ताजा अपडेट »

रुपन्देहीमा काँग्रेस कार्यकर्ता बीच झडप : ‘कुटपिट हुँदा प्रहरी मुकदर्शक बन्यो’

शनिबार, ०४ मंसिर २०७८, १२ : ३६
4 Shares

बुटवल । काँग्रेस महाधिवेशनको सन्दर्भमा रुपन्देहीको प्रदेश ३(क) को मतगणना स्थलमा आक्रमणमा परेका घाइते नेताका समर्थकहरुले सुरक्षाका लागि खटिएको प्रहरी समेत मुकदर्शक बनेको आरोप लगाएका छन् । गृहमन्त्री बालकृष्ण खाँणका भाई काँग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणको निर्देशनमै आफूहरुमाथि आक्रमण भएको बताउँदै उनीहरुले सो घटनामा प्रहरी पनि मुकदर्शक बनेको बताए ।

शनिबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको बेडमै पत्रकार सम्मेलन गरी उनीहरुले आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा मण्डले शैलीमा आक्रमण भएको भन्दै घटनाको निन्दा गरेका छन् । रुपन्देही–३ (क)का उम्मेदवार पुरण श्रेष्ठले तरुण दलका रुपन्देही अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आएको टोलिले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण भएको बताएका छन् । सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीको कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै श्रेष्ठले मतगणना स्थलको सुरक्षा दिन नसक्ने गृह प्रशासनको समेत भत्र्सना गरे ।

सिद्धार्थनगरको भैरहवा स्थित प्रदेश (क)को मतगणना स्थलमा राती काँग्रेसका देउवा पक्षधर युवाहरु पुगेर जेनरेटर बन्द गर्नुका साथै प्रदेश सचिव पदका उम्मेदवार शैलेस पन्त सहित ५ जना कार्यकर्ताहरु माथि आक्रमण गरेका थिए । घाइते ४ जनाको भिम अस्पतालमा र गम्भीर घाइते भएका पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । रुपन्देहीमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले आफ्नो पक्षका नेताहरुले आन्तरिक निर्वाचनमा जित्ने निश्चित भएपछि गृहमन्त्री खाँणको आडमा आक्रमण भएको आरोप लगाएका छन् ।

उता काँग्रेस रुपन्देहीका सचिव एवम गृहमन्त्रीको भाई रामकृष्ण खाँणले घटना नियोजित नभएको बताए । घाइते पन्तलाई भेट्न अस्पताल पुगेका खाँणले मतगणना स्थलमा नभई बाहिर झडप भएका कारण नियोजित नभएको बताए । उनले गृहमन्त्रीको नाम जोड्न आवश्यक नरहेको बताउँदै घटनाका बारेमा बसेर निकास दिन सकिने बताएका छन् । दोषिहरुमाथि कारबाहीका बारेको प्रश्नमा उनले पीडितहरुले उजुरी गरेको खण्डमा सोही अनुसार अघि बढ्ने प्रतिक्रिया दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।