ताजा अपडेट »

१८ खर्ब ४४ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

आइतबार, २७ फागुन २०८०, १५ : ५७
90 Shares

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो ।

चालू आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगी ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।

माघ महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२।६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४ प्रतिशतले घटेको छ । २०८० माघ महिनामा व्यापारको शर्त ९।९ प्रतिशतले बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।