ताजा अपडेट »

विष्णुको अवतार…

शुक्रबार, ३० असोज २०७७, ०९ : ४७
7 Shares

लुम्बिनी प्रदेशको बुटवलमा केहिदिन अघि विरोधका कार्यक्रमहरु भए । टायर बाल्नेदेखि सांसद र मुख्यमन्त्रीको गाडीमा ढुङ्गा प्रहार गर्ने जस्ता उत्श्रृङ्खल र गम्भीर किसिमका गतिविधिहरु पनि भए । कोभिड-१९ मा कमजोर सुरक्षा सतर्कता देखिएपनि त्यसबखत सडकमा भने प्रहरीको सुरक्षा सतर्कता भने देखियो । कारण : प्रदेशको स्थायी राजधानी थियो । तत्कालीन प्रदेश ५ सरकारले दाङ्गको भालुवाङ्गलाई स्थायी राजधानीको लागि प्रस्ताव पेश गरेपछि अस्थायी राजधानी रुपन्देहीको बुटवलमा एक किसिमको तरङ्ग उत्पन्न भएको थियो । जसरी एउटा शान्त तलाउमा जोडले ठूला ढुङ्गा प्रहार गर्दा छाल उत्पन्न हुन्छ । त्यसैगरी लामो समयको लकडाउन र सोबाट प्रभावित बुटवलमा पनि प्रदेशको विषयले एक किसिमको भुँइचालो नै ल्यायो ।

प्रदेशसभामा प्रदेश राजधानी प्रस्ताव भएसँगै रुपन्देहीबासीले भने विष्णु पौडेललाई गुहारी रहेका थिए । अर्थात् तिनै विष्णु जसले प्रतिनिधि सभा चुनाव-२०७४ मा प्रदेश ५ को राजधानी बुटवल बनाउने भन्दै चुनावी प्रतिवद्धताका साथ मत मागेका थिए । र, भारी मतले रुपन्देही क्षेत्र नं.२ बाट विजयी पनि भएका थिए । रुपन्देहीबासीको मतबाट विजयी उनी तत्कालीन एमाले र माओवादीको गठबन्धनसँगै दुई तिहाइको शक्तिशाली दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको महासचिव बन्न सफल भए ।

२०५१ सालमा मध्यावधि निर्वाचन भएपछि तत्कालीन एमाले पाल्पाबाट विष्णुप्रसाद पौडेल विजयी भएका थिए । पौडेलले २०५३ सालको चैत्र ११ गते लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठित मन्त्री परिषद्मा युवा, खेलकूद तथा संस्कृति मन्त्री हुने अवसर पाएका थिए । २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ३ बाट उनी सूर्यप्रसाद प्रधानसँग पराजित भए । २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा उनी बहुचर्चित उम्मेदवार बनेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पराजित गरेपछि उनको उचाई एक्कासी चुलिएको थियो ।

हालसम्म उनलाई कुशल राजनीतिज्ञ एवम् विकासप्रेमीका रुपमा यस क्षेत्रका नागरिकहरुले चिन्ने गर्दछन् । नेपाल सरकारको रक्षामन्त्री, जलस्रोतमन्त्री, अर्थमन्त्री भइसकेका छन् । देशकै होनाहार नेताका रुपमा परिचित विष्णु पौडेलको राजनीतिक उर्वरभूमि भने रुपन्देही हो । प्रदेश ५ मा पहाडी जिल्ला टुक्राउन हुन्न भन्ने विषयमा अग्रसर र सक्रिय भूमिका निर्वाह गरेका उनले अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्बोधन गर्दै कुनैपनि हालतमा प्रदेश राजधानी बुटवल नै बन्ने उद्घोष गरेका थिए । पार्टीका महासचिव र प्रधानमन्त्री केप ओली निकट मानिएका उनको आधार मानेर बुटवलबाट राजधानी अन्यत्र सर्दैन भन्ने कुरामा रुपन्देहीबासी विश्वस्त थिए ।

लुम्बिनी अञ्चल इन्चार्ज, संगठन विभाग प्रमुख, उप-महासचिव, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को महासचिव हुँदै अहिले पुनः अर्थमन्त्री बनेका छन् । उनी महासचिव भइरहँदा यस क्षेत्रका नागरिकहरुले बुटवलबाट राजधानी सर्ने र सार्ने कुरामा रत्तिभर कल्पना गरेका थिएनन् । धेरैले राजधानी सर्दा विष्णु पौडेलले किन मौन छन् ? फेरि उनी यस क्षेत्रबाट चुनाव लड्दैनन् ? पुनगर्ठित मन्त्रीमण्डलमा अर्थमन्त्री हुने भएर राजधानीलाई तिलाञ्जली दिएका हुन् वा मन्त्रीसँग राजधानी साटेकै हुन् उनले ? यस क्षेत्रको विकासमा उनको योगदानलाई सम्झेर र केन्द्रीय नेताको हैसियतले उनलाई पटक पटक यहाँका नागरिकहरुले मतदान गरेकै हुन् । सोही अनुसार उनले विकास निर्माणमा जोड दिएका हुन् । धेरैका वाही-वाही नेता भएकै हुन् । सबै खाले नागरिकले उनलाई मतदान गरेकै हुन् । भारी मतले उनलाई जिताएकै हुन् ।

तर, राजधानी सार्ने विषयमा सार्वजनिक प्रतिक्रिया समेत दिएनन् । उनी मौन नै बसे जतिबेला रुपन्देहीले खोज्यो त्यतिबेला उनको अवतार भएन । सधैं रुपन्देहीबासीसँग रहेको बताउने पौडेलको मौनतामा प्रतिपक्ष दलका नेता र केहि नेकपा आवद्ध नेतालेनै उनी अर्थमन्त्री पदका लागि मौन बसेको आंकलन गरिसकेका थिए । संघीय अर्थमन्त्रालय खाली रहेको र शिघ्र मन्त्रीमण्डल हेरफेर तथा पदपूर्ति गर्ने पूर्वसन्ध्यामा पेश भएको प्रदेश राजधानीको प्रस्तावमा उनी मौन हुनुले पनि रुपन्देहीबासीले उनले राजधानीसँग पद साटेको सोझै आंकलन गरेका थिए ।

पौडेलले प्रदेशको राजधानी बुटवलमा टिकाउन नसकेपछि रुपन्देही लगाएत साविकको लुम्बिनी अञ्चलमा नेकपाको विरासत गुम्ने आंकलन धेरैले गरेका छन् । राजधानीको विषयलाई लिएर नै नेकपाका सक्रिय उद्योगी दुई हजार दुई सय ५० जना सदस्यहरुले राजीनामाको घोषणा गरिसकेका छन् । विष्णु पौडेल पुनः अर्थमन्त्री भएर आएपछि यहाँका धेरैले शुभकामना दिइरहेका छन् । उनलाई गाली गर्नेहरुले समेत बधाईका ओइरो थुप्राई दिएका छन् । उनीमाथिको गाली पानीको थोपा जस्तै भएका छन् । शिथिल अर्थतन्त्र, विषम परिस्थितिका बीच अर्थमन्त्री भइरहँदा देशले आर्थिक गतिशीलता हासिल गर्न सक्ला ? विष्णु पौडेलको विष्णु अवतारले काम गर्न सक्ला ? धेरेको जिज्ञासा यहीनेर छ ।

निरन्तर बुटवल, रुपन्देहीबासीको मत प्राप्त गर्दै पद, प्रतिष्ठा र राजनीतिक उचाई हासिल गरेका पौडेल बुटवल स्थायी राजधानी बनाउने प्रविद्धतामा चुकेका छन् । तर, देशकै मेरुदण्ड मानिने अर्थात् अर्थ मन्त्रालयको जिम्मेवारीमा पुनःअवतार भएका छन् । यसबाट रुपन्देहीबासी र राष्ट्रलाई कसरी सन्तुष्ट र समृद्ध बनाउँछन्, यो उनका लागि अग्निपरीक्षा हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।