ताजा अपडेट »

निजी, सहकारी र सार्वजनिक क्षेत्रसँग साझेदारीः मन्त्री गिरी

सोमबार, ०६ असोज २०७६, १४ : ५९
4 Shares

असोज ६,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर ५ का वन वातावरण, पर्यटन तथा उद्योग मन्त्री लिला गिरीले सरकार निजी, सहकारी र सार्वजनिक क्षेत्रसँग साझेदारी गरी विकासको बाटोमा अगाडी बढ्ने बताएका छन् । प्रदेशको सम्वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताउँदै मन्त्री गिरीले यस क्षेत्रका निजी क्षेत्रहरुले सरकारलाई पूर्ण समर्थन र सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । बुटवल उद्योग वाणीज्य संघको सोमबार बुटवलमा आयोजना भएको ६६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गिरीले उद्योग विकास र आर्थिक सम्वृद्धिका लागि रुपन्देहीको मोतिपुर र बाँकेमा औद्योगिक क्षेत्र निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । राज्य पुनः संरचनापछि बनेको नयाँ व्यवस्थाहरुलाई संस्थागत गर्नेकाम चलिरहेको बताउँदै उनले अबको ३ वर्षमा देखिने गरी विकास निर्माण र आर्थिक सम्वृद्धि आउने बताए ।

नेपाल उद्योग वाणिज्य महा संघका पूर्व अध्यक्ष चन्डीराज ढकालले मुलुकको आर्थिक विकासका लागि वस्तुको उत्पादन तथा बजार विविधि करण हुनुपर्नेमा राजनीतिकरणले प्रभाव पारेको गुनासो व्यक्त गरे । राजनीति कमाउने व्यवसायको रुपमा विकास हुँदै गएको आरोप लगाउँदै औद्योगिक विकास र प्रवर्धनमा जोड दिन सरकारलाई आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निर्माणाधिन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा विकासको लहर सुरु हुने दाबी गरे । पर्यटन प्रवर्धनबाट राम्रो फाइदा लिन सकिने कुरा उल्लखे गर्दै उनले उनीहरुको खर्च गर्ने औसत दरमा भने वृद्धि गर्नुपर्ने सुझाब दिए । ‘पर्यटकले प्रतिदिन खर्च गर्नेको दर घटेको छ, यो चिन्ता विषय हो ।’उनले अघि भने पर्यटकको संख्या मात्र बढाएर हुँदैन उनीहरुले खर्चगर्ने वातावरण पनि बनाउनु पर्छ । संख्यामा मात्र ध्यान नदिएर गुणस्तरीयतामा जोड दिन आग्रह गर्दै उनले त्यसका लागि संरचनाहरुलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

व्यापार घाटा दिनप्रतिदिन घटेको बताउँदै उनले भने-‘हामिले विश्व व्यापार संगठनमा सम्झौता गरेपनि त्यसबाट फाइदा लिन सकेनौं ।’ निर्यात बढाउन नसके मुलुकको आर्थिक अवस्था डरलाग्दो अवस्थामा जानेतर्फ सचेत गराउँदै उनले भने व्यापार घाटा रोक्नका लागि व्यवसायीहरुलाई लगानी मैत्री वातावरण आवश्यक रेहेका उल्लेख गरे । बैंकलाई तिर्नु पर्ने उच्च व्याज दर, उद्योग व्यवसायका लागि जग्गा प्राप्तिको समस्या तथा नयाँ कानून्मा लगानीकर्तालाई तर्साउने खालको व्यवस्था भएको उनको आरोप छ । चाड पर्व तथा अन्य समयमा हुने बजार अनुगमन निश्पक्ष नभएको संकेत गर्दै उनले राजनीतिक करणका लागि हुने बजार अनुगमनमा एक भएर लाग्न सबै उद्योगि व्यवसायीहरुलाई आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम हमालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव दिनेश प्रसाद श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट अध्यक्ष चन्द्रप्रकाश ढकाल, महासंघ प्रदेश ५ अध्यक्ष गुणनीधि तिवारी, महासंघ प्रदेश ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाली कांग्रेसका सचेतक तथा प्रदेश सांसद निर्मला क्षेत्री, कृष्ण न्यौपाने, नेपाल पत्रकार महासंघ रुपन्देही शाखा अध्यक्ष यानेन्द्र जीसी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नेपाली कांग्रेस रुपन्देहीका उप सभापति फणेन्द्र शर्मा, तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।