June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पुस्तक समीक्षा

औषधीका खोलभित्र लुकेको झुट

रानबाक्सी लगायतका भारतीय औषधी निर्माता कम्पनिहरुको अँध्यारो पक्ष

636

सुन्दै अचम्म लाग्छ-के औषधीका खोल वा बोटलभित्र पनि झुट लुकेको हुन्छ होला र ? बिरामी हुँदा वा रोगको उपचारमा औषधीको प्रयोग हामी सबैले निःसन्देह गर्छौं । डाक्टर, स्वास्थ्यकर्मीले सिफारिस गरेका औषधी प्रयोग गर्न हामीलाई पूर्ण विश्वास लाग्छ । जीवनदायिनी औषधीको बजार निकै ठूलो र विस्तारित छ । उपभोक्ताहरु नाम चलेका ठूला औषधी निर्माता वा भनौं फार्मा उद्योगबाट कसरी ठगिन विवश छन् भन्ने सनसनिपूर्ण खोजमुलक अनुसन्धानमा आधारित भएर एउटा निकै चर्चित बेस्ट सेलर किताब छापियो अमेरिकामा सन् २०१९ मा । किताब हो ‘बोटल अव् लाईज्’ रानबाक्सी र भारतीय फर्मा उद्योगको अँध्यारो पक्ष । लेखक हुन् क्याथरिन ईबान । पेशाले पत्रकार हुन् उनी । खोज पत्रकारिताको उत्कृष्ट नमूना बनेर देखा परेकी छन् लेखक यो पुस्तक मार्फत् ।

ब्राण्डेड औषधी उत्पादन गर्ने कम्पनिहरुले बिक्री बढाउन औषधी सेवनको लत लाग्नेजस्ता जोखिम बारेका सूचना लुकाएर कुन हद सम्मको खेलवाड गर्दा रहेछन् उपभोक्ताको स्वस्थ्यप्रती भन्नेबारेमा खोजमूलक रिपोर्टिङ्ग गर्थिन क्याथरिनले सन् २००८ ताका । बन्दुकको अवैध बेचबिखन/अमेरिकी सरकारले सेप्टेम्बर-११ पछिको युद्ध आतंकको बेला संदिग्ध अपराधिहरुलाई केरकार गर्ने क्रममा दिने गरेको चरम यातना बारे ठूला–ठूला सनसनिपूर्ण तथ्य बाहिर ल्याउने साहसी र निडर पत्रकार हुन् उनी ।

अमेरिकाले सप्लाई गर्ने अधिकांश औषधी ‘जेनेरिक औषधी’ रहेछन् । भारतले एड्ससँग सम्बन्धित औषधिहरु निकै सस्तो लागतमा उत्पादन गरेर अमेरिकालाई बेच्थ्यो, अमेरिकाले त्यसरी खरिद गरिएका औषधीहरु एड्स रोगबाट प्रभावित अफ्रिकी देशमा वितरण गर्थ्यो ।

के हुन् जेनेरिक औषधी ?
जेनेरिकको अर्थ हो-सामान्य वा साधारण । ब्राण्ड नाममा उत्पादन हुने तर कानूनी अधिकार हिसाबले ‘पेटेण्ट अधिकार’ सकिइसकेका औषधीहरु हुन् जेनेरिक औषधी । यस्ता औषधिहरु डिप्रेसनदेखि मुटु रोगसँग सम्बन्धित हुन्छन् । जेनेरिक औषधीको कथा यथार्थमा विश्वव्यापी रहेछ । मध्य अमेरिकादेखि चीन, भारत, सब-साहारान अफ्रिका र ब्राजिल सम्मका घटना समेटिएको छ यो किताबमा ।

रानबाक्सी लगायतका भारतीय औषधी निर्माता कम्पनीहरुको अँध्यारो पक्ष

रानबाक्सी कम्पनी सन् २००४ को बेलाको सबैभन्दा ठूलो र नाम चलेको औषधी निर्माता कम्पनी हो । सोही कम्पनीमा काम गर्ने दिनेश ठाकुर नाम गरेका उच्च तहका कर्मचारीले एकदिन डरलाग्दो गोप्य सूचना थाहा पाउँछन् । रानबाक्सीले उत्पादन गरेका औषधिहरुको गुणस्तर परीक्षण नतिजा ढाकछोप गरेर करोडौंको संख्यामा रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पार्ने गरेको तथ्य बुझेपछि ठाकुरले कम्पनीको आकर्षक जागिर छोड्ने निधो गर्छन् । र संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशाासन (एफ डि ए)को मुखबिर बन्छन् । मुखबर शब्दको अर्थ हो–अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्तरुपमा खबर दिने व्यक्ति, जासुस, सरकारी साक्षी (बृहत् नेपाली शब्दकोशका )। अंगे्रजी शब्द हो ह्वीसल ब्लोअर् ।

किताब पढ्दै जाँदा स्तब्ध पार्ने र आँखा खोल्ने खालका विवरणले विश्वविख्यात उच्च ब्राण्ड नामधारी औषधी निर्माता कम्पनीलाई परेशान/हैरान गराउने प्रश्न उजागर भएको भेटिन्छन् तथ्यगत रुपमा । भारतीय फर्मा उद्योगको नाङ्गो र कुरुप सत्य उजागर गरेकि छन् साहसी पत्रकार क्याथरिनले किताबमा । घटना, विषय र प्रसंगलाई कथानक शैलिमा लेखिएको छ । किताब पढ्दै जाँदा थप के खुलासा हुन्छ भन्ने अगाडि अब भन्ने कौतुहलताले रोमाञ्चक अनुभूती हुन्छ । किताब पढिसक्दा यस्तो लाग्छ-अब हामिले सेवन गर्ने प्रत्येक औषधीका चक्की र शिशीमाथी आशंका गर्नुपर्ने, सन्देह गर्नुपर्ने अवस्थामा पुगिन्छ ।

खासमा किताब भारतमा उत्पादन हुने जेनेरिक औषधीहरुसँग सम्बन्धित घोटालामा केद्रित छ । वास्तवमा यस्ता औषधिको शिकार हाम्रो जस्तै चेतनास्तर भएका विकासोन्मुख र गरिब देशहरुसँगसँगै निम्न वर्गीय भारतीयहरु हुनेरहेछन् भन्ने तथ्य उद्घाटन गरेकी छन् लेखकले । २१ औं शताब्दिकै सबैभन्दा महत्वपूर्ण जनस्वास्थ्यको क्षेत्रमा भएको विकासको रुपमा लिईंन्छ जेनेरिक (सामान्य/साधारण) औषधीको व्यापक प्रयोगलाई विश्वभरी । त्यसैले यस्ता औषधी उत्पादन गर्ने कार्य आपैmमा स्वागतयोग्य र प्रशंसनीय मानिन्छ ।

आजभोली नब्बे प्रतिशतभन्दा बढी फर्मास्यूटिकल बजार हिस्सा यिनै जेनेरिक औषधीले ओगटेका रहेछन् । जेनेरिक औषधीहरु तिनीहरुका ब्राण्ड नाम वाला समकक्षी औषधी जस्तै ठयाक्कै उस्तै हुन् भनेर डाक्टर, फार्मासिस्टहरु र नियामक निकायहरु सबै आस्वस्त हुन्छन् र हामी उपभोक्ताहरु पनि विश्वस्त हुन्छौं । हो यहीं विश्वासभित्र अडिएको/लुकेको झुटको उजागर गरेको छ ‘बोटल अव् लाइज’ किताबले । लेखक क्याथरिन इबानले जेनेरिक औषधी निर्माताहरुको छलकपट, धोका र त्यसका कारण उत्पन्न विश्वव्यापि स्वास्थ्य जोखिम उजागर गरिएको छ किताबमा ।

मुखबिर र नियामक निकायबाट प्राप्त विशेष जासुसी विवरण, हजारौं पृष्ठका गोप्य विवरणहरुका आधारमा लेखक इबानले समग्र औषधी उद्योगका ठगी धन्दा, तिनिहरुले नियामक निकायमा बुझाउने गरेको झुठो तथ्याङ्क, सुरक्षित उत्पादनका लागि अपनाइने सिद्धान्त, लागत कम गरी नाफा बढाउन निरीक्षकहरुलाई कसरी बेवकुफ बनाइन्छ भन्ने तथ्यमा आधारित विवरण समावेश गरेकी छन् किताबमा । किताब मार्फत् उजागर गरिएको सत्य/तथ्य विश्वव्यापिकरणको आखिरी/अन्तिम सच्चाईको परीक्षण हो भन्न सकिन्छ ।

४०० पृष्ठको हार्डकभर संस्करणको यो किताब सन् २०१९ मा छापिएको हो । भारतमा भने सन् २०२० मा छापिएको थियो । किताबको पछिल्लो भागमा समावेश शब्दावलीले औषधी, उपचार, केमिकलसँग सम्बन्धित प्राविधिक शब्दको अर्थ बुझ्न मेडिकल क्षेत्रभन्दा बाहिरका सबैलाई सहज हुन्छ । किताबका ४१ पानामा नोट (छोटो पत्र) समावेश छ । यसबाट जिज्ञासु पाठकका लागि थप सन्दर्भ मिल्छ । सार्बजनिक स्रोत र कागजातहरुको विवरणले किताबको ओज बढाएको छ ।

विश्वका केहि ख्यातनाम पत्रकारहरुको समेत योगदान रहेछ किताबमा । सुन्दर लेखन, विज्ञान पत्रकारको सहयोग र उत्कृष्ट रिपोर्टिङ्ग सीप भएका पत्रकारहरुले सम्बद्ध अनुसन्धान सहायकको भूमिका निर्वाह गरेर किताबलाई परिस्कृत बनाएका छन् । विश्वका ४० बढी देशको भ्रमण गरेर खोजतलास गरिएका तथ्य समावेश छन् । यो किताब लेखनको प्रस्थान बिन्दु हो इबानले सन् २०१३ मा फर्च्युन म्यागेजिनमा प्रकाशन गरेको जेनेटिक औषधी सम्बन्धी उनको आफ्नै लेख ।

पुनश्चः अहिलेसम्म मैले पढ्न नभ्याएको बिल्कुल फरक धारको यो किताब पढेर छोटो समीक्षा लेख्न अनुरोध गर्दै किताब प्रदान गर्ने सहृदयी डाक्टर मनोज ढुंगाना प्रति हार्दिक आभार र साधुवाद छ । बिरामीलाई औषधी लेख्ने, खान वा प्रयोग गर्न सिफारिश गर्ने डाक्टर र फर्मासिष्टहरु, औषधी उत्पादक कम्पनी लगायत सरोकारवालाहरुले एकपटक पढ्नै पर्ने किताब हो ‘बोटल अव लाइज्’ । नैतिक आचारसंहिता भित्र रहेर मेडिकल अभ्यास गर्नेहरुको आँखा खोल्ने किताब हो यो ।

औषधी उत्पादकहरु बिचको अस्वस्थ प्रतिस्पर्धा, तीनका बजार प्रतिनिधी र बजारिकरणका दौरान दावा गरिने गुणस्तर, सुरक्षा र पाश्र्व असर (साइड इफेक्ट) बारे पर्याप्त जानकारी नलिई क्षणिक लाभका लागि औषधी खान सिफारिश गर्न नहुने रहेछ भन्ने महत्वपूर्ण ज्ञान मिल्छ किताब पढेर खास गरेर मेडिकल अभ्यास गर्नेहरुका लागि । त्यस्तै आम पाठकका लागि औषधिका खोल/बोत्तलभित्र लुकेको झुठबारेमा जानकारी हुन्छ, सचेतना मिल्छ । त्यस्तै राजनीति बाहेक अन्य समाचारका स्रोत नदेख्ने नेपाली पत्रकारिता जगतको आँखा खोल्छ यस किताबले । क्षणिक स्वार्थ र लाभको पछाडी नलागी बिसुद्ध खोज पत्रकारिता गर्नेहरुलाई राम्रो सन्दर्भ स्रोत र हौसला मिल्छ यस किताबबाट ।

हुन त औषधी विज्ञानबारेमा बेलाबेलामा विभिन्न घोटालाहरु सार्बजनिक भैरहेका हुन्छन् । षडयन्त्र सिद्धान्तमा विश्वास गर्ने ठूलो संख्या पनि छ विश्वभरी नै आजकाल । तर, सङ्कट, जोखिम र आपतको बेला कुनैपनि औषधी हामी निःसन्देह प्रयोग गर्न विवश हुन्छौं । जस्तो अहिले कोभिड उपचारको दौरानमा ट्रायलको रुपमा विभिन्न खाले औषधी प्रयोग भैरहेका कुरा समाचारमा आईरहेका छन् । विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुले सजग गराइरहेका पनि छन् ।

पछिल्लो अपडेट