ताजा अपडेट »

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

शनिबार, ०३ असोज २०७७, १६ : ४६
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित भएका छन् । उनलाई सरकारले संविधान दिवसको अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उनी मुलुभरबाट पहिलो हुन् । बुटवल उपमहानगरपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनले २०४४ असार ७ गतेदेखि जिल्ला प्रशासशन कार्यालय मुस्ताङमा लेखापलका रुपमा सेवा प्रारम्भ गरेका थिए । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उनले धेरै जिल्लामा काम गर्दै आएका छन् ।

बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु अघि शर्मा संघीय मन्त्रालयमा थिए । त्यहाँ रहँदा उनले वातावरणको क्षेत्रमा प्रभावकारी काम गरेका थिए । ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ तयार पार्ने कामको नेतृत्व शर्माले नै गरेका थिए । यो प्रारुप हाल मुलुकका पालिकाहरुमा कार्यान्वयनमा छ । शर्माले दिगो विकासका बारेमा पनि गहिरो अध्यय्न गरेका छन् । स्वीटजरल्याण्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा उनले करिब एक वर्षको कोर्ष पूरा गरेका छन् । वातावरण, दिगो विकास र सहरी विकासका विषयमा विभिन्न देशमा तालिम तथा प्रशिक्षणसमेत लिएका थिए ।

‘यहीँ कोर्षको अध्यय्नपछि दिगो विकासका लागि वातावरणको संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका लागि वातावरणको महत्वका विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भने, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा पनि काम गर्न पाएको छु ।’ सम्मानले आफूलाई सेवाप्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको र जनप्रतिनिधि, कर्मचारीको सहकार्यमा समृद्ध बुटवल, सुखी जनताको संकल्प साकार पार्ने काममा अझ हौसला मिलेको प्रतिक्रिया दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।