ताजा अपडेट »

दुग्ध विकासले सङ्कलन गरेको दूध बिक्री भएन

मंगलबार, २४ बैशाख २०७६, १० : २४
26 Shares

वैशाख २४,

नेपालगन्ज । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतको नेपालगन्ज दुग्ध वितरण परियोजनाले सङ्कलन गरेको दूध बाँके जिल्लामा लक्ष्यभन्दा निकै कम बिक्री भएको छ ।
चालु आर्थिक वर्ष २०७५/०७६ को चैत मसान्तसम्म संस्थानले बाँकेमा चार लाख ८४ हजार लिटर दूध बेच्ने लक्ष्य लिएको थियो तर जम्मा एक लाख ७२ हजार लिटर मात्र स्थानीय बजारमा बिक्री भएको परियोजनाले जनाएको छ । जनचतेतनाको अभाव र भारतीय खुला दूधको जताततै बिक्री भइरहेका कारण जिल्लामा परियोजनाले सङ्कलन गरेर प्रशोधन गरेको गुणस्तरीय दूधको बिक्री अपेक्षा गरेअनुसार हुन नसकेको नेपालगन्ज दुग्ध वितरण परियोजनाका प्रमुख परमेश्वर चौधरीले बताउनुभयो ।


यहाँ अपेक्षा गरिएभन्दा धेरै कम दूध बिक्री भएको छ । यसका थुप्रै कारणमध्ये प्रमुख जनचेतनाको अभाव र भारतीय दूधको खुला बिक्री वितरण नै हो, परियोजनाका प्रमुख चौधरीले भन्नुभयो । देशकै ठूलोमध्येको एक नेपालगन्ज र कोहलपुरजस्ता सहरमा रहेको डीडीसीजस्तो सरकारी स्वामित्व भएको संस्थानले सङ्कलन गरेको दूधले बजार लिन नसक्नु आश्चर्यजनक रहेको उहाँको भनाइ छ । यसको मुख्य कारण सीमापारि भारतबाट आउने अवैध दूध रहेको चौधरीले बताउनुभयो । 


उताबाट खुला रूपमा घरघरमा आउने गुणस्तरहीन दूध सस्तोमा पाइन्छ । हाम्रा उपभोक्ताले त्यही खरिद गर्नुहुन्छ । यसै कारणले गर्दा हामीलाई धेरै नोक्सानी भएको छ । भन्सारले पछिल्लो समयमा यसरी सीमापारिबाट आउने दूध नियन्त्रणमा लिन सुरु गरे पनि पूर्ण रूपमा नियन्त्रण गर्न सकेको छैन ।परियोजनाका अनुसार बाँकेमा डीडीसीको दूध बिक्री नहुनुको अर्को कारण प्रभावकारी मार्केटिङ नहुनु र निजी दूध डेरीजस्तो गरेर तत्काल मूल्य समायोजन गर्न नसक्नु हो । गुणस्तर भएका कारण डीडीसीले बिक्री गर्ने दूध अरूभन्दा केही महँगो छ । 


स्थानीय बजारको आवश्यकता अनुसार डीडीसीले तत्काल मूल्य तलमाथि गर्न सक्दैन । त्यसका लागि सरकारकै निर्णय पर्खिनुपर्छ । उपभोक्तालाई डीडीसीले थोरै महँगो भए पनि गुणस्तर छ भन्ने पनि बुझाउन सकेको छैन । सो बारेमा प्रष्ट पार्दै चौधरीले भन्नुभयोे, उत्पादनको गुणस्तरको हिसाबले हामी उत्कृष्ट छौँ तर निजीजस्तो भएर काम गर्न नसकिने भएकाले यहाँ चाहेजस्तो बजार विस्तार हुन सकिरहेको छैन ।

नेपालगन्ज दुग्ध वितरण परियोजना कोहलपुरले बाँके, बर्दिया, सुर्खेत र दैलेखबाट दूध सङ्कलन गर्दै आएको छ । उसले चालु आर्थिक वर्षको चैतसम्म २१ लाख एक हजार ८४८ लिटर दूध सङ्कलन गरेको छ तर बाँकेमा एक लाख ७२ हजार लिटर मात्र बिक्री भएपछि बाँकी १९ लाख लिटरभन्दा बढी राजधानी काठमाडाँै पठाउनुपरेको परियोजना प्रमुख चौधरीले बताउनुभयो । यसरी बिक्री नभएको दूध काठमाडाँै पठाउँदा प्रतिलिटर सात रुपियाँसम्म ढुवानी भाडा लाग्ने भएकाले परियोजनामाथि करिब एक करोड ३३ लाख जति ढुवानी खर्च भार थपिएको उहाँले बताउनुभयो । 


दैनिक २५ हजार लिटर दूध खपत हुने अनुमान गरिएको नेपालगन्जमा डीडीसीको दूध दैनिक ५०० लिटर मात्र बिक्री हुन्छ भने कोहलपुरमा डेढ सय लिटर बिक्री हुन्छ । बाँकी सबै दूध राजधानी काठमाडौँ पठाउने गरिएको छ । निजी डेरी बढ्दै गएकाले दूध सङ्कलन पनि लक्ष्यभन्दा डेढ लाख लिटर कम भएको परियोजनाले जनाएको छ ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।