अगाडि सारिएको र रेसुंगा नगरपालिकासँग उक्त कार्यक्रम सञ्चालनको प्रस्ताव लगेर पालिकाको आर्थिक सहयोगमा सोही कार्यक्रम अर्न्तगत कक्षा ७ देखि नौं सम्मका ९ जना विद्यार्थीहरुलाई नौमति बाजा बजाउने प्रशिक्षण फागुन महिनादेखि सुरु गरिएको वर्तमान प्रधानाध्यापक भागरीथ भण्डारीले जानकारी दिए ।

प्रशिक्षणको शुभारम्भ फागनुमा गरिए पनि विद्यार्थीहरुको परीक्षा सञ्चालन भएकाले गत १५ दिनदेखि बाजा बजाउन सिकेका विद्यार्थीहरुले रेसुंगा नगरपालिकाको स्थापना दिवसमा कायक्रमको प्रभावकारीता पस्कीन सफल भएका छन् । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्थीले  रेसुङ्गा माविका विद्यार्थीहरुको बाजा बजाउने कलाको प्रशंसा गर्दै खुशी ब्यक्त गरे ।

अहिलेको समूहबाट विद्यार्थी बाजा बजाउन प्राङ्गत भइसकेपछि क्रमशः अर्को समूहलाई निरन्तरता दिने विद्यालयले जनाएको छ । हरेक विद्यालयका विद्यार्थीलाई यसरी नै बाजा बजाउने लगायतका कला सिकाउन सके मौलिक संस्कृतिको संरक्षण हुनुका साथै  बिगतमा  सीमित जाती विशेषको पेशा र कला सर्वजातिय बन्ने छ । मर्यादित अनि स्वरोजगारीको गतिले माध्यम बन्ने देखिन्छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार