ताजा अपडेट »

पाँच वर्षमा गरीबी शून्यमा झार्ने सरकारको योजना

शुक्रबार, ३१ जेठ २०७६, १७ : ००
4 Shares

जेठ ३१, चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो । नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, “कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।”

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।