Nov 28, 2023
लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको मावली देवदह स्थित विभिन्न पुरातात्विक क्षेत्रहरुमा बृक्षरोपण गरेको छ । सोमबार कोषले बैरीमाई, कन्यामाई, भवानीपुर र देवदह सम्पर्क कार्यालय परिसरमा आँप, बेल, बेलौती, अशोक, कागती, तेजपत्ता, निम, कपुर, फूल लगायतका विभिन्न प्रजातीका एक सय बढि विरुवा बृक्षरोपण गरेको हो ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) र सदस्य सचिव सानुराजा शाक्यले बृक्षरोपण गरी शुरुवात गरेका थिए । कोलिय वंशको राजधानी देवदहमा बुद्धका माता मायादेवी तथा प्रजापती र राजकुमारी याशोधराको माईतीका रुपमा चिनिन्छ । बुद्धको मावली क्षेत्र र यहाँका बौद्धकालिन पुरातात्विक स्थलहरुको हरियाली प्रवर्द्धनका लागि बृक्षरोपण गरिएको कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष ढुण्डिराजले देवदह बुद्धको मावली क्षेत्र भएकाले यसको ऐतिहासिक महत्व रहेको बताउँदै यहाँ रहेका पुरातात्विक स्थलहरुको विकासर पर्यटक आर्कषित गर्नका लागि निरन्तर कोषले बृक्षरोपण जस्ता सौन्दर्यकरण र अन्य विकासका काम गर्दै जाने बताए ।
यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन र संरक्षण गर्नुपर्ने बताउँदै यसका लागि कोषले पुरातात्व विभाग लगायतका निकायहरुसँग समन्वय गर्ने काम गरिरहेको बताए । कोषको वनस्पती शाखाको समन्वय, देवदह कार्यालयको संयोजनमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्