ताजा अपडेट »

कोभिड–१९ का लागि सेल्फ क्वारेन्टाइन

विहीबार, ०४ बैशाख २०७७, १७ : ३१
6 Shares

विश्व अहिले महामारीको चपेटामा परेको छ । चीनबाट सुरु भएको कोभिड–१९ ( कोरोना भाइरस डिजिज) अहिले यूरोपी मुलुक इटाली, स्पेन,जर्मन,फ्रान्समा र संयुक्त राज्य अमेरिकामा ठूलो क्षति गरीसकेको छ । हालसम्म नेपाल लगाएत विश्वको २०० भन्दा बढी देशमा संक्रमण फैलिसकेको छ । बीस लाखको हाराहारी मानिसमा संक्रमण फैलिएको छ र एक लाख बीस हजार जनाको मृत्यु भइसकेको छ । यसको फैलावटलाई नियन्त्रण गर्नका लागि मानिस मानिसको दूरी बढाउनका लागि अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् ।

नेपालमा पनि चैत्र ११ गते देखि लगातार लकडाउनमा छ । नेपाल सरकारले लकडाउन अगाडि नेपाल प्रवेश गरेका सम्पूर्ण नेपालीलाई क्वारेनटाइनमा रहनको लागि निर्देशन समेत गरिसको छ र सोही अनुसार अहिले क्वारेनटाइन भई रहेको छ।अहिले प्रचलित रहेको शब्द क्वारेनटाइन र आइसोलेशन बारे जो कोही पनि झुक्किरहेको हुन्छ । क्वारेनटाइन संक्रमक रोगसँग सम्पर्कमा आएका व्यक्ति छुटिएर अलग्गै बस्ने,आइसोलेशन संक्रमण भएको व्यक्ति संक्रमण नभएको व्यक्तिवाट छुट्टिएर बस्ने हो । क्वारेनटाइनमा जाने वा बस्नेभन्दा सुन्दा डर लाग्न सक्छ तर, यो संक्रमक रोगबाट आफू बच्न र अरुलाई बचाउने सामान्य प्रक्रिया हो । कोभिड–१९को हकमा प्रभावित देशबाट नेपाल प्रवेश गरेका सम्पूर्ण नेपालीलाई क्वारेनटाइन बस्नुपर्ने व्यवस्था छ ।

यदी तपाइँहरु कोभिड प्रभावित क्षेत्रवाट आउनु भएको छ भने सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ वा जनसमुदायवाट टाढा हुनुपर्ने हुन्छ । यसका निम्ति तपाईँ क्वारेनटाइनमा बस्नु अपरिहार्य हुन्छ। कोभिड–१९को हकमा यसको इन्कुवेशन समय वा वोथारो समय २–१४ दिनको हुने भएका कारणले गर्दा भाइरसको सम्पर्कमा आएको २–१४ दिनमा लक्षण देखाउछ । तसर्थ १४ दिन सम्म क्वारेनटाइनमा बस्नुपर्छ । यसो गर्दा यदी कोही संक्रमित भएको छ भने संक्रमण अन्य व्यक्तिलाई फैलिन पाउँदैन । क्वारेनटाइनमा बस्दा नजिकको डाक्टर, साथिभाइहरु र माया गर्ने मानिसहरुको सम्पर्कमा बस्नुपर्छ । यसोगर्दा तनाव कम गर्न र अत्यासपनलाई न्यूनिकरण गर्न सहयोग गर्छ ।

रोगी व्यक्तिको सम्पर्कमा आउँदा सेल्फ–क्वारेनटाइन

यदी कोही संक्रमित व्यक्तिको नजिकमा आएको छ भने सेल्फ(क्वारेनटीनमा बस्नु पर्ने हुन्छ । यसो गर्दा आफु र अन्य व्यक्तिलाई रोगको संक्रमण हुनवाट बचाउन सकिन्छ । यदी कोही रोग फैलिरहेको ठाउँमा रोगी व्यक्तिको सम्पर्कमा आएको छ भने नजिकको स्वस्थ केन्द्रमा वा कोरोना बिशेष अन्पतालमा सम्पर्क गर्नु पर्छ । भाइरस शरीरमा प्रवेश गरेको खण्डमा केही समय पश्चात लक्षणहरु देखा पर्न थाल्छ । उक्त अवस्थामा स्वस्थ्यकर्मीको सल्लाह लिनुपर्छ । बिभिन्न अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेको छ । फिबर क्लिनिकमा जाँच गराइसकेपछि स्वस्थकर्मीले मेडिकल इभालुुएशन र परीक्षण गर्छन् र अब के गर्ने सल्लाह दिन्छन् । स्वस्थकर्मीसँग परीक्षणमा जाँदा विशेष ध्यान दिनुपर्छ । मास्क लगाएर गएको खण्डमा भाइरस फैलिन पाउँदैन । स्वस्थकर्मीले आवश्यक लागेको अवस्थामा टेस्टमा लैजाने निर्णय गर्न सक्छन् । यसको इन्कुवेशन पिरिएड १४ दिनसम्म भएको कारणले गर्दा कम्तिमा पनि १४ दिन सम्म घरमा बस्नु पर्छ ।

सेल्फक्वारेनटाइनमा बस्दा अन्य व्यक्तिसँगको सम्पर्कमा आउनु हुँदैन । आफूलाई अन्य व्यक्तिबाट अलग राख्दा अन्य व्यक्तिलाई रोग सर्ने सम्भावना हुँदैन । क्वारेनटाइनमा बस्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।
# सकभर एउटा कोठामा एक जना मात्र बस्नु पर्छ । यदी सम्भव नभएको खण्डमा निश्चित दूरी कायम गरेर मात्र एउटा कोठामा बस्नुपर्छ । सम्भव भएसम्म घरका अन्य सदस्यसँग सौचालय र स्नान गृह साझेदारी गर्नु हुँदैन ।
# घरमा समान डेलीभरी गरेर ल्याएको छ भने ल्याउने व्यक्तिलाई ढोकामा राख्न लगाउनुपर्छ ।
# क्वारेनटाइनको समयमा मास्कको प्रयोग गर्दा संक्रमण भएको खण्डमा भाइरसलाई फैलिनेवाट रोक्न सकिन्छ सर्जिकल मास्क र ल्ढछ मास्क नभएको खण्डमा साधारण मास्क भए पनि प्रयोग गर्नु पर्छ । यसले भाइरसवाट पूर्ण रोकथाम गर्न नसके पनि ड्रपवाट रोकथाम गर्ने गर्छ

सेल्फक्वारेनटाइनमा बस्दा नियमित रुपमा साबुन पानीले हात धुनुपर्छ । २० सेकेन्डसम्म हात धुँदा रोग फैलिन दिँदैन । पानी प्रयाप्त नभएको ठाउँमा ह्याण्ड सेनीटाइजरको प्रयोग गर्न सकिन्छ । सम्पर्कमा आएका कुनैबस्तु उपकरण वा सतहलाई दैनिक रुपमा निसंक्रमण ( Disinfection) गर्नु पर्छ ढोकाको नब, टेबलको माथिल्लो सतह, बिजुलीको स्विच, ट्वाइलेटको सिटलाई नियमित रुपमा निसंक्रमण गर्नुपर्छ । मुख भित्र प्रयोग हुने कुनै पनि बस्तु जस्तै भाडा, चम्चा, थर्मोमिटरलाई निर्मलीकरण गर्नुपर्छ ।

सेल्फक्वारेटाइनमा बस्दा डरलाग्ने तनाव हुने सामान्य रुपमा देखा पर्ने गर्छ । डराउने, दुःखी हुने, एक्लोपनको अनुभव हुने, रिस उठ्ने सामान्य रुपमा देखा पर्ने गर्छ । तर, यस्तो समयमा संयम हुनुपर्छ र अतालिनु हुँदैन यस्तो समयमा परिवार, साथीभाई, र माया गर्ने मान्छेको नियमित सम्पर्कमा रहनु पर्छ । एक्लो भएमा मानसिक समस्या अझ देखिन सक्छ । तनाव न्यूनिकरणका लागि आफूलाई मन पर्ने क्रियाकलाप र सृजनात्मक काममा संलग्न हुनु पर्छ । जस्तै टिभी हेर्ने, मूभी हेर्ने, पुस्तक पढ्ने, योगा गर्ने, गर्नुपर्छ । यसले तनाव कम गर्न सहयोग गर्छ ।

कतिपय ठाउँमा मासुजन्य प्रदार्थ खान हुँदैन भन्ने समाचार पनि आएको पाइन्छ । तर, रोग लाग्नमा पशु र पंक्षीको कुनै पनि भूमिका हालसम्म फेला परेको छैन । विश्व स्वस्थ संगठनले समेत रोग प्रतिरोधी क्षमता विकास गर्नका लागि दुध तथा दुधजन्य प्रदार्थ र मासुजन्य पदार्थ नियमित सेवन गर्न सुझाएको छ । सोही अनुसार दुध तथा दुग्धजन्य पदार्थ र मासुजन्य पदार्थ नियमित रुपमा सेवन गर्नुपर्छ ।

सेल्फक्वारेनटाइनमा बस्दा नियमित रुपमा शारिरिक अवस्थाको मूल्यांकन गर्नु पर्छ । नियमित रुपमा शारिरको तापक्रम मापन गर्नुपर्छ । केहि भिन्नता भएको अवस्थामा तुरुन्त नजिकको स्वस्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ । संक्रमण भएको अवस्थामा १४ दिनसम्म लक्षणहरु देखा पर्न सक्छ । ज्वरो आउने, लगातार सुख्खा खोकी लाग्ने, सास फेर्न गार्हो हुने जस्ता लक्षणहरू देखा पर्यो भने तुरुन्त स्वस्थकर्मीलाई सम्पर्क गर्नु पर्छ र स्वस्थकर्मीको सल्लाह लिनु पर्छ ।

कोभिड–१९ को रोकथामका लागि निम्न उपाय अपनाउने :


१.सामाजिक दूरी कायम गर्ने
सामाजिक दूरी कायम गर्न कम्तीमा ३ फिट ( १ मिटर) को दूरी कायम गर्ने । धेरै जसो संक्रामक रोगहरु प्रत्यक्ष सम्पर्क नहुँदापनि संक्रमित मानिसवाट सजिलै सर्ने गर्छ । संक्रमित व्यक्तिले खोक्दा वा छिक्दा निस्किने ड्रपलेट वा थोपाले छ फिट सम्म संक्रमण गर्न सक्छ । यदी तपाइँहरु ज्वरोको लक्षणहरु देखा परेका, खोकी लागेको व्यक्तिको नजिक हुनुहुन्छ भने कम्तिमा पनि ३ फिट दूरी कायम गर्नुपर्छ । Centre for Disease Control CDC को अध्ययन अनुसार कोरोना भाइरस दुई मिटर अर्थात ६ फिट परसम्म संक्रमण गर्न सक्छ । तसर्थ सामाजिक दूरी कायम गर्दा भाइरस सर्नबाट रोक्न सकिन्छ

२. सार्वजनिक ठाउँमा जाँदा नियमित रुपमा हात धुने :
कोरोना भाइरसको संक्रमणवाट बच्न सबैभन्दा सजिलो र उपयुक्त माध्यम नियमित रुपमा हात धुनु हो । यदी तपाई सार्वजनिक ठाउँवाट वा सम्भाव्य संक्रमित ठाउँवाट फर्किनु भएको छ भने कम्तिमा पनि २० सेकेन्डसम्म नियमित रुपमा हात धुनुपर्छ । हात धुँदा विश्व स्वस्थ्य संगठनले निर्देश गरेको तरिका अपनाउँदा औँला, हत्केला, हातको पछाडीको भाग, नाडी सजिलै सफा गर्न सकिन्छ । हात धुँदा ह्याण्ड वास वा साबुन प्रयोग गर्न सकिन्छ यदी पानी उपलब्ध छैन भने ह्याण्ड सेनीटाइजर प्रयोग गर्नुपर्छ । ढोकाको नब, रेलिन, बिजुली बत्तिको सुइच प्रयोग गरी सके पछि अनिवार्य हात धुनुपर्छ । हात नधोई खाना, अनुहार, मुख, नाक छुनु हुँदैन । पानी प्रयाप्त नभएको अवस्थामा अल्कोहल बेस ह्याण्ड सेनिटाइजरको प्रयोग गर्नुपर्छ । ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धुनु पर्छ वा ह्याण्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

३. हातलाई सकभर अनुहार छुनबाट टाढा राख्ने :
धेरैजसो सूक्ष्म जीवहरु म्यूकस मेम्ब्रेन, आँखा, नाक र मुखवाट शरीरमा प्रवेश गर्छन् । यसको रोकथामका लागि सम्भव भएसम्म अनुहारमा छुनु हुँदैन । अनुहार छुनुभन्दा अगाडि हातलाई राम्रोसँग साबुन पानीले धुनुपर्छ । हात धुन सम्भव नभएको खण्डमा अनुहार पुछ्न, कोतार्न परेको खण्डमा टिस्यूपेपर प्रयोग गर्न सकिन्छ ।

४. खोक्दा वा हाँच्छ्यूू गर्दा मुख र नाकलाई छोप्ने :
खोक्दा वा हाँच्छ्यू गर्दा मुख छोप्नु पर्छ । टिस्यू पेपर उपाल्ब्ध छ भने टिस्यू पेपर प्रयोग गर्नुपर्छ । प्रयोग गरीसकेपछि उक्त पेपरलाई उचित व्यावस्थापन गर्नु पर्छ र हात साबुन पानीले धुनुपर्छ वा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

५. रोग–प्रतिरोध क्षमता विकासका लागि दुध तथा दुग्धजन्य पदार्थ र मासुजन्य पदार्थ नियमित सेवन गर्नुपर्छ ।

६. भिडभाडको क्षेत्रमा नजाने :
घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाउनु पर्छ । भिडभाडमा रोग फैलिने दर धेरै भएका कारणले आवश्यक भएको अवस्था बाहेक अन्य अवस्था मा भिड भाड सरिक हुनु हुँदैन । -यूनिभर्सल मेडिकल कलेज अफ भैरहवाकी नर्सिङ्ग अफिसर पुष्पा काफ्लेको सहयोगमा पशु चिकित्सक डा :घिमिरेले तयार पारेको सामग्री ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।