ताजा अपडेट »

'बिहे' सजिलो छैन

विहीबार, ०४ मंसिर २०७७, १८ : १७
24 Shares

मंसिर महिना, अझ बिहे को महिना भनौं क्यार । जब मंसिर महिना आउँछ अनी मनमा केही हलचल हुन हुन्छ । मनमा अनेकौ किसिमका सोचले खैलाबैला मच्चाएको अनुभूति हुन्छ । बुढी आमाको मुहारमा सधैका मंसिरमा झै यो पाली पनि फेरि एकपटक आसाका किरणहरू जागेर आउँने छन् । यस पालि त छोराले अवश्य बुहारी भित्राउने छ । बुढा बाबु-आमाको मन न हो, उमेर पुगिसकेका छोरा छोरीहरूको समयमा नै बिहे गर्दिन पाएँ । ‘मर्ने बेलामा सजिलै सास जाने थियो ।’–भन्ने चाहनाहरु जो कोही बुढा भएका बुबा आमाको हुन्छ नै । यो स्वाभाविक हो । उमेर पुगेका छोराछोरीहरूको समयमा नै बिहे गरेर उम्किन पाए हुने भन्ने चाहना हुन्छ ।

यसलाई अभिभावकले दायित्तव सम्झन्छन् । कतै यो दायित्व पूरा गर्न असमर्थ हुन्छौं की ? भन्ने चिन्ताले अक्सर बुढा बाबुआमालाई सताएको हुन्छ । त्यो आफ्ना सन्तानहरुप्रतिको उत्तरदायित्व र माया दर्शाएको हो । छोरा-छोरीको उमेर पुगिसक्दा पनि बिहेको लागि चासो नदेखाउँदा भने चिन्ताको विषय भएर खड्किएको जस्तो हुदो रहेछ । आफ्ना उमेर समूहका सबै साथिहरु बिहे भैसक्दा पनि आफ्नो चाहना नभएको त काहाँ होर, तर खोजेको जस्तो मान्छेको साथ नपाउँदा हो, या कसैलाई पर्खिरहेको छ, या के कारणले रोकेको छ बिहे यसको कुनै ठेट उत्तर साच्चै हुँदो रहेनछ । मलाई जस्तो धेरैलाई यस्तै हुन्छ होला तर कसैले बिहे कहिले गर्छस् ? ‘त बुढो भैसकिस तँ’ भन्दा चाहि मन झसंग हुदोरहेछ । अनि आफ्नो जिवनलाई फर्किए हेर्दा कुनै पनि तबरबाट उपयुक्त देख्दिन आफूले आफैलाई । बिहे गर्ने केटीको निम्ति योग्य र रोजाईमा पर्न सक्दिन होला जस्तो लाग्छ । असल मान्छे असल श्रीमान बन्न के सकुला र ? भन्ने जस्ता अनेकौं कुराले सताइरहेको हुन्छ ।

हरेक साल आइपुग्छ मंसिर । बज्न थाल्छन् छिमेकमा बाजा, मनभित्र यहीँ कुरा नै खेलीरहन्छन् । कोही त होलिन्, कसैको घरमा पर्खेर मलाई बसेकी होलिन् चाहानाको रहरमा । मनले त्यहीँ सोचिरहन्छ । जब मंसिर महिना नजिकिन्छ र फेसबुकमा बग्रेल्ती बिहेका फोटाहरु पोष्टिन सुरू हुन्छन् तब धेरैले हु–बहु प्रश्न म तिर पनि तेर्साउने गर्छन् । ‘कहिले होत त तेरो चाहीँ ?’-भन्ने प्रश्न प्रायः सजिलै हुन्छन् । जवाफ हो जटिल हुने त । मैले एउटा किताब पढेको थिएँ ‘फ्रर्यारिक एन्गल’ को परिवारको निजी स्वामित्व र राज्यको उत्पत्ति भन्ने । त्यो किताब, त्यो किताबमा बिहेको बारेमा केही प्रस्टाएको छ । ‘आदिम साम्यवादी समाजमा, निजी सम्पत्ति भन्ने थिएन । मान्छेहरु समुहमा बस्थे । जो पुरुषको जो महिलासँग पनि संसर्ग रहन सक्थ्यो ।

त्यसरी जन्मेका बच्चा कसैको व्यक्तिगत हुदैनथे । बच्चाहरू जन्मिन्थे र जिम्मा कुल को हुने गर्दथ्यो । बच्चा हुर्काउने बाबुहरु प्रष्ट नहुने र आमाहरू मात्र प्रष्ट हुने भएकाले आमाको नामबाट नै बच्चाहरू हुर्किन्थे । जब केही पुरुषहरूको मनमा लाग्यौं आफूले जम्मा गरेको सम्पत्तिको रक्षा गरेर आफ्नो अधिनमा राख्नुपर्दछ भन्ने तब आफ्नो मात्र भन्न सक्ने कोही त चाहियो । त्यो सम्बन्ध भनेको सन्तान हुन सक्दथ्यो । यसकारण उनिहरूले आफ्नो मात्र हक लाग्ने सन्तान जन्माउनको लागि कुनै महिलासंग बिबाह गरे र ती महिलालाई अरु पुरुषसंग पहिले जसरी सम्बन्ध राख्न निषेध गरिदिए । अब महिलाको प्रमुख काम भयो पुरुषेका लागि सन्तान जन्माइदिने । यसरी पुरुषले ती महिलालाई आफ्नो सम्पत्तिको रुपमा लिन सुरु गरे र समाजमा बिबाह भन्ने प्रथाको सुरुवात यसरी भएको हो भन्ने बुझिन्छ त्यस किताब अनुसार ।

र त यो प्रचलनप्रति मेरा केही ‘नोट अफ डिसेन्ट’ हरू छन् । परम्परागत बिबाह प्रणालीका केही बाध्यकारी नियम विरुद्ध मलाई जोडदार बहस गर्न मन छ । अब मंसिरमा हाम्रो देशमा बीहेमा दाईजो र जातको कति कारण महिला र पुरुषहरूले ज्यान गुमाउन पर्ने परिस्थिति सिर्जना हुने छ । यस्ता घटनाहरु हाम्रो समाजमा बढ्दै आएका छन् । पछिल्लो आँकडालाई हेर्ने हो भने जति परिवर्तन आउदै छ देशमा उत्ती हिंसा बढ्दै गएको देखिन्छ । समाजमा आफूलाई जान्ने बुझ्ने शिक्षित हुँ अझ भनौ नेता, समाजसेवी हुँ भन्नेहरूले परिवर्तनका जति भाष गरेपनि बिडम्वना उनीहरू पनि स्वयम् यि कुराहरुबाट आफूलाई अछुतो राख्न नसकेको अवस्था छ । जति कुरा गरेपनि जति कानुन बनाए पनि जात भात दाइजो जस्ता कुरा मुख्य रुपमा हेरिन्छ ।

अझै पनि हाम्रो समाजमा परिवर्तन हुन सायद कैयौ युग लाग्छ । मलाई लाग्छ बिहे गर्ने केटा-केटीभन्दा बाहेक अरू कोही नभए पनि हुन्छ र अरु केही नभए पनि हुन्छ । अरू बाँकी कुराहरु अनिवार्य होईन । अनिवार्य छ बिहे गर्न तयार दुई व्यक्ति मात्रै हुन । बिबाह त दुई व्यक्ति को स्विकारोक्ति हो भन्ने कुराहरू नबुझ्दा समाजमा अपराधीक कार्य बढी रहेका छन् । यसलाई रोक्न चेतनाकोस्तर अभिवृद्धि हुनु आवश्यक देखिन्छ । यो राज्यको दायित्व पनि हो । तराईमा दाईजो प्रथाका कारण वर्षेनी कति महिलाहरू अकालमा ज्यान गुमाउनु परेको छ । कति घरबार बिहीन हुन बाध्य भएका छन् । यतातिर सरकारले ध्यानाकर्षण गराउनु पर्ने देखिएको छ । दलित र गैर दलित बीचको खाडल झन्झन् फराकिलो हुँदै गएको छ ।

बिहे भएपछि स्वतन्त्र रूपमा अगाडी दौडिन नपाएका साथिहरुलाई सम्झिन्छु यस्तै यस्तै सोचेर र त बिग्रिए यतिका वर्ष । जिन्दगीमा धेरै संगत गरियो, धेरैसँग नजिक भैयो प्रायः सबै सबै सुरूमा राम्रा लागे । पछि झन राम्रा लाग्न थाले । निकटता बढ्दै गयो अनी क्रमश तिनका केही बानिहरू मन नपर्न थाले । मेरा केही बानिहरू उनिहरुले मन नपराउन थाले । समय अगाडी बढिरह्यो । सम्बन्ध अगाडि बढिनै रहे । सँगै असन्तुष्टिहरू पनि साथ-साथ अगाडी बढिनै रहे । अन्ततः असन्तुष्टिको धमिराले सम्बन्ध भित्र–भित्रै खोक्रो बनाउँदै लग्यो र ढल्यौ एकदिन । यस्तो किन भयो ? अथवा किन हुन्छ ? भनेर सोचि हेरे । कारण यिनै भेटाए, गरिबी र निकटता ।

आजभोलि सम्बन्ध भनेको त ईन्द्रेणी जस्तो लाग्छ । टाढाबाट हेर्दा रंगिचंङ्गी सामुन्नेमा जाँदा केही न केही । मेरो यो अनुभवले यस्तो दखल्ल पार्यो की मानसपटलमा त्यसपछि नजिकिनेसँगको सम्बन्धमा त्यति प्रगाढ भएर अगाडि बढ्न सकिन । बिहे भनेको सधै संगै हुनेगरी, कसैसँग नजिकिनु हो । जिवनमा सँगै यात्रा गर्न आउने जिवनसाथी सही भनेर कसरी ढुक्क हुने ? मनमा यहि कुराले सताइरहेको छ । कि यो पनि जे त होला भनेर खोलामा हाम फाल्ने जस्तो हो । यहीँ प्रश्न आजसम्म बल्झिनै रहेको छ । सोचिरहन्छु यसबाट कहिलेसम्म मुक्ति पाउन सकिन्छ । केही पिर, केहि चिन्ता हटाउन सके भने आफूलाई बुझिदिने मान्छेलाई यो मनमा अटाउन सके भने जिन्दगीमा छुट्टै संसार हुने थियो होला सायद ।

बिहेलाई लिएर आजको यो बदलिँदो परिवेशलाई हेर्छु यहाँ असल गुण भएको तर धेरै आर्थिक सम्पन्नता नभएको मान्छे लाई राम्रोसँग बुझ्ने मान्छेहरूको खडेरी लागेको जस्तो लाग्छ । ईमान्दारिता असल भएपनी साधारण र सानो कमाई हुने मान्छेलाई बिहे गर्न कति धेरै गाह्रो छ । केटी नै पाउदैन अझ यसलाई यो भनौ केटीले नै पत्याउँदैनन् । यो अहिलेको समयमा साधारण मान्छेहरु कसैले रूचाउदैन रहेछन् । प्रायजसो मान्छेहरुले धनिमानी र राम्रो जागिर भएको धेरै धन कमाउनेलाई नै अंगालेको देख्छु । चाहे त्यो जस्तो प्रबृत्तिको होस फरक पर्दोरहेन छ । पैसाले सब कुरालाई ‘हाईट’ गर्दोरहेछ । मान्छेले साधारण मान्छेलाई मान्छे जस्तो व्यवहार नगरेको देख्दा सार्है चिन्त दुखेर आउँछ । आधुनिकताले गर्दा यस्तो परिस्थिति सिर्जना भएको हो जस्तो लाग्छ ।

अहिले हाम्रो समाजमा पैसा कमाउन सकिएन भने ईज्जत कमाउन पनि सकिदो रहेनछ । साधारण कम आय श्रोत हुने पुरुषहरुलाई बिहे गर्न कति धेरै गाह्रो छ हाम्रो समाजमा । तपाईं जति असल भित्रबाट हुनुहोस् तर तपाइको आर्थिक पाटो थोरै सामान्य मात्र भयो भने तपाइलाई हेर्ने दृष्टिकोण फेरिदो रहेछ । तपाइको असल पाटो कसैले पनि हेर्दैन । मलाई लाग्छ जबसम्म आर्थिक रूपमा सम्पन्न हुन सकिदैन सायद बिहेको लागि केटी पाउन सजिलै सकिदैन रहेछ । अहीलेको यो हाम्रो शिक्षित, आधुनिक समाज र आधुनिक मान्छेहरुलाई देख्दा त्यस्तै लाग्छ । केही अपवादहरू बाहेक ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।