ताजा अपडेट »

'होम क्वारेन्टाइन र सेल्फ आइसोलेसनलाई प्राथमिकता दिनुपर्छ'

मंगलबार, १३ जेठ २०७७, १५ : ०३
14 Shares

भारतबाट दैनिक दशौँ हजारको संख्यामा विभिन्न नाकाबाट नेपालीहरु समुह समुहमा नेपालभित्र प्रवेश गरिरहेका छन् | हाम्रो क्षमता हुन्थ्यो भने ती सबैलाई PCR परीक्षण गरेर कोरोना संक्रमण पोजिटिभलाई आइसोलेसनमा राखेर तथा नेगेटिभलाई सिधै गाउँ गएर त्यहाँको क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दा सुरक्षित हुने थियो |

अहिले उनीहरुलाई सिधै आफ्नो थातथलोमा पठाउने काम भइरहेको छ । उनीहरुलाई राख्नको लागि गाउँगाउँमा क्वारेन्टाइन केन्द्रको निर्माण गर्ने काम भइरहेको छ । अमेरिका लगायत विश्वका धेरै देशमा सरकारले क्वारेन्टाइन केन्द्र बनाएर राख्दैन । धेरै देशहरुमा २ हप्ता होटेलमा बस्नुपर्ने नियम समेत छ । हाम्रो देशमा बाहिरबाट आएका सबैलाई क्वारेन्टाइन केन्द्रमा राख्ने तथा कोरोना संक्रमण पोजिटिभ देखिनेबित्त्तिकै अस्पताल भर्ना गर्ने जुन परम्परा छ, त्यसलाई बदल्नु जरुरी छ । संक्रमितको संख्या बढेसंगै यो सिस्टम स्वत: अपनाउनुपर्ने हुन्छ

१. बाहिरबाट आएका व्यक्तिलाई परीक्षण गरेर पोजिटिभ देखिएमा क्वारेन्टाइन, होटेल वा उसको घरमा राख्ने । कोभिड पोजिटिभ देख्दैमा अस्पातल भर्ना गर्नुपर्छ भन्ने छैन । उसले आइसोलेसनको नियम अनिबार्य पालना गर्नुपर्ने, त्यसको अनुगमन गर्ने, पालना नगरेमा कडा सजाय गर्ने, सामान्य लक्षण जस्तै ज्वरो, खोकी तथा थकाइ देखिएमा लाक्षणिक उपचार गर्ने, पोषिलो खाना खाने, योग / व्यायाम गर्ने र ३ हप्ता यसरी बिताउने, त्यसपछि टेस्ट गर्दा लगातार २ पटक नेगेटिभ देखिए आफ्नो घरमा आराम गरेर बस्ने, यदि गम्भीर लक्षण देखियो भने स्थानीय निकायसंग समन्वय गरेर सम्पूर्ण सुबिधा भएको कोरोना डेडिकेटेड हस्पिटलमा जाने, त्यहाँ आबश्यकता अनुसारको सामान्य उपचार, आइसीयु, भेन्टिलेटर आदिद्वारा उपचार हुन्छ ।

२. बाहिरबाट आएका व्यक्तिलाई जांच गर्दा कोरोना संक्रमण नेगेटिभ देखिए उसलाई आफ्नो घरमा पठाउने, घरमा उ सेल्फ क्वारेन्टाइनमा बसेर थप सुरक्षित हुने तथा कारणबश संक्रमण देखिएमा अरु व्यक्तिलाई सर्नबाट रोकथाम हुन्छ |

३. हाम्रा अधिकांश क्वारेन्टाइन WHO तथा नेपाल सरकारले बनाएका मापदण्ड अनुसार छैनन् | ती क्वारेन्टाइनमा बस्दा असुविधा हुने, अरुको संक्रमण सर्न सक्ने तथा प्राथमिक उपचार पनि नपाउने अवस्थाका छन् । सेल्फ क्वारेन्टाइन / होम क्वारेन्टाइनलाई प्राथमिकता दिने हो भने व्यक्ति आफ्नो घरमा आरामले बस्न पाउँछ, पोषिलो खाना तथा पानी नियमित पाउँछ, घरायसी बाताबरणले उसको मनोबल बढ्छ तथा उसलाई बिरामी भएको अनुभूति हुँदैन । उसले पारिवारिक सदस्यसंग ६ फिटको दुरी कायम गर्ने, आफ्ना कपडा, भाँडा तथा व्यक्तिगत सामान अरुलाई सेयर नगर्ने, सौचालय सिंगल भए राम्रो तर सामुहिक छ भने त्यसलाई राम्रोसंग सफा गर्ने, अरु व्यक्तिलाई भेटघाट नगर्ने आदि गर्दा राज्य एबम संक्रमित दुवै पक्षलाई ठूलो राहत मिल्छ । जसको घरमा दुरी कायम गरेर बस्ने अवस्था छैन भने उसलाई होटेल वा सामुदायिक भवनमा सुबिधायुक्त वातावरण सिर्जना गरेर राख्न सकिन्छ ।

४. कोरोना संक्रमण लामो समय जान सक्ने भएकोले राज्यले दुरदृष्टि राखेर यी तौर/तरिकालाई थप सुदृढ र व्यवस्थित बनाउनु जरुरी छ ।

५. हालका क्वारेन्टाइन केन्द्रमा सामाजिक दुरी कायम नभएको, भेन्टिलेसन तथा पंखाको व्यवस्था नभएको, पर्याप्त सौचालय नभएको, मेस तथा खाना खाने ठाउँमा निर्मलीकरण नभएको, मास्क / पंजा लगायत प्रयोग गरिएका फोहोर डिस्पोज गर्ने ब्यबस्था नभएको, नुहाउने / कपडा धुने ठाउँ सिमित भएको, प्राथमिक उपचारको लागि औषधि तथा स्वास्थ्यकर्मी नभएको, बिरामी हुँदा एम्बुलेन्सको प्रयोग सुगम नभएको लगायत धेरै असुविधा भएको भुक्तभोगीहरुले बताएका छन् । स्थानीय निकाय तथा प्रदेश सरकारले यसलाई ब्यबस्थित गर्नु जरुरी छ, व्यवस्थित नगर्दा हाम्रा क्वारेन्टाइन रोग सार्ने गृहको रुपमा परिणत भइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।