ताजा अपडेट »

पत्रकारका पीडा : 'सेवा सुविधा नपाएको कुरा कसलाई भन्ने ?'

शुक्रबार, २१ कार्तिक २०७७, १८ : ३०
6 Shares

बुटवल । नेपालमा कोभिड-१९ का संक्रमितहरु भर्खर देखिन सुरु गरेका थिए । संक्रमित होस वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा विभिन्न समुदायमा गएर रिपोर्टिङ गर्नुपर्ने हाम्रो कर्तव्य थियो । यसरी काम गर्ने शिलशिलामा म आफू नै कोरोना संक्रमित हुन पुगे । त्यतिखेर अहिलेको जस्तो कोरोनालाई सहज रुपमा स्वीकार गरिसकेको अवस्था थिएन । अझै पनि छैन । संक्रमण भएको थाहा पाएपछि होम आइसोलेशनमा बस्नु पर्ने भयो, आफ्ना तिता अनूभव सुनाउँदै रुपन्देहीका पत्रकार दिपक घिमिरेले भने ।

त्यो समयमा संक्रमित तथा संक्रमितको परिवारसँग पनि समुदायका मानिस डराउने गर्दथे । सधैजसो घर अगाडी साग सब्जी, फलफुल तथा दुध बोकेर आउने व्यापारी वा कुनै पनि मानिस नजिक पर्न डराउने मात्र होइन अब उनीहरुले हामीलाई पनि संक्रमण सार्ने भयो भन्ने डरले संक्रमितलाई हेर्ने दृष्टिकोण नै फरक थियो ।

‘यसरी संक्रमणका बीच जोखिम मोलेर काम गर्दै गर्दा महामारीको बहाना बनाएर आफू कार्यरत सञ्चारगृहले बेतलबी विदामा बस्न आदेश दियो । कोरोना महामारी भोगेको ७ महिना बढी भयो अहिले म आफैले साथीहरुसँग मिलेर एक अनलाइन दर्ता गरी काम गरिरहेका छौ ।’ लामो समय बेतलबी काम गर्नुपर्दाको पिडा सुनाउँदै पत्रकार घिमिरेले भने । ‘हामीलाई राज्यले त हेरेन नै आफैले काम गर्ने गरेको सञ्चारगृहले समेत बहाना बनाएर कामबाट निकाल्यो । म जस्तै धेरै साथीहरुले जागीर गुमाउनु परेको छ, बेतलबी काम गर्नु परेको छ, तलब पाएको भएपनि अति न्यून तलबमा काम गर्नु परेको छ, मात्रै उहाँहरुले अभिव्यक्त गर्न नसकेर हो ।’-उनले भने ।

यस्तै पत्रकार महासंघ रुपन्देहीका सहसचिव समेत रहेका कमल रायमाझी पनि आफ्नो कर्तव्य पालना गर्दै गर्दा कोरोना संक्रमित हुन पुगे । उनलाई कोरोना संक्रमण हुँदा भने समाज केही सहज भइसकेको थियो । तर, संक्रमितहरुले भोग्नु परेका अनूभवहरु सुनेर उनी पनि तत्कालै सहज रुपमा खुल्न चाहेनन् ।

आफ्नो अनुभव सुनाउँदै रायमाझीले भने ‘समाजबाट तिरस्कृत हुनु पर्ने हो की भन्ने डरले सुरुमा खुल्न गाह्रो भयो, पछि भने साथीहरुको सल्लाह तथा मेरो आफ्नो बिचारमा संक्रमण भएको बारे सबैलाई जानकारी गराउँदा राम्रो हुने सोचेर खुल्न सजिलो भयो ।’ संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेर नै कोरोना जित्न सफल भए ।

संक्रमणले महामारीको रुप लिइरहेका बेला पत्रकारहरु विभिन्न समुदायस्तरमा पुगेर काम गर्नु कम जोखिमपूर्ण होइन । ‘कोभिड-१९ ले हामीलाई जोखिम मात्र बढाएको छैन जिम्मेवारी पनि बढाएको छ ।’-उनले भने जोखिम र जिम्मेवारी थपिए पनि सरकारले सञ्चारकर्मीहरुको बारेमा राहतका कार्यक्रम ल्याउन नसक्नु दुःखद कुरा हो ।

केही दिन अघि कोरोना जितेर आएका अर्का पत्रकार सिपी खनालको गुनासो पनि उस्तै छ । श्रमजीवी पत्रकारहरुले सेवा सुविधा पाएका छैनन् । ‘मिडिया हाउसले कोभिडको बहाना बनाएर कर्मचारी कटौती, बेतलबी विदामा राख्ने तथा न्यून भन्दा पनि न्यून सेवा सुविधामा काम गराउने गरिएको छ ।’–खनालले भने ‘श्रमजीवीहरुका यी र यस्ता समस्या समाधानका लागि खै कुन निकायले पहल गर्ने ?’

उनीहरु अरुका दुःख र समस्याका बारेमा बोल्ने सञ्चारकर्मीहरुले भोग्नु परेका तीता अनूभवका केही प्रतिनिधी पात्रहरु हुन् । सञ्चारकर्मीहरुका मात्र होइन मिडिया सञ्चालकहरुले पनि ठूलो आर्थिक क्षति व्यहोर्नु परेको गुनासो छ । महामारीको सुरुवाती चरणमा बन्द भएका पत्र-पत्रिकाहरु सञ्चालनमा आएपनि आर्थिक क्षति व्यहोर्नु परेको पत्रकार दामोदर खनालले गुनासो गरे ।

आफूले पाक्षिक रुपमा सञ्चालन गर्दै आएको पत्रीका आर्थिक संकटका कारण विगत ५ महिनादेखि बन्द रहेको गुनासो गरे । ‘राज्यले कुनै राहतको व्यवस्था गरेको छैन, नीजि क्षेत्रहरु आफै टाट पल्टेका छन् ।’-खनालले भने सामान्य खर्चनै धान्न नसक्ने भएपछि धेरै सञ्चारगृहहरु बन्द भएका छन् भने कोही बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अनुसार हालसम्म जिल्लामा २४ जना सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । ४ जना संक्रमित अझै पनि आइसोलेशनमा रहेका छन् । यसैगरी पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीका अनुसार लुम्बिनीमा करिब ४ दर्जन सञ्चारकर्मी संक्रमित भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् ।

देशरभर ४१३ जना कोरोना संक्रमित भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये ८३ जना उपचाररत रहेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार कोरोना महामारीको अवधिमा ५ सय सञ्चारकर्मी कामबाट निकालिएका छन् । ७ सय सञ्चारकर्मी बेतलबी विदामा बसेका छन् भने ८ सय सञ्चारकर्मीको सुविधा कटौती गरिएको छ । महासंघले तयार पारेको रिपोर्ट अनुसार १ हजार ५ सय बढी पत्रकारहरुले विगत २/३ महिनादेखि सेवा सुविधा पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।