ताजा अपडेट »

मायादेवीको बजेट ६३ करोड ८७ लाख, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

बुधबार, ०९ असार २०७८, १७ : ५६
6 Shares

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि वार्षिक नीति तथा कार्यक्रम एवम बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरी बुधबार बजेट सार्वजनिक गर्दै मायादेवीको प्राथमिकतामा स्वास्थ्य, शिक्षा एवम कृषि तथा पूर्वाधार रहेको जानकारी दिए ।

मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैया बजेट सार्वजनिक गरेको छ । यस मध्ये संघिय सरकारबाट ४५ करोड १ लाख १५ हजार, प्रदेश सरकारबाट २ करोड ९५ लाख ४४ हजार प्राप्त हुने प्रक्षेपण गरेको छ । यस्तै गाउँपालिकाकै बैंक मौज्दात ९ करोड ४८ लाख रहेको छ र आन्तरिक आय ६ करोड ५० लाख रुपैया हुने गाउँपालिकाको अनुमान रहेको छ ।

खर्च तर्फ भने पूंजिगत खर्च ३८ करोड ३२ लाख ४६ हजार ४ सय रुपैया र चालुतर्फ २५ करोड ५४ लाख ९७ हजार ६ सय रुपैया खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले अहिले वडामा १ करोड ५० लाखको बजेट सिलिङ तोकेको जनाएको छ । बजेट पेश गर्दै गाउँपालिका अध्यक्ष चौधरीले कोरोना रोकथाम र नियन्त्रणका लागी अपनाईने स्वस्थ्य सुरक्षा तथा औषधी उपचारको लागी बजेट ब्यवस्थापन गर्दै महामारी बिरुद्ध केन्द्रित रहि बजेट ब्यवस्थापन गरिएको जानकारी दिए ।

गाउँपालिकाले सेवा प्रवाहको कार्यचाप मध्यनजर गर्दै अतिरिक्त समयमा सेवा दिने राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च पार्न प्रोत्साहन स्वरुप कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई सुरु तलब स्केलको २५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ । यस्तै करारका कर्मचारीलाई २० प्रतिशत प्रोत्साहन र स्वस्थ्यकर्मिहरुको लागी उचित जोखिम भत्ताको लागी समेत बजेट विनियोजन भएको चौधरीले जानकारी दिए ।

स्वास्थ्यतर्फ कडा नीति बनाएको छ । वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष चौधरीले निजि स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गर्ने बताउदै अवैध रुपमा संचालित स्वास्थ्य संस्थाहरु बन्द गराउने जनाएका छन् । कृषि,पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई मायादेवी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध मायादेवीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपुर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।

कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माणदेखि अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने नीति ल्याईएको छ ।

दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा