ताजा अपडेट »

आर्यन खानको जमानत फेरी अस्वीकार, उच्च अदालतमा निवेदन

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ००
6 Shares

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत फेरी अस्वीकार भएको छ । मुम्बईस्थित सेशन कोर्टले आर्यनको जमानत बुधबार अस्वीकार गरेको हो ।

हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि सेशन कोर्टमा सुनुवाई विहिबार सकिएको छ भने सेशन कोर्टले फैसला सुरक्षित राख्दै बुधबार फैसला सुनाएको हो । सेशन कोर्टले जमानत नदिएपछि आर्यनका वकिलले जमानतका लागि बम्बई उच्च अदालतमा निवेदन दिएका छन् । योसहित आर्यनको जमानत याचिका दोस्रो पटक अस्वीकार भएको छ ।  

गत अक्टोबरदेखि हिरासतमा रहेका आर्यनको केस यसअघि वरिष्ठ वकिल सतिश मानशिंदेले हेरेका थिए भने उनले जमानत दिलाउन नसकेपछि शाहरुखले नयाँ क्रिमिनल वकिल अमित देसाईलाई नियुक्त गरेका थिए । सेशन कोर्टममा आर्यनको तर्फबाट वकिल देसाईले बहस गरेका थिए ।

वकिल देसाईले यस अघि सलमान खानको हिट एण्ड रन केस लडेका थिए ।  यसअघि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार शाहरुख खानका ड्राइभरसँग समेत बयान लिएको छ । ड्राइभर राजेश मिश्रासंगको बयान पछि उनलाई आइतबार नै छाडिएको छ । ड्राइभर मिश्रले आर्यनलाई क्रुजसम्म ल्याएको भएर उनको बयान लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

अदालतले आर्यनसहित पक्राउ गरेका सबैलाई १४ दिनको न्यायिक हिरासतमा पठाए पछि उनीहरु अहिले जेलमा रहेका छन् ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् । शनिबारदेखि शुरु भएको पार्टी चार दिनका लागि आयोजना गरिएकोमा पहिलो दिननै प्रहरीले हस्तक्षेप गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए ।एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यसअघि आर्यनले प्रहरीसँगको बयानमा आफु यस पार्टीमा आउन कुनै पैसा नतिरेको र आफुलाई अतिथिको रुपमा निमन्त्रणा आएको एनसीबीलाई बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।