ताजा अपडेट »

दाङमा यस वर्ष धान उत्पादन बढ्ने

बुधबार, ०८ कार्तिक २०८०, १५ : १७
58 Shares

दाङ । जिल्लामा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस पटक गत वर्षको भन्दा कम क्षेत्रफलमा धान खेती भएको छ । पानीका कारण धान रोप्न ढिला भएको भएयता पनि रोपाइ भएदेखि निरन्तर पानी पर्दा, उन्नत जातको धानको खेती र यस पटक किसानहरूले मल सहज रुपमा पाउँदा विगत वर्षमा भन्दा केही प्रतिशत धान उत्पादन बढ्न कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार करिब ५ प्रतिशत धान वृद्धि हुने अनुमान गरिएको छ । पानी समयमा नपर्दा धान रोपाइँ ढिला भएको भएयता पनि धान रोपेपछि निरन्तर वर्षा र उन्नत जातको धान रोप्दा र विगतका वर्ष भन्दा मल पनि सहज रुपमा पाइदा  धान उत्पादन बढ्ने उनले बताए ।यस वर्ष जिल्लामा ३५ हजार १८४ हेक्टरमा धान खेती भएको छ ।

जसमा १ लाख ५१ हजार २९१ मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको समेत उनले बताए । गत आर्थिक वर्षमा जिल्लामा ३७ हजार १३० हेक्टरमा धान रोपिएको थियो, भने १ लाख ५२ हजार २३३ मेट्रिक टन धान उत्पादन भएको थियो । गत आर्थिक वर्षभन्दा यस पटक करिब २ हजार हेक्टर  कममा धान खेती भएको छ । खेती योग्य जमिन घटेको भएयता पनि यस पटक राम्रो धान फलेको हुँदा उत्पादन बढ्ने अनुमान रहेको उनले बताए ।  धान उत्पादन राम्रो हुनुमा पहिलो नम्बरमा उन्नत जातको बिउँ, गत वर्षको तुलनामा रासायनिक मलको सहज र पानी पनि निरन्तर पर्दा भएको समेत उनले बताए ।

यस्तै उनले जिल्लाका केही ठाउँमा फड्के कीरा र गवारोको समस्या भएको भएयता पनि धान पसाउने बेला हुँदा त्यति असर नगरेको  पनि बताए । उनले भने,‘ धान पसाउने बेलामा भएको भए । धेरै क्षति हुन्थ्यो होला । तर, धान पसाएर दूध पोकेको अवस्था हुँदा खासै क्षति भएन । जग्गा प्लटिङले खेतियोग्य जमिन मासिँदै  सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा खेतियोग्य जमिनहरू मासिँदै जानुको मुख्य कारण प्लटिङ गर्दा नै भएको हो ।

यस्तै उनले अब फेरि जिल्लामा खेतियोग्य जमिन मासिने चिन्ता बढेको समेत बताए । प्रदेशको राजधानी दाङको  देउखुरी क्षेत्र भएको हुँदा प्रगन्ना सिँचाइबाट सिञ्चित भूमिहरू प्लटिङ भएर घडेरी हुने हुन् की ?  भन्ने जोखिम  त्यसमा देखिने समेत उनले बताए । यस्तै उनले यस्ता जमिनहरूमा राज्यले नीति बनाएर सिञ्चित हुने भूमिका प्लटिङ गर्न रोक्नु पर्ने बताए ।

त्यस्तैगरि खेती गर्ने समयमा  किसानहरूले सहज रुपमा कहिँले पनि बिउ, मल, सिँचाइ  पाउँदैन । तर, दुख मेहनत गरेर गरेको खेतीमा रोगले उत्तिकै सताउँछ ।  सरकारले दिन अनुदानको मल पर्याप्त नपाउँदा बजारमा पाइने अन्य मल प्रयोग गर्दा पनि  धान  राम्रो फलेको  तुलसीपुर १३  यमनारायणले बताए । उनका अनुसार यस पटक गत वर्षको भन्दा राम्रो धान उत्पादन भएको छ ।

‘धानको खेती गर्दा पानी समयमा नपर्दा हामीहरू निकै चिन्तित भएका थियौँ । तर, त्यसमा पनि सरकारले दिने अनुदानको मल भने जति नपाएपछि हाम्रो सहकारीले अर्को कम्पनीको  मल ल्याएको रहेछ । त्यही मल प्रयोग गर्दा त शुरुमा डर लागेको थियो । तर, धान राम्रो फलेपछि निकै खुशी भएका छौँ । यस्तै दंगीशरण गाउँपालिका १ रामपुरकी मिरा चौधरीले पनि यस पटक राम्रो धान उत्पादन भएको बताइन् ।

उनले पनि कृषि सामाग्रीको मल नपाएपछि कृषि क्रान्ति नामक मल प्रयोग गरेको बताइन् । उनले भनिन्,‘  कृषि सामाग्रीको मल नपाएपछि सहकारीले ल्याएको कृषि क्रान्ति मल प्रयोग गरेका थियौँ । शुरुमा त शंका लागेको थियो । तर, अहिले धान राम्रो फलेको छ ।’ यस्तै उनले खेतबारीमा राम्रो उत्पादनको लागि बिउँ, मल , पानी र गोडमेल भएपछि मात्र हुने समेत बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।