ताजा अपडेट »

‘गरिबले उपचार कहिले पाउने ?’

मंगलबार, ०९ भदौ २०७७, १३ : ५१
10 Shares

दाङ । घोराही उपमहानगरपालिका-८ दुन्द्राका ३८ वर्षिय चन्द्रप्रसाद वली बोनम्यारोको समस्याले तीन वर्षदेखी विरामी छन् । निम्न वर्गीय परीवारका चन्द्रप्रसादको आर्थिक अभावका कारण उपचार सम्भव भएन । आफूसँग भएको सम्पत्ति बेचेर उपचार गराउँदा-गराउँदै हैरान भएका वलीले जीवन बचाँइदिन सञ्चार माध्यम तथा सामाजीक सञ्जालमा अनुरोध गरे । सहयोगी हातहरुको सहयोगले अहिले काठमाण्डौको सिभिल हस्पिटलमा उनको उपचार भइरहेको छ । अस्पतालमा भर्नाहुँदा विल तिर्न नसक्ने भएपछि चन्द्रप्रसाद अहिले घरमै बसेका छन् । उनकी बहिनीले सामाजीक सञ्जाल मार्फत सहयोगको अपिल गरेपछि धेरथोर रकम जम्मा भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका चन्द्रप्रसादले भारतको पञ्जावमा रहेको एक होटेलमा काम गर्थे । २०७३ सालमा कामगर्ने शिलसिलामै ग्राहकले मेवाईलमा बजाएको गीतको ठूलो आवाजले उनलाई चक्कर लाग्यो र वेहोस भए । होटलकै अर्को सहकर्मीको सहायताले उनलाई अस्पताल भर्नागरी होटेलकै मालीकले उपचार गरेको चन्द्रप्रसादले बताए ।

“पञ्जाबका विभिन्न अस्पतालमा जाँचगर्दा रोग पत्ता नलागेपछि होटल मालीकले फरिदकोट मेडिकल कलेजमा लग्यो त्यहाँ जाँच गर्दा बोनम्यारोमा समस्या देखीएकोले ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव दियो”-चन्द्रप्रसादले भने । ४९ दिन उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि २ वटा औषधि दिएर अस्पतालले विदा दियो ।

अस्पतालले विदा दिएपछि चन्द्रप्रसाद घर फर्किए । घर फर्किएपछि केही समय बस्दा स्टिम खाना खाँदा स्वास्थ्यमा केही सुधार भयो । ढाडदेखी केहितल घाँउ थियो त्यो घाउको अप्रेशन भएपछि शरीरमा केही आराम भएको महशुस गरी उनी फेरी पुरानै काममा फर्किए । २०७६ सालको असार महिनामा कोरोनाको संक्रमणका कारण गाडि रिजर्व गरी चन्द्रप्रसाद दाङ आए । १४ दिन क्वारेन्टिनमा बस्दा उनलाई फेरी समस्या देखियो । घोराहीमा रहेका अस्पतालमा उपचार गरी लकडाउनकै बीचमा उनलाई असार २४ गते काठमाण्डौको सिभिल अस्पतालमा भर्ना गरि उपचार सुरुभयो । त्यतीवेलासम्म उनको पिसावबाट रगत आउन थालीसकेको थियो ।

“डाक्टरले भारतमा जाँच गरेका सबै रीपोर्ट हेरेपनि विश्वास नगरेका कारण पुनः सबै परीक्षण गरी चन्द्रप्रसाद अहिले घरमा बसीरहेका छन् । बोनम्यारोको रीपोर्ट भदौ महिनामा आउने जानकारी पाएपछि अस्पतालमा बसीरहन पैसा भएन र घर आयौ”-चन्द्रप्रसादले भने । उनका ९ र ६ वर्षका २ छोरासहित श्रीमती छन् । “गरीव हुनु पनि पनि पिडा नै रहेछ आफूसँग उपचार गर्ने पैसा नभएपछि हामीजस्ताको उपचार कसले गरीदिने ?”-पिडाबाट भावुक हुँदै चन्द्रप्रसादले भने ।

भारतमा जाँच गर्दा बोनम्यारो प्रत्यारोपण नै अन्तीम विकल्प भएको डाक्टरले बताएका थिए । प्रत्यारोपण गर्न २५ लाख लाग्ने डाक्टरहरुको अनुमान रहेको चन्द्रप्रसादकी बहिनि सुनिताले जानकारी दिईन् । आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गर्नु परेको सुनिताले बताइन् । “अहिलेसम्म देश-विदेशमा रहेकाहरुले कुनै न कुनै माध्यमबाट सहयोग गरीरहनुभएको छ ।”-सुनिताले भनिन् ।

सबैले सहयोग गरे दाइलाई बचाउन सकिन्छ की भनेर सहयोगको याचना गर्दा अहिलेसम्म ५ लाख रुपैयाँ सहयोग मिलेको सुनिताले बताईन् । चन्द्रप्रसादको दुःख देखेर जापानमा रहेका नेपाली तथा नेपालमै रहेका सहयोगी हातहरु जुट्न थालेका छन् । गरिबले उपचार गर्न कठिन रहेको चन्द्रप्रसादले बताए । “गरिवलाई बाँच्नै गाह्रो रैछ, ठूलो रोग लागे कसरी उपचार गर्नु, कसैले सहयोग नगरे उपचार नपाएरै मर्ने हो । आफ्नो सम्पत्तीले ज्यान बचाउन सकिदोरहेन छ ।” चन्द्रप्रसादकी बहिनि सुनिताले भनिन् ।

सरकारले गरिव र असहायलाई निःशुल्क उपचारको व्यवस्था गरेको कुरा खुब सुनिन्छ तर चन्द्रप्रसादको जीवनमा भने यो सुबिधाले कतै पनि छुन सकेको छैन । असहाय वापत पाउनुपर्ने सुबिधा कसले पाइरहेको छ भन्ने कुरा उनलाई थाहा छैन । उनको समस्याबारे जिल्लाका स्वास्थ्य सरोकारवाला जानकार नै छन् तर अहिलेसम्म कसैले पनि सहयोगको प्रयाससम्म गरेका छैनन् । “आफ्ना दुःख आफैसँग छन्, दुःखी गरिवलाई कसैले हेर्ने रहेनछ, सबै हुनेका पछि लाग्छन्” वोनम्यारो पिडित चन्द्रप्रसादले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।