ताजा अपडेट »

प्राधिकरणको नयाँ योजना उज्यालो र सफा सहर

सोमबार, ०७ भदौ २०७८, ०९ : ४०
4 Shares

काठमाडौँ। सहरहरूको सुन्दरता बढाउने र विद्युत् खपत बढाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउने भएको छ । विभिन्न नगरपालिकासँग समन्वय गरेर मुख्य सडक, सम्पदा क्षेत्र, तथा पर्यटकीय स्थलमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने, तार भूमिगत बनाउन अभियान सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ ।

सहरको सौन्दर्य पनि बढ्ने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने भएकाले स्मार्ट लाइटको योजना ल्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकका प्रयोगविहीन विद्युतीय पोल र तार हटाउने, विद्युत् वितरण लाइनलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउने घिसिङले जानकारी दिए। अभियान पहिलो चरणमा काठमाडौँ उपत्यका, भरतपुर र पोखरा महानगरपालिकामा सञ्चालन गर्ने र त्यसपछि क्रमिक रूपमा विस्तार गर्दै देशव्यापी बनाउने भनाइ घिसिङको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सार्वजनिक गरेको कार्ययोजनामा समेटिएको वितरण लाइन तथा सबस्टेसनको क्षमता वृद्धि, सहरी क्षेत्रको वितरण प्रणालीलाई भूमिगत गर्ने घोषणा कार्यान्वयन गर्नेगरी प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउन लागेको प्राधिकरणले जनाएको छ ।

विद्युतीय तारलाई भूमिगत गर्ने काम डेढ वर्ष पहिलेदेखि काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा जारी छ । सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकका तार र विद्युत्का तार हटाएर प्राधिकरणकै भूमिगत प्रणालीमा जोडिने घिसिङले जानकारी दिए।

दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँ, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने गृहकार्य गरिरहेको छ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

सडक तथा सम्पदा क्षेत्र उज्यालो तथा सुन्दर बनाउन ललितपुर महानगरपालिकाको सक्रियतामा स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेल्धुराको अमरगढी नगरपालिकाका मुख्य सडकमा पनि यस्तै सडक बत्ती जडान भइसकेको छ । भरतपुर महानगरपालिका, झापाको कनकाई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौँको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलङ्की सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्ती हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए। देशभरबाट थप माग आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।