ताजा अपडेट »

नेकपा विवाद : के भन्छन दोस्रो तहका नेता?

सोमबार, १७ कार्तिक २०७७, ०९ : २८
2 Shares

बुटवल । सत्तारुढ दल नेकपा फुटको संघारमा आएपछि नेताहरुले सामाजिक सञ्जाल मार्फत चिन्त व्यक्त गरेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच कुरो बाझिएपछि फुटको संघारमा पुगेको नेकपाका नेताहरुले सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा व्यक्त गरेका विचारहरु जस्ताको त्यस्तै :

भीम रावल

विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्। स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्। यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ। समझदारी, एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।

विष्णु पौडेल

यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।

नारायणकाजी श्रेष्ठ

हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हासिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन। फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेश बिरुद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन। ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ।

शंकर पोखरेल

विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो? भन्नु राम्रो हो। अर्कोले के भन्यो? भन्दा सदैव आग्रह मिसिन्छ ।

खिमलाल भट्टराई

सांसदहरु राजनीतिक अस्थिरता र विभाजनको पक्षमा जाॅदैनन । पार्टी विभाजन संभव छैन । यो विवादले निम्त्याएको तनाव मात्रै हो ।

अहिले नेकपा मा देखिएको विवादले पार्टी फुटको दिशातिर गयो भन्ने समचारहरु विभिन्न सामाजिक संजालहरुमा देखिन्छन । आम नेता, कार्यकर्ता , शुभचिन्तक र जनताहरुको भावना विपरित गएर नेकपा फुट्दैन र फुट्नु पनि हुदैन । आम जनताको चाहना अनुु्सारनै सरकार र पार्टीलाइ जनमुखी बनाउदै अहिलेको कोरोना महामारी को नियन्त्रण , निशुल्क उपचार , वाढीपहिरो मा परेकाहरुको उचित व्यवस्थापन को विषयमा सामुहिक निर्णय सहित पार्टी एकढिक्का भएर अगाडी वढ्ने छ । निराश नहुन र एकताको पक्षका लागी उभिन अपिल गर्दछु ।

टोपबहादुर रायमाझी

रामकुमारी झाँक्री

पार्टी किन फुट्ने होला ? अनि कसले फुटाउने होला ? सबै थोक गर्न दिएकैछ/पाएकै छन्। अब पार्टी फुटाएर त्यो बैभव पाउने पनि होइन। पार्टी सदस्य र समर्थकको दिमाग किन खाएको होला?

विष्णु रिजाल

पक्कै पनि नेकपामा समस्या छ। तर, यति आधारमै पार्टी फुट्दैन। यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तरार्द्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन्। मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ। ‘स्यालको शिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो। भनिन्छ नि- ठूलो घरको ठूलै चाला!

गोकुल बास्कोटा

सिद्धान्त र संगठनात्मक प्रणाली सहितको संकट उत्पन्न भएको भए पो सङ्कट मान्नु। लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि। वेकारको हल्ला।

ठाकुर गैरे

पार्टी बिभाजन गरिएमा अक्षम्य अपराध हुनेछ। सत्तास्वार्थ, लेनदेन र दाउपेचको राजनीति छोडेर नीति र बिधिमा एकता खोज्नुहोस्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।