ताजा अपडेट »

स्वरोजगार र स्वदेशी उत्पादन हाम्रो प्राथमिकता : उद्योगी थैब

बुधबार, ०४ बैशाख २०७६, १२ : ४२
8 Shares

उमेरले ४ दशक पार गरेका महेश थैब बुटवलका सफल उद्योगी हुन् । युवा अवस्थाबाट नै व्यवसाय तथा उद्योगमा अग्रसर थैब रुपन्देहीको औधोगिक क्षेत्रमा परिचित व्यक्तित्व हुन् । आफ्ना बुवाको व्यवसायबाट प्रेरित थैव किशोर अवस्थादेखि नै व्यवसाय क्षेत्रमा आवद्ध भएका थिए । विं.सं.२०५७ सालबाट औधोगिक क्षेत्रमा लागेका थैव हाल करिब एक दर्जन उद्योगका सञ्चालक हुन् । तत्कालिन समयमा बुटवल चौराहा स्थित आवास मार्वल एण्ड बाथ हाउसबाट व्यवसाय संचालन गरि औधोगिक यात्रामा सक्रिय थैवका हाल दर्जन भन्दा बढी उद्योग सञ्चालित छन् भने ३ वटा उद्योग चाँडै नै संचालनमा आउदै छन् ।

पाँच भाइमा कान्छा भएपनि संयुक्त पारिवारिक लगानीमा स्थापित उद्योगको नेतृत्व तहमा रहँदै निरन्तर औधोगिक विकास र सफलता हासिल गर्दै आएका छन् । स्वदेशमा नै उद्योग स्थापना गरेर आयात घटाउने, निर्यात बढाउने, रोजगार प्रदान गरेर हजारौं युवालाई विदेशिन रोक्ने र औधोगिकिकरणबाट राष्ट्रलाई योगदान दिने सोँचका साथ उद्योगलाई मुख्य लक्ष्य बनाएका उद्योगी महेश थैबसँग ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी:


एउटा उद्योगीको हैसियतमा जीवनशैली भनौं या दिनचर्या कसरी बितिरहेको छ ?
–औधोगिक सहभागिता र चिन्तनमै उद्योगीको दिनचर्या र जीवन अघि बढिरहेको हुुन्छ । मेरो सवालमा विहानै उठेर सबै उद्योगमा पुग्छु । ११ बजे आएर खाना खाएपछि कार्यालयमा सहभागी हुुन्छु। त्यसपछि अन्य विभिन्न औधोगिक गतिविधि र मिटिङमै समय बित्छ । साँझ परिवारसँगै समय व्ययतित गर्छु ।


परिवारको कुरा गर्दा थैब पविारको संरचना तथा अवस्था कस्तो छ ?
–हामी ५ भाई हौं । चार भाई छौं । सबै सँगै छौं । ५ भाइका सबै परिवार सिंगो परिवारको रुपमा एउटै घर बस्छौं । एउटै भान्साको खान्छौं । हामी १८ जना छौं । सबै दाजुभाइले फरक फरक व्यवसाय र उद्योगमा जिम्मेवारी निभाएका छौं । हाम्रो व्यवसाय, उद्योग सबै संयुक्त लगानी, मिहिनेत र लगनशिलताको उपज हो ।


तपाइँको हालसम्मको औधोगिक यात्रा कस्तो रहयो ?
–मेरो औद्योगिक यात्रा भर्खर युवा अवस्थामा प्रवेश गरेको छ अर्थात म उद्योग क्षेत्रमा प्रवेश गरेको १६/१७ वर्ष मात्र भएको छ । यो अवधीमा हामी उद्योग स्थापनासँगै स्वयम् हामीहरु पनि स्थापित हुनका लागि सघर्षरत छौं । हाम्रा उद्योग र हाम्रो मूल्यांकन भन्दापनि हामी सबै योगदानमा केन्द्रित छौं । हाम्रो बुवाको योगदान र २ दशकको अवधीमा थैब परिवारले गरेको मिहिनेतले जे जति गर्न सफल भएका छौं यसमा विशेषगरी मेरा दाजुहरुको भूमिका बढी छ।

हाल तपाइँ वा थैव परिवारद्वारा के कस्ता उद्योग तथा व्यवसाय सञ्चालित छन् ?
– विशेषगरी निर्माण सेवाबाट हामी अघि बढेको हुदा निर्माण सामग्री उत्पादनमा जोड दिएका छौ। हाम्रो आवास ग्रुप अन्तर्गत विभिन्न उत्पादनमुलक र शेवामुलक उद्योग एवम् व्यापार व्यवसायहरु संचालनमा रहेका छन् । यि उद्योग एवम् ब्यवसायमा करौंडो लगानी रहेको छ भने प्रत्यक्ष १२ सय जना र अप्रत्यक्ष रुपमा करिब २ हजार जना कार्यरत छन् ।

नेपालमा उद्योग सञ्चालन गर्न भन्दा पनि स्थापनाको लागि सुरुमै प्रक्रियादेखि स्थापना सम्म झण्झटिलो छ भन्छन् । तपाइँको अनुभव भन्नुपर्दा ?
– उद्योग सम्बन्धी स्पष्ट र सरल नीति नहुँदा स्थापनाको प्रक्रिया र सुरुवातमा झण्झटिलो त छ नै , त्यति नै समस्या र चुुनौती सञ्चालनमा छ । जग्गा अत्यन्तै महङ्गिएको छ । यस्तो अवस्थामा उद्योगमा लगाउने लागतको धेरै भाग जमिनमै जान्छ । अर्कोतर्फ नेपालका उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्नु पर्दछ ।

उद्योग स्थापनाका लागि विभिन्न औधोगिक क्षेत्रहरु छन् । रुपन्देहीमा पनि बुुटवल, मोतिपुर , भैरहवा मा उद्योगका लागि क्षेत्र छुुट्टाइएको छ । अर्कोतर्फ उद्योगीहरुले सधैं नीति र सरकारलाई दोष लगाई रहेको पाइन्छ । सबै उद्योगीहरु मर्का मै छन् त ?
–उद्योग स्थापनाको र क्षेत्रको सवालमा बुटवलमा स्थान छैन । मोतिपुरमा कहिले हो कहिले, भैरहवा सेजपनि अझै सञ्चालनमा आउन सकेको छैन । नीति र सरकारको सवालमा मात्र होइन केही उद्योग र उद्योगीहरुका कमीकमजोरीहरु पनि छन् । यी सबै समस्या समाधानका लागि सबै पक्षहरुबीच बहस,सहकार्य र एकता हुन आवश्यक रहेको छ ।

तपाइँको विचार र अनुुभवमा नेपालमा नयाँ तथा धेरै उद्योग स्थापना र सञ्चालनका लागि कस्ता प्रयास र नीति आवश्यक छन् ?
–नीति नियम निर्माणले मात्र हुुँदैन । व्यवहारिक र कार्यान्वयन पनि हुनु पर्दछ । पहिलो कुरा यहाँ उत्पादन र सम्भव हुने बस्तुको आयात रोक्नु पर्दछ । नयाँ उद्योग स्थापनाका लागि विशेष सहयोग र केही समय कर छुट गर्नुपर्दछ । महङ्गो र जथाभावी व्याज वृद्धि नियन्त्रण गर्नुपर्दछ । युवा विदेश जाने क्रम बढ्दा जनशक्तिको अभाव छ , यसलाई समयमै रोक्नु पर्दछ अन्यथा मुलुकमा पछि वृद्धाहरुको मात्र संख्या बढी हुन्छ ।


व्यवसाय, उद्योग क्षेत्रसँगै विभिन्न सामाजिक संघसंस्थामा काम गरी सक्नुु भएको छ । केहीमा हालपनि संलग्न हुनुहुन्छ । त्यतिमात्र नभई स्वास्थ्य र सञ्चार जस्ता सेवा प्रदायक संस्थामा पनि आवद्ध तथा लगानी गर्नु भएको छ । बढी सन्तुष्टि कुन क्षेत्रबाट हुनुहुन्छ ?
–म उद्योगबाट नै बढी सन्तुष्टि छु र, म विभिन्न सामाजिक संस्थामा आवद्ध छु । त्यसैगरी स्वास्थ्य र सञ्चार क्षेत्रमा पनि लगानी गरेको छु । हामी सामाजिक प्राणी, समाजमा बसेपछि यहाँको लागि केही गर्नुपर्दछ । त्यसैगरी आयमूलक पेशा उद्योग भएतापनि सेवामूलक संस्थामा लगानी गर्दा धेरैलाई सेवा प्राप्त हुुन्छ । उद्योग हाम्रो जिविकोपार्जन र आयआर्जनका लागि मात्र होइन । सयौंलाई रोजगार,हजारौंको जिविकोपार्जन र राष्ट्रका लागि योगदान गर्ने उद्देश्यका साथ व्यवसाय तथा उद्योगलाई पेशा बनाएका हौं । हामी नेपाली र नेपाललाई अत्यावश्यक वस्तु उत्पादनमा विशेष जोड दिन्छौं ।

आगामी योजनाहरु के–के रहेका छन् ?
–स्थापित उद्योगलाई थप परिमार्जित र विकसित गर्दै गुणस्तरीय उत्पादन बढाउने , त्यसैगरी स्थापना भएका नया उद्योगलाई प्रबर्धन गर्ने साथै पर्यटन व्यवसायमा समेत योगदान पुर्याउने उदेश्यले गुणस्तरीय होटल संचालन गर्न गैरहेका छौ । नयाँ उद्योग स्थापना गर्नुका साथै जति सक्दो स्वदेशी उत्पादन र रोजगार वृद्धि गर्ने हाम्रो योजना र लक्ष्य रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।