ताजा अपडेट »

नाट्टाको १४औं साधारण सभा: पर्यटनमैत्री सरकारी नीति बनाउन आग्रह

शनिबार, ०४ भदौ २०७९, १८ : ३५
16 Shares


भैरहवा । नेपालको कानून पर्यटनमैत्री नभएको पर्यटन ब्यवसायीहरुको दावी रहेको छ । पर्यटनको क्षेत्रमा उल्लेख्य लगानी रहे पनि सरकारको रवैयाको कारण पर्यटन क्षेत्र धराशायी हुदै गएको उनिहरुले आरोप लगाएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स अपरेटर (नाट्टा), लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न १४ औं बार्षिक साधारण सभामा बोल्दै पर्यटन ब्यवसायीहरुले सरकारलाई पर्यटनमैत्री निति तथा कानून निर्माणको लागी आग्रह गरेका छन् । नेपालको सरकारी कार्यालयहरुमै समन्वय नरहेको र एउटै संस्था दर्ताको लागी फरक फरक कार्यालयहरु धाउनु पर्ने बाध्यता अझै रहेको कारण यसलाई एकद्वार प्रणाली लागु गर्नु पर्ने उनिहरुले माग अघि सारे । ब्यवसायीहरुले अलग अलग प्रदेशमा रहेको कानून एवम करका दायराका कारण पनि पर्यटन क्षेत्र उभो लाग्न नसकेको बताउदै ७ वटै प्रदेशका प्रदेशिय पर्यटन कानून एउटै हुनु पर्ने धारणा राखे ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स अपरेटरका पूर्व केन्द्रिय अध्यक्ष अच्युत गुरागाँईले कोभिडले अक्रान्त पर्यटन ब्यवसायलाई स्थानिय सरकारले केही सम्बोधन गरे पनि प्रदेश र संघ सरकारले थप करहरु लादेको बताए । उनले नियमित करको साथै सरकारी निकायका कर्मचारीहरुले यस्तो बिषम परिस्थितिमा पनि अतिरिक्त रकम समेत माग गर्ने गरेको आरोप लगाए । नेपालमा आयश्रोतको प्रमुख माध्यमको रुपमा पर्यटन क्षेत्र रहे पनि त्यस अनुकुलको वातावरण भने नरहेको ब्यवसायीहरुको आरोप थियो । राज्यले थोरै समर्थन गरिदिए पनि पर्यटन ब्यवसायीले गर्न सक्ने धेरै क्षेत्र रहेको बताउदै उनिहरुले राज्यले त्यस्तो गर्न नसकेको जिकिर गरे ।

यसमा केही निजि क्षेत्रको पनि मनोमानी रहेको ब्यवसायीहरुको जिकिर छ । नेपालमा निजि क्षेत्रका बिमान कम्पनी सञ्चालकहरुको एकाधिकार रहेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स अपरेटर, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले आरोप लगाए । उनले निजि क्षेत्रका बिमान कम्पनीको एकाधिकार तोड्न नेपाल एयरलाईन्सको न्यारो बडीलाई काठमाण्डौं–भैरहवा–दिल्ली–भैरहवा–काठमाण्डौं उडान गर्न आग्रह गरे । कोभिडको कारण मारमा रहेको पर्यटन ब्यवसायलाई लुम्बिनी प्रदेशले राहतको ब्यवस्था गर्नु पर्ने संस्थाका केन्द्रिय अध्यक्ष रमेश थापाले माग राखे । थापाले निजी क्षेत्रले पर्यटन व्यवसायमा अर्बौं लगानी गरेको तर सरकारी तहबाट त्यसको संरक्षण, नीति, नियम र भइपरी आउने समस्याहरुमा सहयोग नमिलेको दुखेसो गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकार अहिले सुरुकै अवश्थामा रहेको कारण सरकार ब्यवसायीहरु संगै मिलेर हिड्न चाहेको बताए ।

नाट्टामा बुटवलकी रचना पन्त अध्यक्षमा चयन
भैरहवामा सम्पन्न नाट्टा, लुम्बिनी प्रदेशको अधिवेशनले पर्यटन ब्यवसायी रचना पन्तको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । निर्विरोध रुपमा चयन भएको नया कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर थापा, द्धितिय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतिय उपाध्यक्षमा अनिल मान श्रेष्ठ, महासचिव अन्जन श्रेष्ठ, सचिव ज्ञानुमाया पोखरेल, कोषाध्यक्ष सुजित श्रीवास्तव र सह कोषाध्यक्षमा बिराट श्रेष्ठ रहेका छन् ।

यसै गरि समितिको सदस्यहरुमा सीता बस्याल, मन्जु गिरी पुरी, गणेश भट्टराई, गोविन्द सिंह सलुजा, फणिन्द्र पौडेल, बिना न्यौपाने र दिपेश गुप्ता रहेका छन् । समितिलाई निर्विरोध गराउन नाट्टाका संस्थापक प्रदेश अध्यक्ष बिष्णु प्रसाद शर्मा, निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), केन्द्रिय अध्यक्ष रमेश थापा, सन्जिव जोशी, पूर्व कोषाध्यक्ष प्रदिप पोखरेल, अब्दुल मन्नान खाँन, हरि पौडेल र माया मल्लिकले भुमिका खेलेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा