ताजा अपडेट »

कोरोनाको कष्टकर कहरमा कुकुरका कुरा

शनिबार, २९ कार्तिक २०७७, १५ : २१
36 Shares

हामी नेपालीहरु तिहार पाँच दिनसम्म मनाउने गर्छौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीयसम्म पाँच दिन मनाईने यस पर्वको समुच्चयलाई यमपञ्चक भनिन्छ । आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार । यमराजको दूतको रुपमा आएको कुकुरलाई बहिनी यमुनाले पूजा गरेको प्रसङ्ग तिहारको बेला खुब आउने गर्छ । कुकुर भैरवको वाहन समेत हो ।

कुकुरसँग मानिसको सम्बन्ध,सहकार्य र सहयात्राका सन्दर्भमा धेरै पुरानो इतिहास पाउन सकिन्छ । कुकुरका बारेमा अध्ययन गर्नेहरुका अनुसार मावन जीवनसँग कुुकुरको सम्बन्ध करिव ३० हजार वर्षअघि भएको ठानिन्छ । जतिबेला मानिस यो पृथ्वीमा शिकार खेल्दै घुमन्ते,फिरन्ते जीवन बिताउँदै आएको थियो । त्यतिबेला कुकुर र मान्छे दुबै जंगली जीवन बिताउँथे ।

यतिबेला म कोरोनाको कष्टकर अवस्थाबाट मुक्ति पाउने अवस्थामा पुग्दैछु । स्वाब परीक्षण गरेको पनि १० दिन पुगिसक्यो । तिहारपछि पुनः परीक्षण गर्नुपर्ला सोच्दैछु । हल्का खोकी छँदैछ । खोकीले छाडेको केही चिन्हहरु छातीको एक्सरेमा देखियो । डाक्टरले ओखती खाएपछि सञ्चो हुन्छ भनेपछि ढुक्क भएर होम आइसोलेसनमै छु । घरमै बसेर तिहारका रमाईला पक्षहरुका बारेमा सोचिरहेको छु । आफ्नोजन्मथलो दोभान,संगै जन्मिहुर्किएका साथीहरु,पढ्दाका र गाउँले साथीहरुलाई अगाध सम्झना गरिरहेको छु । बाख्रा चराउन जाने सातपत्रे वन,कल्ली मरेको गैरा,भ्यागुतेपानी, देहरादून वन,लोसेको जंगल र दुमैलाई स्मरण गरिहेको छु ।

देहरादून वनमा बसेर अनि बाख्रा चराउँदै गर्दा मैले ’नसोध मलाई’ नामक गीति नाटक लेखेको हुँ । सो नाटक पढेपछि अजम्बरध्व खातीले मेरो नाटकको खुबै प्रशंसा गरेका थिए । सोही नाटकलाई ‘सिम्मॉ नाटकसँग दाँजेर माक्र्सवादी साहित्यकार गोपीरमण उपाध्यायले प्रलेस,नेपालको प्रकाशनमा समीक्षा गरेका थिए ।कुकुरका बारेमा धेरै कुरा जान्न र सिक्न मन लागेको छ । कोरोनाले पिरोलेको बेलामा पनि कुुकुरबाट केही सिक्न सकिन्छ कि केही जानिन्छ कि भनेर पुस्तक,पत्रिका,अनलाइनहरु पढिरहेको छु । साथीहरुसँग कुकुरका बारेमा जानेका कुरा सोधिरहेको छु ।

आज कुकुर तिहार । कुकुरलाई तीनसय ६४ दिनभित्र देखे पिट्टी हाल्ने अनि एकदिन खुबै पूजाआजा गर्ने,मिष्ठान्न खान दिने र माला लगाएर फुरुक्क पार्ने नेपाली चलनले हामी कति स्वार्थी छौं भन्ने गतिलो सन्देश दिने गर्छ । नेपाली समाजमा कुकुरका बारेमा अनेक उखान टुक्का,कहावत,लोकोक्ति,प्रसङ्ग ,लोककथा र विश्वास एवम् मान्यताहरु छन् । संस्कृतिकर्मी घनश्याम कोईरालाका अनुसार शास्त्रमा– ‘षट्शून अर्थात् कुकुरबाट छ कुरा सिक्नू’ भनिएको छ । खासगरी कुकुरबाट सिक्नु पर्ने छ कुराहरु यी हुन् । जस्तैः पाएजति खाने,नपाएमा सन्तुष्ट रहने,राम्रो गरी निदाउने,तुरुन्त जाग्न सक्ने,स्वामीभक्त–इमान्दार,लडाइँ गर्न परे नआत्तिने । कुकुरले घरपरिवारका सदस्यहरुका सुरक्षा दिने,सम्पत्तिको हेरचाह गर्ने,दुश्मनसँग जुध्ने र आज्ञाकारीपालक हुँ भन्ने सन्देश दिदै आएको पाइन्छ । पछिल्लो समयमा कुकुरलाई शोखको रुपमा पालन गर्ने चलन आइपुगेको छ ।


कुकुरदेखि सावधान ! प्रायः सहरका धेरै घरका अघि गेटमा कुकुरको चित्रसहित टाँसिएको सूचना वा जानकारी हुने गर्छ । कतैकतै कुकुरनै नभएको घरमा समेत यस्तै सूचना टाँसिएको देखिन्छ । खेतबारीमा बाली जोगाउनका लागि टाँगिएको बुख्याँचा जस्तै लाग्न थालेको भान हुन्छ । संसारमा अहिले करिव एकसय ८९ थरिका( नयाँ खोज अनुसार ४०० थरिका पनि भनेको पाइन्छ । ) मध्ये नेपालमा आठ थरिका कुकुरहरुलाई नेपाल प्रहरीले अपराध नियन्त्रण,लागू पदार्थ अनुसन्धान,जमिन मूनि दछ्याइएका विस्फोटक पदार्थहरु पत्ता लगाउन,पुरिएका मान्छेहरुलाई खोज्नका निम्ति व्यापक रुपमा प्रयोग र परिचालित गर्दै आइरहेको छ । कुकुरको सुघ्ने क्षमता अति नै तीखो हुने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

कुकुर(स्वान) को जस्तो पातलो निद्राका बारेमा विद्यार्थीलाई खुब घोकाइन्छ । शिकार गर्दा मिलेर सहकार्य गर्ने तर खानेबेला कुकुरहरु टोकाटोक गर्ने बानीले गर्दा बदनाम छन् । कस्तो कुकुर जस्तो झगडा गर्ने भनी उल्लेख गरेको पाइन्छ ? कुकुरमा वफादारिता हुन्छ । कुकुरले अनुशासनको घेरा तोड्दैन भन्ने कवाहत धेरै पाइन्छन् तर कुकुरलाई जति सुधार्न खोजेपनि सुधार्न नसकिने कुराले खुब चर्चा पाउँछ । कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हालेपनि जस्ता कै तस्तै ! कहिले नसोझिने,कहिले नसुधारिने ? हाम्रा देशका नेताहरुका लागि यो उखान खुब प्रयोग हुने गर्छ । प्रजातन्त्र,लोकतन्त्र र आज गणतन्त्र ल्याउँदासम्म नेताहरुको विचार,भावना,कार्यशैली,सोचाई र कार्यान्वयन गर्ने सीपमा कुनै तात्विक परिवर्तन छैन । जे जान्यो,जे बुझ्यो उसै गर्ने संस्कारले नै नेपालको राजनीतिमा यो उखान नेताका लागि सदावहार बनेर आइरहन्छ ।

जाती घरपालुवा जनावर भएरपनि कुकुरको प्रयोग र कार्यशैलीका कारण बदनाम छ । एकदिन पूजेर उसको वुद्धिमा कहिल्यै घाम नलाग्ने चलनले सबै दिक्क मान्ने गर्छन् । कुकुर तिहारमा जेनतेन उसलाई पूजेपनि उसको व्यवहारबाट आजित छन् । राम्रो ठाउँ वा बस्तु देख्नेबित्तिकै खुट्टा उचालेर सु गर्ने बानी,घरमा जतिसुकेकै मीठो खाने कुरा दिएपनि गाउँघर घुमेर आची नखाइ नहुने उसको व्यवहारले कुकुरलाई कुकुरबाटमाथि उठाउन नसकेको सत्य हो ।

शास्त्रमा उल्लेख गरेको छ कि –घाँटीसम्म सुमधुर पेय जलमा डुब्न पाएपनि कुकुरले आहालको पानी भेट्दा त्यो पनि जिभ्राले चाट्छ । कुकुरलाई कति नीच जनावरको रुपमा परिभाषित गरिएको छ । यो कारण हाम्रा नेपाली नेताहरुसँग कुकुरको यही अवगुण वा चरित्रसँग दाँजिएको पाइन्छ । अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ । कुकुरलाई मासु पैचो,कुकुर काशी गए जस्तो नेपाली जनजनको मुखारविन्दबाट निस्किेन उखानहरु हुन् यी । यी उखानहरुलाई लिएर कुकुरको प्रवृत्तिको उल्लेख गरिरहनु पर्दैन ।

सबैभन्दा खतरनाक कुरा त यहाँ छ –कुकुरलाई राजा बनाई दिएपनि जुत्ता टोक्न छाड्दैन । यसो भनेपछि कुकुर कति लोभी जनावर हो । धूर्त जनावर हो । कति कर्तुत जनावर हो भनिरहन नपर्ला ! तैपनि कुकुर तिहारमा कुकुरका बद्नामी कुरा गर्नुभन्दा पनि उसका सवल पक्षहरुका बारेमा समेत कुरा गर्नु उपयुक्त ठानेको छु ।

कुकुरले बरु आफ्नो ज्यान त्याग्छ तर मालिकको सम्पत्ति र जिउधनको सुरक्षामा कमि ल्याउँदैन । आफ्नो इमान्दारिता,वफादारिता र क्षमता प्रदर्शन गरिरहन्छ । कुकुरको त्यो विशिष्टता नै हो । प्राचीनकालमा इजिप्टमा कुकुरलाई पवित्र जन्तुको रुपमा पुजिन्थ्यो । देउतासरि मान्ने चलन थियो । कुकुरको हेरचाह गर्न नोकर चाकरको प्रवन्ध गरिन्थ्यो । कुकुरलाई गरगहना र कपडाले सिंगारिन्थ्यो । त्यतिबेला कुकुर पाल्न सबैलाई अनुमति थिएन । सम्भ्रान्तहरुले मात्र कुकुर पाल्न पाउँथे । कुकुर मरेमा घरका परिवार मलामी जानुपर्ने बाध्यकारी अवस्था हुने गथ्र्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।