ताजा अपडेट »

जन्तरेको जन्मदिन

शुक्रबार, २१ चैत्र २०७६, १७ : ३७
92 Shares

एउटा पात्रको संघर्षशील जीवन र भोगाई


जन्तरे नाटकको पात्र थियो । ऊ छोटो कदको र चिटिक्क परेको लोर्के थियो । गाउँमा उसलाई धेरैले झिल्के हिरो भन्थे । पहाड घर उसको प्युठानको ओखरकोट थियो । पाल्पा दोभानको चिसापानीमा उसको परिवार स्थायीरुपमा बस्दै आएको थियो । उसको हजूरबा अतिनै क्रान्तिकारी र बाबा शिक्षक थिए । प्रगतिशील परिवार थियो । जन्तरेका बाबा पढेलेखेका मान्छे गनिन्थे र साहित्यकार पनि । दोभान माविको हेडमास्टर समेत बने उनी । जन्तरेले सोही विद्यालयबाट २०४८ मा प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेको थियो । सम्भवत ऊ नै थियो सो विद्यालयबाट उच्च अंक ल्याएर उत्तीर्ण हुने पहिलो विद्यार्थी । गाउँले अल्लारेझैं देखिने ऊ पढाईमा अब्बल थियो । सरकारी विद्यालयमा पढेर अनि घरकै आँटोपीठो खाएर उसले ल्याएको उच्च अंक कुनै खेलाँचीको विषय थिएन । ऊ पढ्नमात्र होइन नाचगानमा समेत प्रखर थियो । बेलामौकामा हल्का विजुली पानी लगाएपछि उसले रातभर नाचेको हेक्का नै पाउँथेन । नाच्नु,रमाईलो गर्नु र साथीहरुसँग मिल्नु उसको पर्यावाची नै थियो । पढाइमा उसको विशेष रुचि र क्षमता थियो ।
गाउँका साथीहरु जन्तरे भनेपछि हुरुक्कै हुन्थे । गर्मी समयमा फुर्सद हुँदा घरछेवैको तिनाउ खोलामा डाइफ हान्थ्यो । दुवाली थुनेर माछा माथ्र्यो । गीत पनि मज्जाले गाउँथ्यो त्यो पनि आधुनिक । सानैमा प्रेममा फसेको कुरा केटाहरुलाई तिनाउ बगरमा सुनाउँथ्यो । केटाहरु पनि रमाईलो मानेर उसको कुरा सुनिरहन्थे ।
जन्तरेले २०५१ सालमा बुटवल बहुमुखी क्याम्पसबाट आइएस्सी ग¥यो । फस्ट इएर पढ्ने बेला हामीले दोभानमा दाईजो नाक नाटक देखायौं । त्यो नाटकको मुख्यपात्र नै जन्तरे थियो । ऊ खासमा हास्यकलाकार थियो । नाटकका मेरा साथीहरु राजेश श्रेष्ठ,रीता भट्टराई( गुरुङ),प्रेम गुरुङ,मधुसुदन,नन्दबहादुर काउचा लगायत मपनि थिएँ एउटा बूढो पात्र । नाटकमा दाइजो(गर्दुवा) को कमी भएको कारण सम्धी पर्ने राजेशले मेरी छोरी रीताको बिहे आफ्नो छोरो प्रेमसँग हुन दिएन ।
नाटकमा दुल्ही अर्थात् रीताका बाबा बनेको म (दलबहादुर गुरुङ) हर्टअट्याक भएर मृत्युको मुखमा पुग्छु । पर्दा खस्छ । नाटक सिद्धिन्छ । तर नाटक यथार्थ बन्छ । नाटकमा विहे हुन नपाएका रीता र प्रेमको रियल प्रेम विहे हुन्छ । मेरी छोरी बनेकी रीता आमासरि भाउजू बनेर हाम्रा परिवारमा आइन् । दाईजो प्रथा आगोसरि सल्केकै छ । नाटक लेख्ने मान्छे म त्यो परिवेश सम्झेर लकडाउनमा कोठाभित्र बसिरहेको छु ।
भोलिपल्ट बाटोमा राजेशलाई देख्नेहरुले(अघिल्लो रात नाटक हेर्नेहरुले) खुब गाली गरे । खासमा नाटकमा गरेको उसको भूमिकाले गाली पाएको थियो । दाईजो नपाएर आफ्नो छोरोका विहे नगर्ने उसको सामन्ती पाराको अभिनय हेर्न लाईकको थियो । जन्तरेले नारदको भूमिका खेलेको थियो । उसप्रति पनि दर्शकहरु आजित थिए तर ऊ प्रिय पात्र थियो नाटकको । नाटककार सरुभक्तले भनेका थिए–नाटक दुईपटक जन्मिन्छ । लेखक र कलाकारले जन्माउँछन् नाटकलाई । लेखकले लेखेर अनि कलाकारले अभिनय गरेर । नाट्यसम्राट बालकृष्ण समले भनेका थिए–नाटकले मान्छेलाई समाजमा नयाँ परिचय दिन्छ । हो ! रहेछ । प्रितम जीसीलाई समाजले जन्तरे भनी चिन्यो ।
प्रितम जीसी अहिले बाँकेको खजुरा बजार नजिकै रहेको ज्ञानोदय माविमा विज्ञान विषयको निमावि( द्वितीय श्रेणीको) स्थायी शिक्षक छ । उसका ३ जना छोराछोरी छन् । जेठी छोरी कक्षा १२(साइन्स) को अन्तिम परीक्षा तयारीमा छन् । कान्छी छोरी र छोरो दुबैले कक्षा ६ मा पढ्दैछन् ।
उसले नेपालगञ्जको महेन्द्र बहुमखी क्याम्पसबाट बिएस्सी र लखनऊबाट एमएस्सी सम्म पढ्यो । त्यसअघि नेपालगञ्जमै एमए,एमएड भर्ना भएर पढाई थालेको थियो तर पूरा गर्न सकेन । स्कूले तलबले नपुगेर विद्यालयमा कोचिङ्ग क्लास चलायो अनि ट्यूसन समेत पढायो घरमै । खुब मिहिनेत ग¥यो र ठडायो एउटा आफ्नै पसिना बसाउँने पक्की घर । गाउँकी मालतीको मनलाई प्रेमको बर्कोमा कसेर जीवन सफल बनाउँदैछ उसले । आज जीवनको यात्रामा हिंडि रहेका छन् सँगै ।
२०५४ सालमा उसले विएस्सी गरेर कोहलपुरको रामजानकी बोर्डिङ्ग स्कूलमा पढाएको थियो । बाँकेको प्रभात माविमा पनि पढायो नीजिस्रोत शिक्षक बनेर । उसले बाबुको पेसालाई निरन्तरता दिइरह्यो । देशमा चरमद्वन्द्व चल्दा साथीहरुको लहलहैमा लागेर हवाईजहाजमा हुँइकिएर २०५८ सालमा हुम्ला पुग्यो । हुम्लाको रोडीकोटमा रहेको कोट माविमा मावि दरवन्दीमा शिक्षक बनेर एक शैक्षिक सत्र बितायो । तत्कालीन नेकपा(माओबादी)ले आफ्नो क्रान्तिकारी शिक्षक संगठनको ईलाका कोषाध्यक्ष बनाएको उसलाई घोषणा सुनायो । ऊ फरक विचार राख्ने गथ्र्यो । उसका हुम्ली साथीहरुले भूतले खाजा खानेबेलामा आएको बनेर उल्लाएछन् । युद्धरत पार्टीको शिक्षक संगठनको जवरजस्त कोषाध्यक्ष बन्नुभन्दा पनि तत्कालीन शाही सेनाले तारेख लगाउन थालेपछि उसले हुम्लालाई आफ्नो कुम्लाभरिको सम्झना छोडेर नेपालगञ्ज आएपछि सुरक्षित भएको र ज्यान जोगिएको भन्दै लामो श्वार फेरेको थियो ।
माईलो छोरो थियो प्रितम (जन्तरे)। घरको आर्थिक अवस्था खासै बलियो थिएन उसको । आम्दानीको बाटो बाबाको शिक्षक जागिर थियो । खेती कमाइ गरी खान जग्गा जमीन पनि मनग्य नाइँ । दुईदिदी बहिनी,दुई दाजुभाइ,आमाबाबा एवम् हजुरबाबा र हजुरआमालाई छोडेर ऊ नेपालगञ्ज पुग्दा उसलाई खाडीमुलुक गएको जस्तै भएको थियो रे ! गर्मी उस्तै,मच्छेर उस्तै लाग्ने । कैयौं रात उसले भानुभक्तलाई जेलमा बस्दा मच्छेरले दुःख दिदा लेखेको कविताको सम्झना आयो । नेपालगञ्जको शिक्षण र बसाइसँगै बहिनी,सालो र दाइकी छोरीलाई आफ्नै व्यवस्थापनमा पढायो । शिक्षा दिलायो । दाईजो नाटकमा निर्वाह गरेको जन्तरेको भूमिका जस्तै असल अभिभावक बनेर उसले भूमिका निभायो ।
जन्तरेले आफ्नो बाबा एचबी प्रेमीको कविता कण्ठै पारेको थियो । स्कूलका वार्षिकोत्सवमा बाबाको कविता भट्टाउँथ्यो जन्तरले । अघोरै प्रतिभा थियो उसको ।
भविष्यमा पनि पढाएरै खाने योजना बुनेको छ उसले । शिक्षण पेसाप्रति उसको अगाध लगाव रहेको छ । अक्षरसँग मितेरी साइनो गाँसेको छ । सन्तानका सुखलाई आँखामा सजाएको छ । पुराना दिनहरु उर्जा बनेर आएका छन् उसका लागि ।
नाटकको एउटा पात्र जन्तरेले घरको सुको पैसा नलिई पाल्पाको दोभान छाडेर बिरानो नेपालगञ्ज पुगेर विएस्सी अनि एमस्सी ग¥यो । आफ्नै मन परेकीलाई आफ्नै प्रवन्धमा विहे ग¥यो । सन्तानको पालनपोषण गर्दैछ । बाबाआमालाई खर्च नपुग हुँदा पठाइदियो । विहान उज्यालो नहुँदैदेखि झमक्क साँझ नपर्दासम्म आफनो जीवनको खरि घोटेकै छ । सन्तानलाई शिक्षादीक्षा दिएकै छ । कर्म र कर्जाको पैसाले आफ्नै गुँडमा ओत लागेको छ ।
जिन्दगी एउटा रङ्गमञ्च हो । जहाँ जीवनका हजारौं नाटकहरु मञ्चन भइरहन्छन् । शिक्षाको फराकिलो तथा अग्लो मञ्चमा ऊ शिक्षकरुपी जन्तरेको भूमिका निर्वाह गरिरहेको छ । सधैं दर्शक(अभिभावक,व्यवस्थापन समिति)का मन छुने पात्र बनेर उभिनरहनू ।
उनको जीवनमा चैत्र २१ गते सधैं आइरहोस् शुभेच्छा । जन्तरे जन्मदिनको शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।