ताजा अपडेट »

विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

शनिबार, २७ बैशाख २०८२, ११ : २१
44 Shares
शनिबार, २७ बैशाख २०८२
44 Shares

बुटवल । आइसीसी महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ ।

वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालको जितमा ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रनको योगदान दिइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् । कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै नटआउट रहिन् । कविता भने रनआउट भएकी थिइन् ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोडेको थियो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन् । उनले ६ चौका र १ छक्का प्रहार गरिन् । थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रन जोडे । नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईलाई १ छक्का र ३ चौकासहित २० रन प्रहार गरेपछि बहराइनले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो । नेपालको ३ अंक पुग्दा हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र विहीबार बहराइनसँग खेल्नेछ । समूहका २ टोलीले एक आपसमा २(२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ । तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।