ताजा अपडेट »

लाफा समूह बी लेभल भलिबल : मदन भण्डारीलाई उपाधि

मंगलबार, १९ असोज २०७८, २२ : ३५
8 Shares

बुटवल । लाफा समूह बुटवलको आयोजनामा भएको बी लेभल भलिबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले चुमेको छ । उपाधिका लागि मँगलबार भएको खेलमा मदनभण्डारीले आयोजक लाफा समूहलाई ३–शुन्यको सोझो सेटले पछि पार्दै उपाधि चुम्न सफल भएको हो ।

शिवनगर सामुदायिक बनको खेल मैदानमा भएको उपाधि भिडन्तमा मदन भण्डारीले २५-१६, २७-२५ र १५-१३ को अंक तालिकामा आयोजकलाई स्तब्ध पार्न सफल भएको हो । जीतसँगै विजेता समूहले नगद राशी ४० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको आयोजक समूहले २० हजार नगद राशीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको कार्यक्रम सयोजक केशव रानाले बताए ।

प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्सले तेस्रो स्थान हासिल गरेको छ । न्यू होराइजनले नमस्ते भलिबल समूहलाई पछि पार्दै तृतीय हुन सफल भई नगद १० हजार पुरस्कार राशी प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा होराइजनले २५-२३ र २५-२१ को सोझो सेटमा जीत दर्ता गर्न सफल भएको हो । शान्त्वनामा चित्त बुझाउनु परेको नमस्ते भलिबलले ५ हजार नगद राशी प्राप्त गरेको छ ।

खेलमा बेस्ट डिफेन्स लाफा समुहका सागर लामिछाने, बेस्ट सेटर मदन भण्डारी स्पोर्ट्स एकेडेमीका बिनोद बिक, बेस्ट सर्भर लाफाका यम आले, बेस्ट स्पाइकर मदन भण्डारीका गौरव खत्री, राइजिङ प्लेयर्स दिप बोर्डिङका सन्दिप नेपाली र बेस्ट पेलेयर्स मदन भण्डारीका बबिन थापाले पाएका छ्न् ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने मूल नाराका साथ भएको प्रतियोगिताको विजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, वडा ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे , मिलिजुली टोल विकास समितिका अध्यक्ष निर्मला महत, लाफा समूहका अध्यक्ष तारा सिं रेश्मी, उपाध्यक्ष उपाध्यक्ष बबिन थापा, खेल संयोजक केशव राना तथा समूहका संरक्षक बासुदेव लामिछानेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालन सचीव यसपाल चौतारेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।