ताजा अपडेट »

एमाले पालिका अधिवेशन : असफल बन्दै रुपन्देहीका ४ पालिकामा सहमति प्रयास

बुधबार, १० कार्तिक २०७८, १० : ३१
22 Shares

बुटवल । रूपन्देहीका १६ मध्ये ४ पालिकामा नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल हुने अवस्थामा पुगेको छ । पार्टी एकताको सन्देश दिन सबै पालिकाहरुमा सर्वसहमतिले नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको अपेक्षा पूरा नहुने देखिएको छ ।

जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा सहमतिको प्रयास असफल हुने अवस्थामा पुगेको छ । बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्ष पदका लागि सर्वसहमतिमा चयन भए पनि सचिव तथा उपसचिवका २ वटा पदका लागि चुनाव हुने देखिएको छ ।


बुटवल उपमहानगरको अध्यक्ष र उपाध्यक्ष पदसहित १२ पालिकाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । अध्यक्षका लागि छ जनाले आकांक्षा देखाएको बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भए । शोभाखर पोखरेल उपाध्यक्ष भए भने सचिव र उपसचिव भने कसलाई बनाउने विषयमा छलफल भइरहेको छ ।

सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । त्यस्तै शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको एमालेले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको छ भने गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा नेतृत्व चयन भएको हो ।


कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा नेतृत्व चयन भएको एमालेले जनाएको छ । त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बाँकी रहेका पालिकाहरुमा समेत सर्वसहमतिमै नेतृत्व चयनका लागि नेताहरु विहानैदेखि छलफलमा बसे पनि सम्भावना क्षिण बन्दै गएको छलफलमा सहभागि एक नेताले ग्लोबल आवाजलाई जानकारी दिए । सिद्धार्थनगर नगरपालिकामा विहान ११ बजेदेखि निर्वाचनको प्रक्रिया अघि बढ्ने बताइएको छ भने देवदहमा दिउसो २ बजेपछि प्रक्रिया अघि बढ्ने छ । विहान ८ बजेदेखि नै प्रक्रिया अघि बढ्ने बताइएको बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा अहिलेसम्म पनि सहमति जुट्न सकेको छैन ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।