ताजा अपडेट »

बसिबियाँलो कुट्लीकोसा

मंगलबार, २५ कार्तिक २०७७, १८ : ३०
34 Shares

घरतिरै दिनरात बिताइ रहेकै छु । गाउँघरतिर घुम्ने डुल्ने रहरमा बिर्को लागेको त होइन । शारीरिक समस्याले त्यस्तै अवस्था आयो भन्नु पर्ला । विश्वका सबै मानव जीवनलाई त्रसित पारेको डर लाग्दो समस्याबाट म समेत ग्रस्ति हुन पुगें । ज्वरो आयो, खोकी लाग्यो, केही समय श्वास फेर्न पनि मुस्किल पारेको थियो सुरुका केही दिनमा । अहिले भने हल्का खोकी छ । अरु त खासै छैन तरपनि यो समस्याका बारे भन्नै सारो पो रहेछ । कतिबेला के हुन्छ भन्नै नसकिने ।

बाँचिन्छ लागेको छ । आँट, हिम्मत र शाहस बटुलेको छु । हुन त संसारमा सधैं को पो बाँचेको हुन्छ र ? तैपनि कोरोनाले नलगे हुन्थ्यो भन्ने सोचाइ हो । गाउँतिर काम नहुँदा अर्थात् बसिबियाँलोमा कुट्लीकोसा टिपेर गफ मार्ने चलन हुन्छ । पारिलो घाम ताप्दै जीवनका तीतामीठा गफ लगाउनु, हाँसो ठट्टा गर्नु ठीकै लाग्छ । अझ अमिलो साँधेर खाँदाको स्वाद के बयान गर्नु र खोइ यो बेला ?

कोरोना आफैमा खतरनाक त होइन तर यसले छिनछिनमा देखाउने वा फेर्ने लक्षणहरु भने डर लाग्दो अवस्था ल्याउँदा, घरि छाती दुख्ने, कति टाउको दुखे झैं हुने ? घरिघरि छाती कस्सिए झैं भइदिने ? ए मेरा बा ! हे मेरी आम्मै ! भनेर रुन मन लाग्ने ? पखाला लागे झैं हुने, भोलिपख दिसा नै गोटा परेको भान हुने ? कस्तो कस्तो अवस्था झेलियो पो !

तैपनि जिन्दगी हो । यात्रा हो जीवन । भोगाईले नै जीवनको यात्रा तय गर्दो रहेछ । कम्प्युटर चलाइ राखौं आँखा पाट्टिने । किताब पढम आँखा दुख्ने । चश्मा लगाएर पढुँ पीरो आँसु आउने । साथी भाइको फोन उठाउँ खोकीले प्राण लैजाला झैं हुने । फेसबुक हेरौं, कोरोनाबाट फलाना मरे, फलाना संक्रमित भए भन्ने खबर आइरहने । संख्याको र मृत्युको खबरले हाल बिहाल हुने ।

दसैं ताका छिमेकी डाक्टर मनोज ढुंगानाले डा.तीर्थबहादुर श्रेष्ठको नेपाल अध्ययन भाग २ (वन, वनस्पति र प्राणी ) र विष्णुप्रसाद शर्मा, पराजुलीद्वारा लिखित डोल्पो (विश्वको जीवित संङ्ग्राहलय) पुस्तकहरु उपहार दिएका थिए । ती पुस्तकहरु आधाआधी पढेपछि कोरोनाको साथी भइयो । केका पढ्न सक्नु पुस्तकहरु ? ती पुस्तकहरुले नै टेबलबाट नै खिज्याए झैं लागिरहने ?

पहिलो लकडाउनभरि कर्मशील उद्यमी महिलाहरुको संघर्षको कथा लेखें । साथी माधव पौडेलले अंग्रेजीमा अनुवाद समेत गरेर धेरै सहयोग गरे । पाठकहरुले खुब मन पराए । ग्लोवल आवाज, श्रीनगर अनलाइन र जनसंघर्षले मज्जाले प्रकाशित गरे । उद्यमी महिलाहरुको उत्साहले सगरमाथा उक्लिए । पुस्तक छाप्ने अन्तिम तयारीमा छौं ।

दोस्रो लकडाउन हुँदा तिनाउ गाउँपालिका, पाल्पाको गाउँहरुलाई परिचित गराउने, प्रसिद्धिको शिखरमा चढाउने र सबैले तिनाउको समृद्धिलाई संस्थागत गराउने अभियानमा जुटेको थिएँ । तिनाउमा रहेका ६ वडाहरुका सबैलाई छुने गरी १७ वटा गाउँको डायरी लेखें । बाँकी अझै १५ वटा टोलबस्तीहरु छन् । कति गाउँटोलको टिपोट गरिसकेको छु । फोटो संकलन गरेको छु । आवश्यक तथ्य तथ्याङ्क जम्मा गरेर पनि यही कोरोनाको कारण लेख्न सकेको छैन ।

रोग आफैमा सानो ठूलो होइन लाग्छ । बेलैमा सचेत नहुने हो भने पनि सामान्य रोगबाट ज्यान जान सक्छ भने बेलैमा उचित स्याहार सुसार र सतर्कता अपनाउन सकिएमा पक्कै पनि ठूला भनिने रोगबाट पनि मुक्ति पाउन सजिलै हुन्छ । कोरोना, लकडाउनका सन्दर्भमा थुप्रै लेखहरु लेखिसकेको छु । कोरोना क्रियसन मेरो बुक नै तयार भएको छ । तर सचेत हुँदाहुँदै आफै यही रोगको सिकार हुन पुगें । दुःख लाग्छ तैपनि यसबाट मुक्ति पाउन चिकित्सकहरुको सल्लाह, यो रोगबाट ग्रस्ति भई सकेका अनुभवीहरुबाट धेरै पाठ सिक्ने अवसर पाएको छु । घरिघरि अत्यन्तै डर लाग्छ । कहिलेकाँही यसैले नै लैजान्छ कि भन्ने त्रास मनमा पलाउँछ ।

साथीहरु भेट्न आउन समेत डराउँछन् । आफन्तीहरुले फोन, मेसेजबाट स्वास्थ्य लाभको कामना गर्छन् । यी सबै कुराले पनि मलाई उत्साह र जाँगर थप्छ । फेसबुकले सहजता बनाएको छ ।
दसैं त जसोतसो गरी बिताइयो । दसैंको दिन घरका परिवार टीका लगाउन दोभान भाउजुका घर गए । म भने ज्वरो काढेर कम्मल ओढेर दिनभर सुतें । जीवनको यो एउटा तीतो भोगाई कोरोनाले दियो । त्यतिबेला स्वाब परीक्षण त गरेको थिइन् तर लक्ष्णले त्यही भन्छ आज । एक गिलास दूध खाएर सुतेर दसैं मनाउनु पनि कम गर्वको विषय रहेन ।

तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेलुँ भैलो

यो कविता माधवप्रसाद घिमिरेले लेखेका हुन् । तिहार पनि आउन थाल्यो । देउसी भैलो खेल्ने बेला आयो तर कोरोनाले यसको खेतीखेलो पक्कै रोक्ने छ । बासुदेव घिमिरे मेयर साहेव रहेको तिलोत्तमा नगरपालिका तथा जिल्ला प्रशासन रुपन्देहीले त यसपाली देउसी भैलो खेल्नै नपाइने भनेर बन्देज लगाइ सकेको न्यूज कताकता अस्ति बिस्तारामा सुत्दा पढे जस्तो लागेको थियो अनलाइनहरुमा । विषम परिस्थितिमा गरिएको यो निर्णय एक हदसम्म ठिकै हुन सक्ला । नत्र तिहारपछि कोरोनाको कारण मृत्यु हुनेको संख्या गनी र भनी साध्य नहुन सक्छ ।

म त छिनछिनमा तातो बेसार पानी, दूध बेसार, डाक्टरले प्रेषण गरेको ओखती, नगरपालिकाले माया गरेर पठाइ दिएको आयुर्वेदिक औषधी र आफ्नो नियमित ओखती खाएर बसेको छु । श्रीमतीलाई पनि कोरोनाको साथी बनाएको छु । छोरोको स्वाब परीक्षणले के भन्छ थाहा छैन । तैपनि आशा, भरोसा र आँटले संसार जित्न सकिएला भन्ने मेरो ठहर छ । बाँचे तपाइँ हाम्रो भेट भइहाल्छ नि । मृत्युलाई जित्ने अठोट बोकेर राजनीति, साहित्य, कला, संगीत, संस्कृति, पर्यटन, शिक्षा, धार्मिक क्षेत्रमा निरन्तर गतिशील रहने नै छु ।

कोरोनाले हाम्रा रीतिरिवाज, परम्परा, संस्कृति, सभ्यता र सुन्दरतालाई समूल नष्ट गर्छ कि झैं लाग्न थालि सक्यो । यो रोगबाट सबैलाई बचाउन सकिएमा जाती हुने थियो । मानव शक्ति, आर्थिक, सामाजिक एवम् सांस्कृतिक सबै पक्षहरुलाई नष्ट गरिदिन सक्छ बेलैमा हेक्का गरौं । आफू बचौं र अरुलाई समेत बचाऔं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।