ताजा अपडेट »

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

विहीबार, ३० असोज २०७६, १७ : ३४
4 Shares

असोज ३०,

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र प्रतिक्रियावादीहरुले चितवन जिल्लालाई अराजकताको केन्द्र बनाउन खोजेको बताएका छन् । उनले कम्युनिष्ट पार्टीभित्रको अनमेलका कारण प्रतिगामीले चितवनलाई अराजकताको केन्द्र बनाउँदै लगेको उल्लेख गरे ।

दशैं तिहारको उपलक्ष्यमा नेकपा चितवनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक द्धन्द्धको फाइदा प्रतिगामीले उठाउन थालेको बताए । ‘डेढवर्षपछि चितवनमा अराजकता, अस्थव्यस्थता, देशभरिका प्रतिगामीहरु आएर खेल्ने ठाउँ चितवन बन्ने त होइन् भन्ने डर पैदा भएको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘हामी कम्युनिष्ट पार्टीकै मानिसहरु आपसमा मिलेको देखिएका छैनौं आजभोली । बरु एकले अर्कालाई कसरी ताक्लोमा पार्ने, कसरी एकले अर्कालाई तेजोबध गर्ने जस्तो गरेको देखिएको छ ।’ उनले चितवनलाई अराजकताको केन्द्र बनाएर पुरै शासन व्यवस्थामाथि धावा बोल्न खोजिएको पनि बताए । ‘प्रतिगामी र प्रतिक्रियावादीहरु आएर पनि चितवनै जिल्ला अराजकताको केन्द्र बनाउन पाईयो भने त काठमाडौंको शासनप्रति अथवा परिवर्तित संघीय लोकतान्त्रिक प्रति देशभरिका जनतामा वितृष्णा फैलाउन पाइएला भनेर अन्त सबैतिर छोडेर चितवनै आएर कति गर्न सकिन्छ, कति खेल्न सकिन्छ , यहिँ नै आएर खेल्न खोजेको पनि देखेका छौं ।’ उनले भने ।

प्रचण्डले प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि उनले टिप्पणी गरे । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै यसो भनेका हुन् । -खबरदवाइ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।