ताजा अपडेट »

माधव नेपालले भने-‘अब अपमान सहेर बस्न सकिँदैन’

विहीबार, ०७ साउन २०७८, १२ : ०८
6 Shares

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर बस्न नसकिने बताएका छन् ।बिहीबार चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ४३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै नेता नेपालले भने, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न । तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताएका छन् । 

त्यस्तै, नेता नेपालले कम्युनिष्ट पार्टी बिग्रिन नदिन नेता अहंकारी र स्वेच्छाचारी भए कि भनेर जाँच्नुपर्ने पनि बताएका छन् । केही दिनअघि आफूस्विरुद्ध युवा संघले निकोलेको जुलुसप्रति इंगित गर्दै उनले भने, ‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा ऊफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ। यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन।’ कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने उनको टिप्पणी छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले कार्यक्रममा पुष्पलाल श्रेष्ठको जीवनी‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।