ताजा अपडेट »

बुटवलका अव्यवस्थित बस्तीमा दोस्रो चरणको नापजाँच

आइतबार, ०४ असोज २०७७, १६ : २९
6 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै अव्यवस्थित बस्तीमा दोस्रो चरणको नापजाँचको काम सुरु गरेको छ । वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको र सबै वडामा क्रमश नापजाँच गरिने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

आईतबारदेखि थप एक सय विगाहा जग्गामा नापजाँच गर्ने काम शुरू भएको छ । पहिलो चरणमा वडा नं ११ कै करिब ८० विगाहा जग्गामा नापजाँचका काम भइसकेका छन् । बुटवलका करिब १६ हजार घरधुरीहरको लगत संकलन गरिसकिएको छ । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने प्रमुख सुवेदीले बताए ।बुटवल उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले सार्वजनिक जग्गाको संरक्षणका काम पनि संगसंगै अगाडि बढाएको बताए ।

उनले १९ वटै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन गरिएको र कतिपय ठाउँमा तत्कालै संरक्षण गर्नुपर्ने भएकाले संरक्षणको काम भइरहेको दाबी गरे । वडा नं. १२ को भैरवा टोलमा यस्तै जग्गा संरक्षण गर्दै त्यहाँ नमुना ट्रान्सपोर्ट भिलेज बनाउने काम भइरहेको प्रवक्ता रेग्मीले उनले बताए । यसका साथै बुटवलमा अन्तर्राष्ट्रिय स्तरको कृषि उपज केन्द्रसमेत बन्दैछ । उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत जग्गाको वैज्ञानिक नापजाँचका लागि प्राविधिक साझेदारका रुपमा क्रिएसन एजुकेसनल एण्ड कन्स्ट्रक्सन प्रालि छनौट भएको थियो ।

सोही संस्थाले अहिले दोस्रो चरणको नापजाँचको काम भरिरहेको वडा नंं.११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखीकरण गरिएको र सर्वसम्मत रुपमा वैज्ञानिक तरिकाले काम अगाडि बढेको अध्यक्ष क्षेत्रीको भनाइ छ । नापीका क्रममा रंगशाला–मार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिएको छ भने त्यसभन्दा तलका मार्गहरूमा हाल रहेका बाटोको चौडाइअनुसार नै रहनेगरी तथ्यांक संकलन भइसकेको छ । तिनाउ–दानव नदी कोरिडोरको डीपीआर समेत बनिरहेकाले यसैका आधारमा ती क्षेत्रमा नापजाँच भइरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।