ताजा अपडेट »

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्यौलमा, दुबै अध्यक्ष आफ्नै अडानमा

बुधबार, ०३ मंसिर २०७७, ०८ : ४०
2 Shares

काठमाण्डौं । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । लामो समयदेखि विवादमा रहेको नेकपामा बैठक बस्ने बारे अध्यक्षद्वयको फरक अडानले अन्यौल भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक सार्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा छन् ।

पार्टी महासचिव विष्णु पौडेलले आजको बैठक सार्न अनुरोध गरेपनि पनि प्रचण्डले अस्वीकार गरेका छन् । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उनका पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उनको पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई आग्रह गरेकी छन्। मंगलबार ओली र प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा भण्डारीले मिलेर अघि बढ्न आग्रह गरिन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेट गरेका थिए । स्रोतकाअनुसार राष्ट्रपतिले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न आग्रह गरिन।

ओली र प्रचण्डबीच विवाद हुँदा मिलाउनका लागि राष्ट्रपतिले समेत भूमिका खेलेको भनेर आरोप लाग्दै आएको छ । पार्टी भित्रको विवाद बढ्दै गएपछि दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन सक्रिय छ । ओली पक्षका नेताहरु आजको बैठक रोक्ने प्रयासमा छन् भने प्रचण्ड पक्षका नेताहरु जसरी पनि बैठक गर्ने अडानमा छन् । पार्टीलाई विभाजन हुन नदिनको लागि अर्का थरी नेताहरुले पनि छलफल र भेटघाट तीव्र पारेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।