ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमाले निःशुल्क परीक्षण र उपचार गर्ने

मंगलबार, ०४ कार्तिक २०७७, ११ : २२
18 Shares

निःशुल्क पिसिआर परीक्षणदेखि शव व्यवस्थापनसम्मको जिम्मा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नैं लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ । तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पिसिआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो । संघीय सरकारले सबैको पिसिआर परीक्षण समेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगर सरकारले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको हो ।


यस्तै नगरपालिकाले शंकरनगर आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेशनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्याउने निर्णय गरेको हो । हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले जानकारी दिइन् ।

हाल तिलोत्तमाको आइशोलेसनमा अन्य पालिकाबाट जाँच भइ आएका २२ जना संक्रमति छन् । बैठकले संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै घर–घरमा आयुर्वेदिक जडिबुटी पुर्याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले कोरोना महामारी सुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए ।

बैठकले दसैं–तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य प्रोटोकललाई ख्याल राख्दै सिधैं समाजमा घुलमिल नहुन आग्रह गरेको छ । साथैं बैठकले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित मृत्यु भएकाको चीर शान्ति एवम् शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको गरेको छ । कोरोना संक्रमित नागरिकर उनका परिवारलाई थप पीडा र बोझ नहोस् भन्ने उद्देश्यले नगरपालिकाले जिम्मेवारी वहन गर्नका लागि पिसिआर परीक्षणदेखि , क्वारेन्टाइन,उपचार र यदि मृत्यु भएमा शव व्यवस्थापन नगरपालिकाले नै गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।