ताजा अपडेट »

अलमलमा शैक्षिक सत्र ०७७ र निकास

आइतबार, ०७ भदौ २०७७, १८ : ३९
24 Shares

सन् २०१९ डिसेम्बर अन्तमा चीनको हुवेई प्रान्तको उहान शहरमा देखिएको भनिएको कोरोना भाइरसको प्रभाव अब त घट्दै जान्छ कि भनेको यसको बिपरित झन् दिन दुई गुणा रात चौगुणाको हिसाबमा विश्वव्यापी महामारीको रुपमा बढ्दै गइरहेको छ । यस रोगबाट सुरक्षित रहन सामाजिक दूरी एवम् व्यक्तिगत दूरी कायम गर्नु उपयुक्त हुने विभिन्न स्वास्थ्यविद् एवम् विश्व स्वास्थ्य संगठनले समेत सुझाएको अवस्था छ । कोरोना संक्रमणको प्रभाव न्यूनीकरण एवम् रोकथामका लागि २०७६ चैत्र ११ देखि साउन ७ गतेसम्म हाम्रो देश बन्दाबन्दी को अवस्थामा रह्यो । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत्र ५ सम्ममा सम्पन्न गर्न शिक्षा मन्त्रालयले सबै विद्यालयहरुमा निर्देशन गरेकोमा प्रायः सबै विद्यालयहरुले परीक्षा सम्पन्न गरे भने कतिपय विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिन नभ्याएको खबर पनि सञ्चार माध्यममा आए ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा २०७६ चैत्र ६ देखि निर्धारण गरिएकोमा स्थगित भयो र परीक्षा सञ्चालन गर्न असम्भवप्रायः देखिएपछि नतिजाको लागि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणिकरण गर्नेगरी निर्णय भइ सोही अनुरुप कार्यान्यवन भई नतिजा प्रकाशित भइसकेको अवस्था छ । त्यसैगरी कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणिकरण गर्ने तयारी भएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा बिभिन्न पाँच ओटा मोडालिटीहरु छलफलमा आएको खबर छ। कोरोनाको कारण विश्वविद्यालय तहका सबै परीक्षा समेत प्रभावित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रास दिनप्रतिदिन बढ्दो छ । दिनहुँ संक्रमितको संख्या वढिरहेको छ । जसको कारण नेपालमा चालिस जिल्लामा निषेधाज्ञा जारी छ ।

विश्वव्यापी रुपमा यसको संक्रमण फैलिने क्रम बढ्दो छ । खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा त झन् कहाली लाग्दो गरी कोरोना संक्रमण बढिरहेको छ । सिमामा आउजाउ रोक्न सहज नभएको कुरा रातिको खुला आकाशमा देखिने तारा जस्तै छर्लंग छ । कोरोना संक्रमण फैलने प्रवृत्ति भयावह खालको छ । नयाँ भाइरसको रुपमा देखापरेको यस कोरोना भाइरसको संक्रमण रोक्ने उपचार पद्धति र औषधि पत्ता लागिसकेको कुरा यदाकदा सामाजिक संजालहरुमा आएपनि यो निराधार छ । अहिलेसम्म कुनै पनि देशले यसको ओखतीमूलो पत्ता लगाउन सकेको छैन । यद्दपि केहि विकसित देशहरु र विश्व स्वास्थ्य संघठन स्वयम् कोरोना बिरुद्धको भ्याक्सिन तथा औषधि पत्ता लगाउने काममा दिनरात लागिपरेको देखिन्छ । अहिलेसम्मको अभ्यासमा सामान्य रुपमा शरीरमा रोग प्रतिरोध क्षमता वृद्धि गरी भाइरसलाई पराजित गर्नु वा भाइरसबाट संक्रमण हुन नदिनु नै मुख्य उपचार पद्धतीको रुपमा लिइएको छ ।

यस्तो अवस्थामा हाम्रो मुलुक नेपाल कोरोना भाइरसले भयाबह स्थिति ल्याउने पो होकि भन्ने चिन्ता आम जनमानसमा बढिरहेको छ । कोरोनाका कारण प्राय सबै देशका हरेक क्षेत्रहरु विक्षिप्त छन् । यस मानेमा नेपाल पनि अछुतो रहन सकेन । देशका हरेक क्षेत्रसँग सम्बन्धित पेशा , व्यवसाय नराम्रोसंग थालिएका छन् । नेपालको सन्दर्भमा कुरा गर्दा तुलनात्मक रुपमा सार्वजनिक यातायात र शैक्षिक संस्थाहरु सबै भन्दा बढी प्रभावित भएको पाइन्छ । शिक्षा नियमावली वमोजिम बैशाख १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र शुरु हुने व्यवस्था छ । विश्वविद्यालय तहका पनि आ आफ्नै निर्धारित क्यालेण्डर छन् । कोरोना महामारीको फैलँदो संक्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन एवम् शिक्षण कार्य सञ्चालन सम्बन्धमा विभिन्न वहस र छलफलहरु भइरहेका छन् । शैक्षिक सत्र बैशाख १ भन्दा पछि लैजान मिल्ने वा नमिल्ने ?

यस महामारीको अवस्थामा शिक्षण सिकाई कार्य कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने विभिन्न विचारहरु सतहमा देखापरेका छन् । तर, यी बिचारहरु, छलफलहरु गहिराहीमा भएका छैनन् जसको कारण शैक्षिक सत्र ०७७ अलमलमा छ । अन्यौलमा छ । सरकार एकातिर यो शैक्षिक सत्रलाई कुनै पनि हालतमा खेर जान नदिने कुरा गरिरहेको छ भने अर्कोतिर शैक्षिक सत्रलाई अगाडि बढाउने सन्दर्भमा कार्यविधि ल्याउनु त कता हो कता यस सम्बन्धी चासोसम्म दिएको छैन । यो शैक्षिक सत्रको चार महिना यत्तिकै बितिसक्यो । यो अबधिमा निजी विद्यालयहरुले अनलाइन कक्षा चलाइरहेका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सनले असारभर १ महिना टेलिभिजनबाट कक्षा सञ्चालन गर्याे ।

सरकारले आफ्नो मागलाई उपेक्षा गरेको भन्दै बिरोध स्वरूप साउन १ बाट उक्त कक्षाहरु केहि दिन बन्दगरी पुन: संचालन गरी भाद्र महिनाबाट बन्द गरेको छ । सरकारले खासगरी सरकारी विद्यालयहरुलाई केन्द्रित गरी रेडियो, टेलिभिजनबाट बैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएको छ । स्थानीय निकायहरुले पनि फाट्टफुट्ट रेडियो, टेलिभिजनबाट वैकल्पिक कक्षाहरु संचालन गरेको पाइन्छ । समग्रमा यी वैकल्पिक कक्षाहरु प्रभाबकारी पाइएका छैनन् किनभने एकातिर यी कक्षाहरुमा पचास प्रतिशत विद्यार्थी पनि सहभागी छैनन् भने अर्कोतिर यी कक्षाहरु अनौपचारिक तवरले संचालन गरिएकोले विद्यार्थी तथा अभिभावकले पनि खासै महत्व दिएका छैनन् ।

त्यसैगरी हामीमा शिक्षक¸पाठ्यपुस्तक र विद्यार्थीको त्रीकोणीय भौतिक सम्पर्कमा मात्र सिकाई हुनसक्छ भन्ने मनोविज्ञान विद्यमान छ । जसको कारण अहिले बालबालिका वास्तविक सिकाईमा छैनन् भन्ने आम वुझाई छ । हाम्रो बुझाई अनुसार सिकाई हुन तत्काल कुनै पनि कोणबाट सम्भव छैन । हामीले यो भन्दा अरु सिकाइका विधिहरु अपनाएनौ किनकि हामीलाई अहिलेसम्म अरु वैकल्पिक विधिहरु अपनाउनु पर्ने अवस्था आएन । तर, अब हाम्रो सामू सिकाइको उचित बैकल्पिक विधि अपनाउनुपर्ने बाध्यात्मक परिस्थिति आएको छ ।

विद्यालय र कलेज अनिश्चितकालीन बन्द घोषणा गरेको अहिलेको अवस्थामा यदि सरकारले भन्दै आएजस्तै यो शैक्षिक सत्रलाई खेर जान नदिने हो भने ठाउँ अनुसार, भूगोल अनुसार शिक्षण सिकाइका उपयुक्त बैकल्पिक बिधिहरु तत्काल अपनाई कार्यान्वयन गर्ने बेला आएको छ । यस मानेमा खासगरी शिक्षा मन्त्रालय गम्भीर हुन जरुरी छ । वास्तवमा अहिलेसम्म शिक्षा मन्त्रालयले शैक्षिक सत्र ०७७ सम्बन्धमा एउटा उपयुक्त प्रारूप ल्याइसक्नुपर्ने थियो तर, बिडम्बना त्यो अहिलेसम्म आउन सकेको छैन । जसको कारण विद्यालयर कलेज कहिले खुल्ने, पढाइ कहिले शुरु हुने, परीक्षा कहिले हुने, नतिजा कहिले हुने, माथिल्लो कक्षामा कहिले पढ्न पाउने भन्ने कुरामा अन्योल छ । विद्यार्थी तथा अभिभावकहरु आखिर यो शैक्षिक सत्र यत्तिकै खेर जाने त होइन भन्ने बिषयमा चिन्तित छन् ।

त्यसैले शिक्षा मन्त्रालयले ढिला नगरी छिटो भन्दा छिटो यस बारेमा उचित सम्बोधन गर्नुपर्दछ । कोरोना संक्रमणका कारण व्यक्तिगत¸ सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले तत्काल विद्यालयरकलेज खुल्न सक्ने सम्भावना न्युन छ । त्यसैले विद्यालय बाहिर हुन सक्ने बिभिन्न बैकल्पिक बिधिहरुर उपायहरु अबलम्बन गर्न जरुरी छ ।यो महामारीको समयमा अलमलमा परेको शैक्षिक सत्रलाई निकास दिनको लागि नेपाल सरकार शिक्षा मन्त्रालयले निम्न कार्यहरु गर्दा राम्रो हुने देखिन्छ ।

१. सर्बप्रथम सम्भव भएसम्म सामाजिक दुरी कायम गरेर विद्यालयमा गई नभए टेलिफोन वा अनलाइन मार्फत विद्यार्थी भर्ना प्रक्रिया सम्पन्न गर्नुपर्दछ । यसले विद्यार्थीको मनमा म फलानो कक्षाको विद्यार्थी हुँ, अब पढ्नु पर्दछ भन्ने सकारात्मक मनोवैज्ञानिक असर पार्दछ ।

२. भर्ना पश्चात् प्रत्येक विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्दछ ।

३. अहिले अभ्यासमा आएका बैकल्पिक शैक्षिक कार्यक्रमहरु (रेडियो , टेलिभिजन , अनलाइन ) जसबाट अभिभावक तथा विद्यार्थी लाभान्वित हुनुको साथै शिक्षकहरु सक्रिय भएका छन् यिनलाई बैधानिकता प्रदान गर्नुपर्दछ ।

४. बैकल्पिक शैक्षिक कार्यक्रमहरु (रेडियो , टेलिभिजन , अनलाइन ) सबै विद्यार्थीको पहुँचमा छैन । त्यसैले यी कार्यक्रमहरुलाई व्यापक बनाउंदै श्रब्य , दृश्य, श्रब्यदृश्य सामग्रीहरु बढी भन्दा बढी उत्पादन , प्रसारण तथा वितरणको ब्यवस्था मिलाई सबै विद्यार्थीहरुको पहुँचमा पुराउनु पर्दछ । शिक्षकहरुलाई पनि यस्ता शैक्षिक कार्यक्रमहरु सम्बन्धी क्षमता विस्तार गर्ने खालका तालिम प्रदान गर्नुपर्दछ ।

५. यिनै बैकल्पिक कार्यक्रमबाट नै विद्यार्थीको सिकाइ स्तर मुल्यांकन गर्नुपर्दछ । यसो गरियो भने मात्र शिक्षण सिकाइ कार्यक्रम प्रभावकारी हुन्छ ।

६. निजी विद्यालयको हकमा वैकल्पिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गरे बापत विद्यार्थीबाट विद्यालयले लिन पाउने गरी नेपाल सरकारले उचित शुल्क तोकिदिनु पर्दछ . जसले निजी विद्यालय संचालनमा केहि टेवा पुग्दछ ।

७. यी बैकल्पिक कार्यक्रमको पहुँचमा नभएका विद्यार्थीहरुलाई उच्च सतर्कताका साथ विद्यालयमै अध्यापन गर्नुपर्दछ ।

यहाँ उल्लेख गरिएका बिकल्प बाहेकका अरु बिभिन्न विकल्पहरु र उपायहरु पनि पक्कै छन् तर पनि यी उपायहरु अबलम्बन गरियो भने अल्मलिएको शैक्षिक सत्रले निकास पाउने छ । पक्कैपनि विषम परिस्थितिमा शिक्षण सिकाई क्रियाकलाप सामान्य रुपमा चलाउन सकिदैंन । यो यथार्थलाई हृदयंगम गरी शिक्षा मन्त्रालयले विज्ञहरुसंग वैकल्पिक शैक्षिक कार्यक्रमको बारेमा घनिभूत छलफल गर्दै उचित सल्लाह लिई कोरोना कहर रहँदासम्म शिक्षक, विद्यार्थी, अभिभावक, निजी तथा सरकारी विद्यालय सबैलाई स्वीकार्य हुने, सहज हुने खालका शैक्षिक कार्यक्रमहरु समावेश गरी शैक्षिक सत्र ०७७ सम्बन्धी स्पष्ट खाका ल्याई तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ र यो आजको आवश्यकता हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।