ताजा अपडेट »

आरनसँग जोडिएको उमकलाको जीवन

विहीबार, १२ मंसिर २०७६, १७ : १७
14 Shares
विहीबार, १२ मंसिर २०७६
14 Shares

मंसिर १२,

बिन्दु भट्टराई/ग्लोबल आवाज

तिलोत्तमा । उमेरले तीन बीस र एक दशक भेट्न आट्यो । निधार र गालाका रेखिहरु गहिरो र गन्न नसकिने हुन आटे । सेतै फुलेका कपाल र चाउरी परेका हातहरुले फलाम खेलाउन अझै पनि थाकेका छैनन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर- ५ मणिग्राम निवासी ६८ वर्षीया वृद्धा उमकला विकले फलाम पिटेरै जीवन चलाउन सिकेको ३६ वर्ष पुग्यो ।

लोपहुँदै गएको परम्परागत आरने पेशालाई उनको मनले अझै पनि छोड्न चाहेको छैन । ‘यही सिपका कारण अहिलेसम्म कसैका अगाडी हात फिजाउन परेको छैन ।’–उनले अगाडी थपिन ‘नमरुन्जेल यो पेशा छाड्दीन ।’ ३६ वर्ष अगाडि श्रीमानका आडमा बसि-बसि फलामको काम सिकेकि उमकला बिकका लागि विगतमा यो पेशा बाध्यता भएपनि अहिले भने दैनिक नित्य, कर्म र मन भुलाउने बाटो भएको छ । उमकलाका हातलाई फलाममा धार लगाउन सिकाउने उनका श्रीमानले उनलाई छाडेर गएको २ वर्ष बितिसक्यो । उनका श्रीमानले उमकलालाई दिएको सिपनै जीवनको महत्वपूर्ण र अमूल्य उपहार सावित भएको छ । ‘आज उहाँ यो संसारमा नभएपनि उहाँले दिएको चिनोको रुपमा आरने पेशाको सिप रह्यो ।’–हातका औँलाहरुले चाउरी परेका गाला कन्याउँदै उमकलाले भनिन् ।

श्रीमान विरामी हुँदा उमकलालाई ढाडस दिँदै, ‘म मरेर गएपनि तलाई गरेर खान समस्या छैन ।’–भन्ने वाक्य अहिले जस्तै लाग्छ रे उनीलाई । श्रीमानको त्यो वाक्यांशले गर्दापनि आरने पेशा छोड्न नसक्ने बताउछिन् उमकला । श्रीमान ७ वर्षसम्म विरामीभई थला परेर बस्दा उनको उपचार खर्च जुटाउन, साँझ-विहान हातमुख जोड्न र २ छोरा र १ छोरीको पढाइ खर्च जुटाउन उनले गरेको मेहनतका लामो कथा भनि साध्य नभएको उमकला बताउछिन् । आरने पेशाबाट उनले आफ्ना सबै छोराछोरीहरुलाई दश जोर २ सम्म अध्ययन गराउन सफल भइन् ।

उमेरले कोल्टे फेर्ने बेला हुन लाग्दा पनि ३६ वर्ष पहिलेकै उत्साह, जाँगर र आत्मविश्वास प्रस्टैसँग देख्न सकिन्छ, उनको अनुहारमा । उनको कार्य कूशलताले होला भैरहवा, बुटवल लगायतका टाढा-टाढा रहेका ग्राहकहरुले उमकलालाई भुल्न सकेका छैनन् । उनीहरुको कोदाली, हँसिया र बन्चरो लगायत फलामका हतियार भुत्तो भएमा उमकलाकै आरनमा धार लगाउन आउछन्, उनीहरु । जीवनका विषम परिस्थितीमा हार नखाएर आफ्नो पेशालाई निरन्तरता दिँदै आएकी उमकलाले यही पेशाबाट पक्की घर मात्रै खडा गरिनन्, छोरीको विवाह उम्काएर दुई छोरालाई विदेश पठाएको बताईन् । छोराछोरीले आरन पेशा छोड्नका लागि बेलाबेलामा आग्रह गर्दा पनि उनका हातहरुले भने फलामसँगको सम्बन्ध छोड्न चाहेन । मासिक ४५ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताउँदै उनले आँखाका नजरहरुले काम गरुन्जेल र हातहरुले फलाम अठ्याउन सक्दासम्म पेशा नछोड्ने प्रतिवद्धता गरेकी छन् ।

आरनमा बिशेषगरि हँसिया, कोदाला, बञ्चरो, वाईरिङका छिना धेरै बन्छन् । सिजनमा उनलाई बिहानदेखि साँझसम्म फुर्सद हुदैन । फलाम पिट्दा कोईलाका झिल्का छिटेर आगोको झिल्काले पोलेका उमकलाका कपडा, डढेका हात, खुट्टा यहि आम्दानीसंगै लुकेर जान्छन् । सरकारले परम्परागत आरने पेशालाई आधुनिकीकरण गर्दै व्यवसायीक बनाउने भने पनि उमकलाले भने अहिलेसम्म कुनै अनुदान नपाएको बताउछिन् । काम कहिलेपनि सानो-ठुलो हुँदैन । जीवनको उत्तरार्ध हुनैलाग्दा पनि उमकलाको आट र शाहस सम्मान गर्न लायक छ । आरनका लागि आवश्यक कोइला पाउन गाह्रो हुने गरेका बाहेक अरु समस्या खासै नभएको बताउछिन उमकला । उनले आफ्नो जीवनमात्र बचाकी छैनन् परम्परालाई पनि बचाउन सहयोग गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।