ताजा अपडेट »

वर्षापछि लुम्बिनीमा ह्वात्तै घट्यो डढेलोका घटना, देशभरको प्रदुषण पनि घट्यो

मंगलबार, २५ बैशाख २०८१, १६ : २८
1K Shares

बुटवल । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै डढेलोको घटना ह्वात्तै घटेको छ । यसै बीच लुम्बिनी प्रदेशमा वर्षाका कारण उल्लेख्य रुपमा डढेलोका घटनामा कमी आएको छ । वन डढेको पहिचान तथा अनुगमन प्रणालीमा सार्वजनिक भएको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका हाल ३ जिल्लाका ६ स्थानमा मात्रै डढेलो लागिरहेका छन् । हाल दाङ, बर्दिया र रोल्पामा डढेलो रहेका छन् ।

यही तथ्याङ्क हिजो सोमबार प्रदेशका २० स्थानमा डढेलोका घटना भएका थिए । गसैगरी गत हप्ताको मँगलबार प्रदेशका ९० स्थानमा डढेका घटना भएका थिए । मँगलबार विहानदेखि परेको वर्षाले रुपन्देहीसहित तराईका जिल्लाहरुमा गर्मी हटेर राहत मिलेको छ । सबैभन्दा बढी गर्मी हुने रुपन्देही भैरहवाका बासिन्दालाई वर्षाले ठूलो राहत मिलेको छ । दैनिक ४० डिग्री सेल्सियस बढी तापक्रम रहने भैरहवामा वर्षापछि मौसम सितल बनेको छ ।

यसै बीच देशको राजधानी काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मँगलबारको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ ।

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ  ।  ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो  सङ्केतले चिनिन्छ । यसैगरी एक सय ०१ देखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । यसैगरी १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिने उनले बताए । दुई सय ०१ देखि तीन सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक  र ४०१ देखि ५०० लाई धरै खतरा मानिएको छ ।

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी गराए ।
वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने बताउँछन् वातावरण अभियानकर्मी वर्षा पराजुली । यता मौसमविद्ले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोसी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।