ताजा अपडेट »

नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, दुई दर्जन भन्दा बढी घाइते

आइतबार, ०३ कार्तिक २०७६, १३ : ५२
6 Shares

कार्तिक ३,
काठमाडौं । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ ।ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घाइते भएका छन् । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।