ताजा अपडेट »

भारत–पाकिस्तान ‘ड्रोन युद्ध’ को चरणमा, कस्ता ड्राेन गरेका छन प्रयाेग

भारतले इजरायली प्रविधि तथा पाकिस्तानले चीन र टर्कीमा बनेककाे ड्राेन प्रयाेग

शनिबार, २७ बैशाख २०८२, ०७ : ५७
46 Shares
शनिबार, २७ बैशाख २०८२
46 Shares

भारतीय राज्य कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा एक नेपाली सहित २८ जना हिन्दुहरूको आतङ्कवादी संस्था लस्करे तोयवाले नाम साेधी साेधी हत्या गरेसंगै भारत पाकिस्तान द्वन्द्व नयाँ मोडमा प्रवेश गरेको छ । भारतले अपरेसन सिन्दूर नाम दिएर पाकिस्तान प्रशासित कश्मीरका आतङ्कवादी सम्भावित ठेगानाहरूमा हवाई आक्रमण सुरुगरेसंगै दुवै राष्ट्र युद्धमा धकेलिएका छन् ।
 
बिहीबार मात्रै पाकिस्तानले ड्रोन र क्षेप्यास्त्रद्वारा आफ्ना तीन वटा सैन्य अड्डामा हमला गरेकाे आरोप भारतले लगायो भने यसलाई इस्लामावादले तत्कालै अस्वीकार गर्‍यो। शुक्रवार पनि पाकिस्तानले ४ वटा ड्रोन आक्रमण गरेको भारतले दाबी गरेको छ। उता पाकिस्तानले अहिलेसम्म ७७ वटा भारतीय ड्रोन खसाएको पाकिस्तानकाे दाबी रहेकाे छ। पाकिस्तानकाे सरकारी टेलिभिजन पिटिभिले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

121

यी दुई राष्ट्रहरूका बिचमा चलेको जस्तालाई तस्तै हानाहानले दशकौँ पुरानो दुस्मनीलाई झनै खतरनाक चरणमा पुर्‍याएको छ। यिनीहरूले अब पहिलेझैँ एक अर्कामाथि तोप गोला मात्र बर्साइरहेका छैनन्, तारन्तार ड्रोन हमला पनि गरिरहेका छन्। दुवै देशले गरेकाे एक अर्कामा ड्रोनको प्रयोगले द्वन्द्वको नयाँ अध्याय सुरु गरेको छ। यूएस नेवल वार कलेजका प्राध्यापक जहारा मातिसेक भन्दछन्,‘भारत–पाकिस्तान द्वन्द्व एउटा नयाँ ड्रोन युगमा प्रवेश गरेको छ। 

‘अदृश्य आँखा’ र मानवरहित अचुक निसानाले संयम वा तनावको फैसला गर्नेछ। त्यस कारण जसले ड्रोन युद्धमा बाजी मार्‍यो, उसले युद्ध जित्ने छ,’ भारतले प्रयोग गरेको ड्रोन इजरायलमा निर्मित हारोप भएको बताइएको छ। भारतले पाकिस्तानका कयौँ हवाई प्रतिरक्षा प्रणाली  ध्वस्त पारेको पनि दाबी गरेको छ।  पछिल्ला वर्षहरूमा लेजर गाइडेड क्षेप्यास्त्र तथा बम, ड्रोन र मानवरहित विमानहरू युद्धका प्रमुख हतियार बनेका छन्। यिनले आफ्नो पक्षका मानिसको ज्यान जोखिममा नपारी दुस्मनमाथि अचुक निसाना लगाएर सैन्य कारबाहीलाई चुस्त बनाउँछन्। 

harop

ड्रोनलाई दुस्मनको हवाई प्रतिरक्षा प्रणालीलाई झुक्याउन पनि प्रयोग गरिन्छ। पहिले ड्रोनलाई पठाइन्छ, जसले गर्दा दुस्मनको राडार प्रणाली सक्रिय हुन्छ। अनि ती प्रणाली ध्वस्त पार्न अरू ड्रोन वा क्षेप्यास्त्रको  प्रहार गरिन्छ। ‘युक्रेन र रुसले युद्धमा यही गरिरहेका छन्। दोहोरो काम गर्ने हुनाले ड्रोन शक्तिशाली बनेको छ,’ प्राध्यापक मातिसेक भन्छन्। 

विज्ञहरूका अनुसार भारतको ड्रोन इजरायली प्रविधिमा आधारित छ। हारोपले अलग्गै विस्फोटक पदार्थ बोकेर लैजाने र आफैँ क्षेप्यास्त्र जसरी निसानामा ठोक्किएर विस्फोट हुने, दोहोरो काम गर्छ। अर्को हेरोन नामक ड्रोन पनि भारतसँग छ। जसले शान्तिकलामा निगरानीको काम गर्दछ। आईएआई सर्चर एमके २ नाम ड्रोन १८ घण्टा र ३०० किमी टाढासम्म उड्न सक्छ। भारतसँग अत्यधिक मात्रामा ड्रोन नभएको विज्ञहरू बताउँछन्। हालै भारतले अमेरिकासँग ३१ वटा एमक्यू–९बी ड्रोन ४ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ। जुन ४० घण्टासम्म ४ हजार फिटको उचाइमा उड्न सक्छ। 

heron

भारतले साना साना ड्रोन ठुलो सङ्ख्यामा पठाएर दुस्मनको प्रतिरक्षा प्रणाली अस्तव्यस्त तुल्याउने दाउपेच पनि विकास गरिरहेको छ। पाकिस्तानसँग पनि धेरै र अनेक खालका ड्रोन छन्। आफैँले बनाएको र आयात गरिएको प्रविधिमा आधारित ड्रोन रहेको रक्षा विश्लेषक एजाज हैदर बताउँछन्।पाकिस्तानमा एक हजारभन्दा धेरै ड्रोन रहेको उनको भनाइ छ। जसमा चिनियाँ, टर्किस र घरेलु उत्पादन समेत छ। जसमध्ये चिनियाँ सीएच–४, टर्कीको बेराक्तर र पाकिस्तानकै बुराक र शहपार नामक ड्रोन उल्लेखनीय छन्।  

विश्लेषक हैदरका अनुसार पाकिस्तानको वायु सेनाले एक दशकयता ड्रोनलाई सैन्य कारबाहीमा एकीकृत गर्ने काम गरिरहेको छ। प्राध्यापक मातिसेक भन्छन्, ‘इजरायली प्राविधिक सहयोग र हारोप तथा हेरोन ड्रोन आपूर्ति भारतका लागि निर्णायक छ भने टर्किस र चिनियाँ ड्रोनमा पाकिस्तानको निर्भरताले जारी हतियारको प्रतिस्पर्धालाई स्पष्ट पार्छ। अहिले भारत र पाकिस्तानबिच ड्रोन हानाहान भइरहे पनि त्यो रुस–युक्रेन युद्धमा देखिएको भन्दा अलग खालको भएको विज्ञहरूको  बुझाइ छ।

beraktar

युक्रेनमा सैन्य कारबाहीको केन्द्रीय तत्त्व नै ड्रोन बनिसकेको छ। दुवै पक्षले हजारौँ ड्रोन निगरानी र प्रहारमा प्रयोग गरिरहेका छन्।‘फाइटर जेट वा ठुला क्षेप्यास्त्रको सट्टामा ड्रोन खटाउनु अलि तल्लो तहको सैन्य विकल्प हो। मान्छेले चलाउने विमानले भन्दा ड्रोनले कम हतियार बोक्छ। त्यसैले एक हिसाबले ड्रोन हान्नु भनेको संयमित चाल हो। तर, त्यो बृहत् हवाई आक्रमणको सुरुवात मात्र हो भने फेरि बिलकुलै अलग कुरा हो,’ भारतीय रक्षा विश्लेषक मनोज जोशी भन्दछन्।

रक्षा विश्लेषक एजाज हैदर हालै पाकिस्तानले प्रहार गरेको ड्रोन पूर्ण क्षमताको प्रतिशोध नभई तत्कालको उत्तेजनाको जवाफ मात्र भएको बताउँछन्। ‘वास्तविक प्रतिशोधको हमलामा दुस्मनलाई झट्का दिने प्रयास हुने थियो,’ उनी भन्दछन्। युक्रेन युद्धमा ड्रोनले लडाइँको प्रकृति नै बदलिदिएको छ। जबकि भारत–पाकिस्तान द्वन्द्वमा यसको भूमिका सीमित र प्रतीकात्मक हुने विश्लेषकहरूको आकलन छ। दुवै मुलुकले क्षेप्यास्त्र प्रहार गर्न मानव चालित विमान प्रयोग गरेका छन्।

‘हामीले देखिरहेको ड्रोन युद्ध लामो समय टिक्दैन। यो ठुलो द्वन्द्वको सुरुवात मात्र हुन सक्छ। तनाव घट्ने या चर्किने दुवै सङ्केत यसले गर्न सक्छ,’ विश्लेषक जोशी भन्छन्।  ‘ड्रोनले द्वन्द्व चर्काउने खतरा कम गर्दै निगरानी र आक्रमण गर्ने विकल्प दिने प्राध्यापक मातिसेक बताउँछन् ।
 
‘तर, ड्रोनले द्वन्द्व चर्काउने नयाँ नयाँ बहाना पनि दिन्छ। खसाइएको हरेक ड्रोन, ध्वस्त पारिएको हरेक राडार लडाइँको बहाना बन्न सक्छ।  एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।