ताजा अपडेट »

भुक्तानी नपाएको भन्दै डायलासिस सेवा बन्द गर्दै मुटु अस्पताल

बुधबार, २१ जेठ २०७७, १८ : १५
12 Shares

बुटवल । प्रदेश ५ को राजधानी बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले बिरामीहरुको डायलासिस गरेवापतको भुक्तानी नपाएको भन्दै आगामी असार १ गतेदेखि डायलासिस सेवा बन्द गर्ने जनाएको छ ।अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । सरकारले विपन्न वर्गका मृगौला रोगीहरुलाई प्रदान गर्ने निःशुल्क डायलासिस सेवावापत सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको बताउँदै जेठ मसान्तसम्म पूरै भुक्तानी नभए असार १ गतेदेखि सो सेवा बन्द गर्न बाध्य हुने अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

गत साउनदेखिको करिब ८ करोड भुक्तानी बाँकी रहँदा आवश्यक सामग्री खरिद गर्न नसक्ने अवस्थामा अस्पताल पुगेको हुँदा समयमा नै सरकार र सरोकारवालाले सो रकम भुक्तानी नगरे असार १ गतेदेखि सम्पूर्ण बिरामीको डायलासिस सेवा बन्द हुने अध्यक्ष आलमले बताए । साढे तीन सय जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले लामो समयसम्म पनि भुक्तानी नपाउँदा अस्पतालनै संकटमा परेको बताउँदै पटक–पटक सरकार र सम्बद्ध निकायमा जानकारी गराउँदा पनि समाधान नभएपछि सेवा बन्द गर्ने अवस्थामा पुगेको आलमले बताए । उनले भने ‘विगतका वर्षहरुमा केहि ढिलाई भएपनि भुक्तानी हुन्थ्यो । अहिले नविकरणको विषयलाई लिएर भुक्तानी भएको छैन । प्रदेश र संघीय सरकारमा कसले नविकरण गर्ने भन्ने स्पष्ट र अन्तिम व्यवस्था नहुँदा हामीले भुक्तानी पाउन सकेका छैनौं ।’

वि.सं.२०७० सालमा स्थापना भएको सो अस्पताल वि.सं.२०७३ मा सूचिकृत भई सरकारले तोकेअनुसार विपन्न वर्गका २६३ नागरिकहरुलाई डायलासिस सेवा दिँदै आएको छ । ११ महिना बित्दापनि विपन्नको उपचार गरेवापत सरकारले तिर्नुपर्ने ७ करोड ७५ लाख रकम अस्पताललाई भुक्तानी नभएको अध्यक्ष आलमले बताए । कोरोना र यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि अस्पतालले सेवा दिँदै आएकोमा हाल समयमै रकम भुक्तानी नहुँदा सप्लायर्सहरुले डायलासिसका लागि आवश्यक डाइलाइजर,फ्लड,हेपारिन,ट्यब,फिस्टुला लगाएतका सामग्री उपलब्ध गराउन बन्द भएको र अस्पतालमा मौज्दात नरहेको हुनाले बाध्य भएर असारदेखि सो सेवा बन्द गर्न लागिएको अध्यक्ष आलमले बताए ।

सरकारले ९ वर्ष अगाडि तोकेको प्रतिव्यक्ति रु.२५ सयका दर अहिलेको अवस्थामा डायलासिस गर्दै आएपनि उल्टै समयमा भुक्तानी नहुँदा आफूहरु थप मर्कामा परेको बताउँदै निःशुल्क डायलासिस सेवा बन्द गर्नुपर्ने अवस्थामा अस्पताल पुगेको उनले बताए । सो सेवा बन्द हुँदा बिरामीहरुमा पर्ने असरप्रति आफूहरु दुखी बनेको बताउँदै समयमा नै सरोकारवालालाई सजग बन्न अध्यक्ष आलमले आग्रह गरे । अस्पतालले हाल बुटवलमा २० , दाङको लमहीमा १०,पाल्पाको तानसेनमा १० वटा गरी ४० वटा मेशिनमार्फत नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ । प्रदेश ५ मा निजी,सामुदायिक र सरकारी गरी १२ वटा अस्पतालमा डायलासिस सेवा रहेका छन् भने करिब ६ सय मृगौला रोगी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।