ताजा अपडेट »

सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहन्छ : उपप्रम पोखरेल

शुक्रबार, २८ कार्तिक २०७७, १८ : ४०
12 Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक  लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए ।   

विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले सङ्घ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने  धारणा उनले राखे ।  नेपाल सरकारका अन्य निकायलाई पनि यस्ता पुस्तक प्रकाशन गरी सबैलाई जानकारी दिन उनले सुझाव दिए  ।  

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता  गोकर्ण विष्टले निर्वाचित भएपछिको अब बाँकी दुई वर्षका अवधिमा पनि जनताकै हितमा काम गर्न  जनप्रतिनिधिलाई शुभकामना दिए ।

नेपाली कांग्रेसका नेता  गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजीकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे । महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले  पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वका बारेमा थप प्रष्ट पारेको बताए। 

पुस्तकलाई पाँच विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ‘संस्थागत सुद्दढीकरण सेवा प्रवाह र अन्तरसरकार समन्वय’,  ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र  ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ का विषय पुस्तकमा समेटिएको छ  ।

मुलुकभरका ६६ जिल्लाका गाउाँलिकाका विवरण पुस्तकमा समेटिएका छन् । तीन वर्षका अवधिमा प्रदेश नं १ बाट ३८, प्रदेश नं २ बाट १९, वाग्मती प्रदेशबाट ६२, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३९, कर्णाली प्रदेशबाट २८ र सुदूरपश्चिम प्रदेशबाट २६  स्थानीय तहका अभ्यास  यसमा समाविष्ट छन् ।

रासस
लेखकको बारेमा
रासस