ताजा अपडेट »

पर्यटनका लागि सर-सफाई महत्वपूर्ण: नगरप्रमुख घिमिरे

बुधबार, ०८ माघ २०७६, २० : १९
24 Shares

सरकारले सन्- २०२० मा २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्यका साथ नेपाल भ्रमण वर्ष- २०२० को कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । देशका ७ वटै प्रदेशहरुबाट एक साथ सुभारम्भ गरिएको भ्रमण वर्ष सफल पार्नका लागि संघीय सरकारदेखि स्थानीय सरकारको समेत महत्वपूर्ण भूमीका रहन्छ । यसै अनुरुप स्थानीय निकायहरुले समेत भ्रमण वर्ष सफल पार्नका लागि बजेटको ठूूलो हिस्सा पर्यटकीय क्षेत्रको विकास तथा पर्यटन विकासका लागि विनियोजन गरेका छन् । प्रदेश नम्बर पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष- २०७६ को आधाभन्दा बढी समय बितिसकेको छ । यसै विषयहरुमा रहेर स्थानीय निकायले गरेका पहल र कार्यक्रमहरुबारे ग्लोबल आवाजका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेसँग सुरज घिमिरेले गरेको कुराकानी:

तिलोत्तमामा भ्रमण वर्ष लक्षित के–कस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ?
– बीस लाख विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष- २०२० तथा लुम्बिनी भ्रमण वर्ष- २०७६ जारी रहेको छ । यो संघारमा हामीले तिलोत्तमा नगरपालिकामा पर्यटक भित्राउन विशेष योजना बनाएर अगाडी बढेका छौं । विशेषगरी पर्यटकहरुको लागि सुन्दर बस्तीको आवश्यकता हुन्छ । नगर क्षेत्रलाई स्वच्छ, हरियाली बनाउनका लागि हामिले शुन्य पोलिथिन अभियान सुरु गरी दैनिक सरसफाई गर्ने गरेका छौं । नगरमा भएका ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुको समेत पहिचान गर्दै नयाँ पर्यटकिय गन्तव्य बनाउने तर्फ हाम्रो ध्यान रहेको छ । पर्यटन गन्तव्यसम्म पुग्नका निम्ति सडक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन लागिपरेका छौँ ।

तिलोत्तमामा रहेका पर्यटकीय स्थलहरुहरुको व्यवस्थापन कसरी गर्नुभएको छ ?
– सरकारले घोषणा गरेका मुलुकभरका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यमा तिलोत्तमा नगरपालिकाका दुई पर्यटकीय क्षेत्र परेका छन् । यसरी घोषणा गरिएका नयाँ पर्यटकीय गन्तव्यको सूचीमा तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन रहेका छन् । वन वाटिकामा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थलहरु रहेका छन् । पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ । चिडियाखानामा चितुवा, मृग, नीलगाई, अजिंगर, भालु, खरायो, चाइनिज मुसा, मयूर, सारस लगायत दुई दर्जन प्रजातिका पशुपक्षी रहेका छन् ।

यस्तै पर्यटकीय गन्तव्यमा सूूचीकृत बाउन्नकोटी सामुदायिक वन जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यो वनमा मन्दिर, पिकनिक स्पर्ट, गौशाला लगाएतका केही संरचनाहरू बनेका छन् । कोटिहवा र लखन थापा चोकदेखि पश्चिमतर्फ रहेको बाउन्नकोटी वन क्षेत्र भैरहवा, बुटवल र लुम्बिनीकै मध्यभागमा पर्ने भएकोले पनि पर्यटनको महत्वपूर्ण गन्तव्य मानिन्छ । जस्ले गर्दा यो क्षेत्रको विकास गरी लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउने गरी कामहरु अगाडी बढाएका छौं ।

संघीय र प्रदेश सरकारले एकसाथ भ्रमण वर्ष घोषणा गर्दा स्थानिय निकायलाई कार्यान्वयनका चुनौतीहरु के-कस्ता रहेका छन् ?
– संघीय सरकार र प्रदेश सरकारले एकसाथ भ्रमण वर्षको घोषण गर्दा स्थानीय निकायमा देखिएको प्रमुख समस्या भनेको आर्थिक समस्या हो । पर्यटन विकासका लागि भौतिक संरचनाहरु निर्माण गर्न प्रप्र्यात पूँजी नहुँदा समस्या हुने गर्दछ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको समापन हुन नपाउँदै संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई समेत सफल पार्नका लागि स्थानीय निकायहरुलाई थप चुनौतीहरु थपिएका छन् ।

भ्रमण वर्षले तिलोत्तमाको आर्थिक विकासमा पार्ने सकारात्मक प्रभावहरु के-कस्ता रहेका छन् ?
– तिलोत्तमामा पर्यटकका लागि थुप्रै आर्कषकीय गन्तव्यहरु रहेका छन् । यहाँ थुप्रै मठमन्दीरहरु, बनबाटीका पार्क, बुद्धकालीन आर्कषणका केन्द्रहरु रहेका छन् । यहाँ घुम्न आउने पर्यटकहरुका लागि होटलहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । तिलोत्तमा लगानी सम्मेलनले नगरको पर्यटन विकास तथा आर्थिक विकासमा समेत थप सहयोग गर्ने अपेक्षा गरिएको छ । नेपाल जस्तो मुलुकमा आर्थिक विकासको गतिलो र सजिलो उपाए भनेको नै पर्यटन विकास हो । यस अर्थमा देशसँगै हाम्रो नगरमा समेत पर्यटन विकास हुन सक्यो, पर्यटकको आगमन भयो भने आर्थिक यात्रामा सकारात्मक फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।

बुटवल–बेलहीयाको सडक खण्डमा पर्ने तिलोत्तमा नगर क्षेत्र पर्यटकीय आर्कषणको केन्द्रबिन्दु हो । तिलोत्तमालाई लुम्बिनी प्रवेशद्वारको रुपमा पनि चिनिन्छ । लुम्बिनी प्रवेश गर्ने पर्यटकहरु तिलोत्तमा आएर मात्रै लुम्बिनी प्रवेश गर्ने गर्दछन् जस्ले गर्दा तिलोत्तमाको आर्थिक साथै पर्यटन विकासमा समेत टेवा पुग्ने आशा रहेको छ ।

भ्रमण वर्षमा प्रदेश सरकारसँग के कस्तो समन्वय भइरहेको छ ?
- भ्रमण वर्षको मूल आयोजक समितिमा प्रदेश सरकारका मुख्य मन्त्रीहरु र प्रदेशका पर्यटनमन्त्रीहरु पनि हुनुहुन्छ । साथै पर्यटनमन्त्रीको संयोजकत्वमा भ्रमण वर्ष २०२० प्रदेशस्तरीय मूल आयोजक समिति गठन गरिएको छ ।नयाँ गन्तव्य प्रवद्र्धन र पर्यटनको लाभ स्थानीय जनतासम्म र्पुयाउनुपर्ने दायित्वअनुरुप हामी योजना बनाएर काम अघि बढाइरहेका छौँ ।

भ्रमण वर्षको अन्त्य सम्ममा तिलोत्तमामा कति पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ?
– हामी तिलोत्तमा नगरमा पर्यटक भित्र्याउन कुनैपनि कसर बाँकी राख्ने छैनौं । पर्यटकीय गन्तव्यहरु व्यवस्थापन र पूर्वाधार निर्माण गर्ने कार्यमा तीव्रता दिएका छौं । तिलोत्तमा आउने पर्यटकलाई कुनैपनि प्रकारको बाधा उत्पन्न हुन दिने छैनौं । हाम्रो मुख्य लक्ष्य भनेको आन्तरीक र बाह्य गरी करीब २ लाख पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।